बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : गुण्डा नाइकेलाई प्रहरीले गोली हान्यो, प्रदेश ३ को राजधानी हेटौडा

आइतबार, २७ पुस २०७६, १९ : १७
आइतबार, २७ पुस २०७६

प्रदेश ३ को स्थायी राजधानी बागमति 

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडा र नाम बागमती कायम भएको छ ।  आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम र राजधानी कायम गर्ने प्रस्वाव दुई तिहाइ बहुमतले पारित गरेको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडा कायम गरियोस् भनि पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । उक्त प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले  समर्थन गरे । 
सांसदहरु रिता माझि र रिना गुरुङले प्रस्तावको समर्थन गर्नुभएको थियो । प्रदेशको राजधानी हेटौडा राख्ने पक्षमा १०५ मत खसेको थियो । विवेकशील साझा पार्टीका तीन जनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने सभामुखले सानु कुमार श्रेष्ठले मतदान गरेनन् । स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले पनि प्रकृयामा भाग नै लिएनन् ।
प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश ३ को नामाकरण बागमती कायम गरियोस भनी पेश गरेको प्रस्ताव पनि पारित गरेको छ । बानियाँले प्रस्ताव गरेको उक्त नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामेश्वर फुयाल, राप्रपाकी रिता माझी र रिना गुरुङ, विवेकसील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्यले समर्थन गरेका थिए । 

 नाम बागमती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो । विपक्षमा मतदान नै भएन । नामका विषयमा विवेकशील साझा पार्टी सहमत भएपनि राजधानीका विषयमा भने फरक प्रस्ताव दर्ता गरेको थियो । साझाले प्रदेशको राजधानी धुलिखेल प्रस्ताव गरेको थियो उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

बौद्धमा गोली चल्यो
ज्यान मुद्दामा फरार अभियुक्त गुण्डा नाइके बिष्णु लामामाथि प्रहरीले गोली चलाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले लामामाथि बौद्धस्थित जोरपाटीको जम्बुडाँडामा गोली हानेको हो ।

गोली लागेर घाइते सिन्धुपाल्चोक घर भएका लामालाई ट्रमामा उपचारको लागि लगिएको महानगरीय महाशाखाले जनाएको छ। घाइते लामाको दुवै घुँडामुनि २ गोली लागेको बताइएको छ ।

पछिल्लो समय लामा जोरपाटीमा १७ महिनाकी बालिकालाई चिर्पट हानेर हत्या गरी फरार थिए । यस्तै जोरपाटीस्थित नेपाल मेडिकल नजिकै एक जनालाई खुकुरी हानेर घाइते बनाएको आरोप पनि उनीमाथि छ । 

लामाले काठमाडौंको जोरपाटी आसपास आधार क्षेत्र बनाएर विभिन्न व्यक्तिहरुसँग चन्दा संकलन गर्ने र धम्की दिँदै आएको पनि बताइएको छ ।

राष्ट्रियसभा विशेष समय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सत्तारुढ दलभित्र विभिन्न वहानामा एमसीसी सम्झौताबाट पछि हट्ने चलखेल भईरहेको आरोप लगाएका छन् । 

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले सत्ताधारी पार्टीबाट एमसीसी सम्झौताको वास्तविक विषयवस्तुलाई अन्यत्र तोडमोड गर्ने काम भएको भन्दै गम्भीर आपत्ति जनाए । 

सत्तारुढ पार्टी भित्रको बहसले एमसीसी सम्झौताको विषय वस्तुलाई डाइभर्ट, डाईलुट गर्ने ,मिस इन्टरप्रिट गर्ने, राष्ट्रिय हित र असंलग्नता भन्ने परराष्ट्रनीतिको मुख्य अवधारणाबाट अलग जाने प्रयास भइरहेको दाबी उनले गरे ।  

नेपाललाई सही ढंगले विकासको बाटोमा लैजाने हो भने कनेक्टीभिटीको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिदै उहाँले कुनै पनि बहानामा एमसीसीबाट पछि हट्न नहुने तर्क गर्नुभयो । उहाँले सही अर्थमा नेपालको विकास गर्न चाहने हो भने एमसिसि सम्झौताबाट पछि हट्न नहुने तर्क गर्नुभयो ।

राष्ट्रियसभा सदस्य ब्रिशेष चन्द्र लालले सुरक्षा समितिको बैठकमा कुनै दलका प्रतिनिधि लगातार सहभागी भएको विषयमा सदनलाई जानकारी गराउन सरकारसंग माग गरे । 

राष्ट्रियसभा सदस्य रामलखन चमारले नवलपरासीस्थित लुम्बिनी चिनी कारखानालाई निजीकरण गर्ने क्रममा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । 

निर्वाचन आचारसंहिता 

माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबारबाट निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आयोगले जारी गरेको निर्वाचन आचार संहिता, आज २७ गते देखि लागु भएको जनाएको छ । 

साथै निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन आयोग सम्पूर्ण निर्वाचन सरोकारवालाहरूमा निर्देशन दिएको छ ।

पृथ्वी जयन्ती 

नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आइतबार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइएको छ । 

वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए । 

भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ । राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीका अवसरमा आइतबार मुलकुभर विभन्नि कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

राजधानी काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी एकता दिवस एवं पृथ्वी जयन्ती मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले सार्वजनिक विदा दिने गरेपछि केही वर्षयता बिदा कटौती गरेको छ । तर नागरिक स्तरबाट भने हरेक वर्ष पुष २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ । त्यस्तै नेपाली सेनाले पृथ्वीनरायण शाहको सम्झनामा गोरखाबाट सुरु गरेको पदयात्रा पनि सिंहदरबार अगाडि आएर समापन गरेको छ ।

 राप्रपाको माग
यसैगरी, पृथ्वी जयन्तीका अवसरमा राजधानीमा भएको चियापान कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदै शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न माग गरेका छन् । 
थापाले विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोचहरु रहेपनि अहिले सबै राजनीतिक दल र नेताहरु सकारात्मक रुपमा लिएकोमा खुसी लागेको बताए । यस्तै राप्रपा संयुक्तले पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ।  

चीन पारवहन सम्झौता 

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्ने छ । 

पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो ।

 उद्योग मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले दिएको जानकारी अनुसार चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्नसक्ने छ ।
 त्यसैगरी तीन सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्सेपनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ । यहि जनवरी १ बाट पारबहन सम्झौता कार्यान्वयनमा आएको हो ।

चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ । रसुवा र तातोपानी (कोदारी) नाका यसअघि नै सञ्चालनमा आइसकेको छन् भने हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्ने छ ।

त्यसैगरी, भारतसँग भएको पारबाहन सम्बन्धि सन्धि पनि तत्कालका लागि नवीकरण भएको छ । सचिव अर्यालले सन्धिमा आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पुरा गरेको बताउनुभयो । नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर आयात निर्यात गर्न सक्ने छ । 

भारतसँगको रेल्वे सम्झौताको म्याद पनि ५ वर्षका लागि थप भएको छ । 


चेम्बर डेको अवसरमा प्रभातफेरी

नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औं वर्ष प्रवेश एवं चेम्बर डे को अवसरमा प्रभातफेरी निकालेको छ । आइतबार काठमाडौंको जमल, न्युरोड, असन लगायतका बजार क्षेत्रमा चेम्बर अफ कमर्सले प्रभातफेरी निकालेको हो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बर स्थापना भएदेखिका कामहरुलाई निरन्तरता दिने प्रतिवद्धता सहित प्रभातफेरी निकालिएको बताए । 
 उनले ‘सुखि नेपाली समृद्ध नेपाल’ निर्माणमा सरकारसँग सहकार्य गरी अगाडी बढ्न चेम्बर प्रतिवद्ध रहेको समेत बताए । 

व्यवसायीको माग

कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले बताएका छन् । 

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफुहरुमाथि कर्मचारीहरुले राम्रो व्यवहार नगरेको बताएका हुन् ।

 नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कानून बनाएर व्यववसायीलाई कडाई गर्ने तर कर कार्यालयले आफ्नो व्यवहारमा सुधार नगरेको बताए । त्यस्तै आन्तरिक राजश्व विभागले अनुगमनका क्रममा सबै विषयमाथि राम्रोसँग अध्ययन नगरी विषयहरु सार्वजनिक गरेकाले व्यवसायीको बदनाम हुने गरेको समेत बताए । 

शेयर बजार 

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि शेयर बाजरमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ । नेपाल राष्ट्र बैंकले घरजग्गा  तथा हायर पर्चेज कर्जामा कडाइ गरेको र बैंकमा तरलता बढ्दै जाँदा ब्याजदर घट्न गएकाले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको छ । त्यसैको सकारात्मक प्रभाव परिसूचक नेप्सेमा परेको विश्लेषकहरु बताउँछन् । 

 बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज हुँदा ब्याजदर घट्ने र निक्षेपमा भन्दा शेयर बजारबाट बढी प्रतिफल लिन सकिने भएकाले शेयर बजारका परिसूचकहरु बढ्न थाल्छन् । आइतबारको बजारमा त्यस्तै अवस्था देखिएको शेयर विश्लेषकहरुको भनाइ छ ।

केही दिन यता बैंकिङ प्रणालीमा प्रर्याप्त तरलता रहेको र बैंकहरुले ब्याजदर घटाउन थालेकाले लगानीकर्ताको मनोबल बढ्न जाँदा शेयरको माग बढ्न गई कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ ।

आइतबार ४२ दशमलव ६१ अंकले नेप्से बढेको छ । सेन्सेटिभ परिसूचक पनि ८ दशमलव ४७ अंकले बढेको छ । १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै समुहका सूचकहरु बढेका छन् । शेयर विश्लेषक रुक्मागत काफ्ले बजार बढ्नुमा बैंकमा तरलता अधिक हुनु र ब्याजदर घट्दै जानु रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप