शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सिमेन्टलाई ४३ र ५३ ग्रेडको मान्यता दिने बाटो खुल्यो, ३३ ग्रेड हटाइने

आइतबार, ०५ माघ २०७६, १२ : ०२
आइतबार, ०५ माघ २०७६

काठमाडौं । नेपाली सिमेन्टहरुले अब फरक फरक ग्रेड पाउने भएका छन् । नेपालमा उत्पादन भएको पोर्टल्याण्ड सिमेन्टहरुले अहिले ३३ ग्रेडको मात्रै मान्यता पाउँदै आएकोमा पाएका छन् । अब भने गुणस्तरीय सिमेन्टलाई ४३ ग्रेड र ५३ ग्रेडको समेत मान्यता दिनेगरी निर्णय भएको हो ।

 नेपाल गुणस्तर तथा नापतौल विभाग अन्तर्गतको प्राविधिक समितिले गरेको सिफारिस अनुसार शुक्रबार उद्योगमन्त्री लेखराज भट्टको अध्यक्षतामा नेपाल गुणस्तर परिषदको बैठकले त्यस्तो निर्णय गरेका विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । 

अहिले उत्पादन भइरहेका नेपाली सिमेन्टहरु ३३ ग्रेडभन्दा उच्च गुणस्तरयुक्त भए पनि कानूनी प्रावधानका कारण सोभन्दा बढी ग्रेड दिन कानूनी अवरोध थियो । अब भने गुणस्तर पुगेका सिमेन्टहरुले नयाँ गुणस्तर परीक्षण गराई नयाँ ग्रेडको मान्यता लिन सक्नेछन् । 

५३ ग्रेडको सिमेन्ट धेरै तापक्रम सहनसक्ने र बढी भार थेग्नसक्ने र ठूला कम्पनहरु पनि सहन गर्नसक्ने प्रकृतिको हुन्छ । यो सामान्यतया उद्योगका चिम्नीहरु बनाउन, पुल तथा फ्लाइओभर जस्ता संरचनाहरु निर्माणमा प्रयोग हुन्छ । ४३ ग्रेडको सिमेन्ट भने सामान्य निर्माण कार्यमा प्रयोग हुन्छ तर यसको हाइड्रेसन (पानीमा घुल्ने शक्ति) ३३ ग्रेड सिमेन्टको भन्दा निकै कम हुन्छ । यसले गर्दा यस्तो सिमेन्ट प्रयोग भएको संरचना चर्किने सम्भावना कम हुन्छ । ३३ ग्रेडको सिमेन्ट अहिले न्यून गुणस्तरयुक्त हुने भएकोले अहिले अधिकांश कम्पनीले यस्तो सिमेन्ट उत्पादन गर्न छाडिसकेका छन् । 

नेपालमै उच्च गुणस्तरयुक्त सिमेन्ट निर्माण भएर सबै निर्माणमा अहिलेसम्म पनि नेपाली सिमेन्ट प्रयोग गर्न सकिने अवस्था थिएन । साना तथा मझौला निर्माणहरुमा यो प्रयोग हुन्थ्यो । ठूला निर्माणका लागि भने उद्योगीहरुले निर्माण कम्पनीका इन्जिनियरहरुलाई आफैं ल्याब परीक्षण गरेर देखाउँथे । तर विदेशी लगानीका उद्योग वा विदेशी सहयोगका आयोजनाहरुका लागि अझै पनि विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यता थियो । किनभने ती कम्पनीहरुले नयाँ ग्रेडको छाप लागेका सिमेन्ट मात्रै प्रयोग गर्थे । 

उद्योगीहरुले यो समस्या समाधान गर्न पहिलेदेखि नै माग गर्दै आएको भए पनि संसदीय समितिका कारण लामो समयदेखि यो प्रक्रिया रोकिएको थियो । यो निर्णयले उद्योगीहरुलाई थप राहत दिने निश्चित भएको छ । 

३३, ४३ र ५३ ग्रेडमा के छ फरक ?
ओपीसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) सिमेन्टको ग्रेड त्यस सिमेन्टको चाप अनुसार निर्धारण गरिन्छ । ३३ ग्रेडको सिमेन्ट भनेको ३३ एन÷एमएम२ (न्यूटन÷मिलिमिटर स्क्वायर) हो यसलाई ३३ एमपीए (मेगापास्कल) पनि भनिन्छ । अर्थात् १ वर्ग मिलिमिटरमा उक्त सिमेन्टको चाप कति हुन्छ भन्ने आधारमा सिमेन्टको ग्रेड दिइन्छ । अहिले प्रचलनमा रहेको ३३, ४३ र ५३ ग्रेडको सिमेन्टमा सोहीअनुसारको चाप हुन्छ । 

३३ ग्रेडको सिमेन्ट सामान्य निर्माण कार्यको लागि प्रयोग हुन्छ । ४३ ग्रेडको सिमेन्ट पनि त्यस्तै निर्माणमा प्रयोग हुन्छ तर यसको हाइड्रेसन ३३ ग्रेड सिमेन्टको भन्दा निकै कम हुन्छ । यसले गर्दा यस्तो सिमेन्ट प्रयोग भएको संरचना चर्किने सम्भावना कम हुन्छ ।  ५३ ग्रेडको सिमेन्ट भने धेरै तापक्रम सहनसक्ने र बढी भार थेग्नसक्ने र ठूला कम्पनहरु पनि सहन गर्नसक्ने प्रकृतिको हुन्छ । यो सामान्यतया उद्योगका चिम्नीहरु बनाउन, पुल तथा फ्लाइओभर जस्ता संरचनाहरु निर्माणमा प्रयोग हुन्छ । 

सिमेन्टलाई ३३, ४३ र ५३ ग्रेडमा छुट्याउने मुख्य आधार चाहिँ त्यसमा प्रयोग हुने क्लिङ्करको गुणस्तर नै हो । सामान्यतयाः ३३ ग्रेडमा एम२०, ४३ ग्रेडमा एम२५ र ५३ ग्रेडमा एम३० गुणस्तरको क्लिंकर प्रयोग गरिन्छ ।

३३ ग्रेडको सिमेन्ट हटाइने
३३ ग्रेडको मान्यता पाएका सबै सिमेन्टहरुलाई कम्तीमा ४३ ग्रेडको गुणस्तरमा लैजान अनिवार्य गर्ने तयारी पनि विभागले गरेको छ । धेरैजसो सिमेन्टहरुले सो गुणस्तर कायम गरिसकेका ती सिमेन्टहरुलाई ल्याब परीक्षण गरी नयाँ ग्रेड दिन केही समय लाग्ने र त्यसपछि ३३ ग्रेड गुणस्तरलाई हटाउने महानिर्देशक पुडासैनीले बताए । ‘त्यसको लागि २÷३ महिनासम्म लाग्नसक्छ’ उनले भने । 

४३ ग्रेड अनिवार्य गरिए पनि त्यसअनुसारको गुणस्तर कायम भइसकेकोले यसले सिमेन्टको मूल्यमा भने खासै ठूलो असर गर्दैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप