बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

शाकाहारी कण्डम कसरी शारीरिक सम्बन्धका लागि फाइदाजनक छ ?

मङ्गलबार, ०८ पुस २०७६, ११ : २५
मङ्गलबार, ०८ पुस २०७६

केट ब्रेडी/ बीबीसी वर्कलाइफ

सन् २०१५ मा फिलिप सिफर र वाल्डेमर जाइलर आफ्नो नयाँ व्यवसायका लागि क्राउड फन्डिङ गरिरहेका थिए ।

सिफर भन्छन्, ‘पैसा दान गर्नेहरुले हामीलाई एउटै प्रश्न सोध्थे, ‘के कण्डम शाकाहारी हो ?’’

सिफर र जाइलरलाई त्यतिबेलासम्म पनि थाहा थिएन कि कण्डमको रबरलाई नरम बनाउनका लागि साधारणतया जनावरको प्रोटिनको प्रयोग हुन्छ ।

बर्लिनका यी दुई उद्यमी वातारवरणप्रति जागरुक ग्राहकमार्फत् ८ अर्ब डलरको अन्तर्राष्ट्रिय कण्डम बजारमा आफ्ना लागि स्थान बनाउने कोसिस गरिरहेका थिए ।

उनीहरु अचम्ममा थिए, यस्ता मानिसहरुको संख्या अत्यन्तै ठूलो पो रहेछ । चार वर्षपछि टिकाउ र शाकाहारी उत्पादनको उनको ब्रान्डको वार्षिक व्यापार ६० लाख युरोसम्म पुगेको छ ।

उनीहरुको कम्पनीको नाम हो आइन्हर्न जसको जर्मनमा अर्थ हुन्छ युनिहर्न ।

यो शब्दको प्रयोग एक अर्ब डलरको व्यापार गर्ने स्टार्ट–अप कम्पनी (जस्तै Airbnb र Deliveroo ) का लागि गरिन्छ ।

सिफर र जाइलरको कम्पनीले अहिले नै त्यो लक्ष्य हाँसिल त गर्न सकेको छैन तर उनीहरु स्थायित्वलाई केन्द्रमा राखेर व्यवसाय खडा गर्न सफल भइरहेका छन् । यसमार्फत् व्यावसायिक समूहका लागि सम्भावनाको नयाँ ढोका खोलिएका छन् ।

कुनै पशु उत्पादन छैनः

जर्मनीमा गर्भनिरोधका लागि खाने चक्कीपछि कण्डम दोस्रो सबैभन्दा लोकप्रिय उपाय हो । तर आफ्नी प्रेमिकासँग किनमेल गर्नेबेला सिफरलाई त्यसको ब्रान्डिङ पुरानो लागिरहेको थियो ।

उनले सोचिरहेका थिए कि आजका उपभोक्ता सायद नयाँ वातावरण–अनुकूल वैकल्पिक उत्पादनलाई रुचाउँछन् ।

जाइलरले सुरुमा आफ्नो यो विचार खारेज गरिदिए त्यसपछि उनी आफैं सहमत भए । उनलाई यो उत्पादन ई–कमर्सका लागि आदर्श लाग्यो ।

उनी यस्तो व्यवसाय खडा गर्न चाहन्थे जुन धर्तीका लागि मात्रै नभई कम्पनीका श्रमिकका लागि पनि सही र दिगो होस् ।

 उनीहरु दुई वर्षदेखि स्टार्ट अप बिजनेसमा थिए र आफ्नो सपना साकार गर्ने बाटो खोजिरहेका थिए ।

सिफर भन्छन्, ‘यदि मलाई बाल्यकालमा कसैले ठूलो भएर के बन्न चाहन्छौ भनेर सोध्दा म करोडपति बन्न चाहन्छु भन्थेँ ।’

१० वर्षसम्म व्यापार गरेपछि उनी आफ्ना सहयोगी र साथीहरु करोडपति बनिरहेको देखिरहेका थिए तर उनी खुसी थिएनन् ।

व्यापार सुरु गर्नका लागि उनीहरुले क्राउड फन्डिङको सहारा लिए जसमार्फत् उनीहरुले एक लाख यूरो जुटाए (रु १ करोड बढी) ।

यो त्यहि नै समय थियो जब शाकाहारवाद आइन्हर्नको प्रोडक्ट प्लानिङको हिस्सा बन्यो ।

सिफर यस्तो उत्पादन बनाउन चाहन्थे जसलाई सजिलै बेच्न सकियोस्, अनलाइन पठाउन सकियोस् र फिर्ता हुने हो कि भनेर चिन्तित  हुन नपरोस् किनभने अनलाईन बिक्रिमा सबैभन्दा धेरै लागत यसैको हुन्छ ।

‘कण्डम हाम्रो लागि सही उत्पादन थियो । सुरुमा हामीले सोचेकै थिएनौं कि यी शाकाहारी हुन्छन् वा हुँदैनन् ।’

भेडाको आन्द्राले कण्डम बनाउने दिन गइसकेको छ तर बजारमा उपलब्ध धेरैजसो विकल्पमा अहिले पनि पशु प्रोटिन केसिन हुन्छ ।

कण्डमको महत्वपूर्ण तत्व रबर नै हो जसलाई मुख्य रुपमा एशियाको ट्रपिकल क्षेत्रमा पाइने रबरको बोटबाट निकालिन्छ ।

केसिन प्रोटिन व्यापक रुपमा स्तनधारीको दुधमा पाइन्छ जसमार्फत् रबरलाई नरम बनाइन्छ ।

 आइन्हर्नले केसिन प्रोटिन प्रयोग गरेको छैन । उनीहरुले प्राकृतिक रुखबाट पाइने चिल्लो पदार्थलाई छाने । रबर वातावरणका लागि पनि अनुकूल होस् भन्ने कुरा पनि उनीहरु ध्यानमा राख्छन् ।

तर आइन्हर्न शाकाहारी कण्डम बनाउने पहिलो कम्पनी होइन । उत्तर अमेरिकी ब्रान्ड ग्लाइडले सन् २०१३ मा नै यो बनाएको थियो ।

त्यतिबेला देखि कण्डम बजारमा थुप्रै विकल्प आइसकेका छन् । सन् २०२६ सम्म यो बजार १५ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

शाकाहारी कण्डमको बजार अहिले नयाँ छ । आइन्हर्नका धेरैजसो ग्राहक २० देखि ४० वर्षका छन् र ६० प्रतिशत किनमेल महिलाले गर्छन् ।

सिफर भन्छन्, ‘अहिले पनि धेरै मानिसहरु कण्डम जस्ता वस्तु खरिद गर्न लज्जा महसुस गर्छन् र किनमेल गर्ने बेला त्यसलाई अन्य कुराको मुनी लुकाउँछन् ।’

‘त्यसकारण हामी ग्राहकसम्म एक टिकाउ उत्पादन लिएर जाने र रमाइला डिजाइनले उनीहरुको आशंका समाप्त गर्न चाहन्थ्यौं ।’

रसायन मुक्त रबरः

पछिल्ला ३० वर्षमा ठूलो मात्रामा रबरका बोट विरुवा रोपिएका छन् जसले जंगल मासिन थालेको छ । यसले वन्य जीवनमा पनि असर परिरहेको छ ।

योसँग प्रतिस्पर्धा गर्नका लागि आइन्हर्नले पारम्परिक वृक्षारोपण नगरिकनै थाइल्याण्डका साना किसानको एक समूहसँग मिलेर काम गर्छ ।

यी किसानले कीटनाशकको प्रयोग गर्दैनन्  र सम्भव भएसम्म किराफट्याङ्ग्रालाई मेसिनबाटै हटाउँछ । यसको उद्देश्य रबरको खेतीलाई पूर्ण रुपमा रसायनमुक्त बनाउनु हो ।

माटोको परीक्षण गरेर कुन चाहिँ स्थानीय प्रजातिले जैविक विविधतालाई सहयोग गरिरहेको छ भनेर पनि निर्धारण गरिँदैछ ।

केही रबर बगानमा काम भइरहेको अवस्थामा गम्भीर समस्या निम्तिने गर्छ त्यसकारण कम्पनीको फेयरस्टेनेबिलिटी समूहका सदस्य एक वर्षमा कम्तीमा तीन महिनासम्म साइटमा गएर उत्पादनको निगरानीमा मद्दत गर्छन् ।

किसानलाई न्यूनतम ज्यालादारीभन्दा १५ प्रतिशत बढी भुक्तानी गरिन्छ र मजदुरलाई उनीहरुको अधिकारबारे जानकारी दिन विभिन्न कार्यक्रमको आयोजना पनि गरिन्छ ।

वातावरण अनुकुल प्याकेजिङ गर्ने काममा पनि प्रगति भइरहेको छ । कम्पनीको मूल प्याकेजिङ शत प्रतिशत पुनः प्रयोग गर्न सकिने कागजबाट भइरहेको छ । अर्को चरणमा कम्पनीले एल्मुनियमरहित र्‍यापर बनाउने योजना बनाइरहेको छ ।

धर्तीका लागि संकल्पः

आइन्हर्नलाई आशा छ कि अन्य व्यवसायले पनि आफ्नो अवधारणा अपनाइनेछ । यसको एउटा तरिब उद्यमी संकल्प हुनसक्छ जसमाथि व्यवसाय सुरु गर्नेबेला हस्ताक्षर गर्नुपर्छ ।

यसको प्रेरणा ‘द गिविंग प्लेज’ बाट लिइएको छ जसलाई सन् २०१० मा बिल गेट्स र वारेन बफेटले सुरु गरेका थिए ।

यो संकल्प अनुसार आइन्हर्न आफ्नो नाफाको आधा हिस्सा वातावरण अनुकूल परियोजनामा लगानी गर्छ ।

सन् २०१८ मा उसले आफ्नो नाफाको १० प्रतिशत हिस्सा सिओटु अफसेट्समा लगानी गर्यो जसले ग्रीन हाउस ग्यासको उत्सर्जन कम गर्ने परियोजनामा लगानी गर्छ ।

अन्य लाभार्थीमा बायोरे फाउन्डेशन समावेश छ जसले दिगो जैविक कपासको खेतीलाई सम्बद्र्धन गर्छ ।

त्यतिबेलादेखि सय अन्य व्यापारीले संकल्पमा हस्ताक्षर गरेका छन् जसले आइन्हर्नको व्यापारमा निश्चित रुपमा बढाएको छ ।

 यसले ठूलो सफलता त्यतिबेला  पायो जब जर्मन टोयलेटरी र घरेलु उत्पादनको दिग्गज कम्पनी डिएमसँग यसको सम्झौता भयो ।

सिफर भन्छन्, ‘जब हामीले डिएमलाई आफ्नो खरिद र खुद्रा मूल्यबारे बतायौं तब उनीहरु आश्वस्त भएनन् ।’

आइन्हर्नका ७ कण्डमको प्याकेटको खुद्रा मूल्य करिब ६ युरो थियो जबकी उद्योगका ठूला कम्पनीका ८ कण्डमको प्याकेट करिब ५ युरोमा बिक्री भइरहेको थियो ।

‘त्यसपछि हामीले नाफाको ५० प्रतिशत पुनः लगानी गर्दैछौं भन्यौं । तपाईं हामीसँग मोलमलाई गरेर जति पैसा लिनुहुन्छ त्यो पैसा राम्रो उद्देश्यका लागि वञ्चित हुनेछ ।’

डिएमले मोलमलाई गर्न बन्द गर्‍यो र आइन्हर्नलाई जर्मनीको खुद्रा बजारमा एउटा स्थान पायो ।

डिएमका मार्केट्रि र खरिद विभागका म्यानेजिङ डायरेक्टर सेबेस्टियन बायरका अनुसार ग्राहक बिस्तारै दिगो विकासप्रति जागरुक भइरहेका छन् त्यसकारण आफूहरु टिकाउ उत्पादनको विकल्प दिन चाहन्छन् ।

जर्मन पर्यावरण एजेन्सीका अनुसार जर्मनीका उपभोक्ताले सन् २०१६ मा हरित उत्पादनमाथि ६० अर्ब डलर खर्च गरे र यो प्रवृत्ति जारी रहने आशा छ ।

लुनेबर्गको ल्यूफाना युनिभर्सिटीकी अनुसन्धाता एना सुन्दरमनका अनुसार दिगो उत्पादनको बजारमा आइन्हर्नको उत्पादनको स्वागत गरिनुपर्छ तर वातावरणमा यसको दीर्घकालीन प्रभाव सिमित छ ।

सुन्दरमन भन्छिन्, ‘यो सानो उत्पादन  ठिक छ तर हामी यातायात र ऊर्जाजस्ता क्षेत्रमा बढी ध्यान दिन आवश्यक छ जसको कार्बन डाइअक्साइडको उत्सर्जनमा सबैभन्दा बढी प्रभाव पर्छ ।’

उनी भन्छिन्, ‘आइन्हर्नजस्ता कम्पनीको नेटवर्क ग्लोबल सप्लाई चेनको समस्यालाई टाढा राख्न सहयोग गर्नसक्छ ।’

नयाँ उत्पादन, नयाँ पहलः

आइन्हर्नले गत वर्ष ४५ लाखभन्दा बढी कण्डम बेच्यो । सन् २०१९ को सुरुवातमा यसले शत प्रतिशत जैविक कपासबाट बनेको महिनावारीका लागि प्रयोग हुने उत्पादनको श्रृङ्खला सार्वजनिक गर्यो ।

सिफर भन्छन्, ‘हामीले आफैंलाई पनि विश्वास दिलाउनु छ कि यो बलियो हुँदै गइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप