बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सन्दीप लामिछाने प्रकरण

सन्दीपको निलम्बन फुकुवा

बुधबार, ०२ जेठ २०८१, १८ : ५९
बुधबार, ०२ जेठ २०८१

 काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला गरेको हो । 

यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो । ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले निर्णयमा भनेको छ ।

अ

क्यानको निर्णयसँगै सन्दीपले टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ । आज निलम्बन फुकुवा गरेपछि क्यानले उनलाई विश्वकप खेल्ने टोलीमा समावेश गराउने प्राविधिक पाटोहरु मिलाएर थप निर्णय गर्नेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् । 

नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखसम्मको समय दिएको थियो । सोही अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले पनि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

अदालतबाट सफाइ पाएसँगै सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना कायम छ । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ । त्यसैले त्यो समयभित्र हरेक राष्ट्रले आफ्नो टोलीमा परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ ।

गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन्। 

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप