सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

२८ जना सरिक त्यो जन्मदिनको पार्टी जुन काल बनेर आयो

शुक्रबार, ०५ वैशाख २०७७, १३ : ०४
शुक्रबार, ०५ वैशाख २०७७

ब्राजिलमा एक परिवारको उत्सव त्यतिबेला वियोगमा परिवर्तन भयो जब पार्टीमा समावेश तीन व्यक्तिको मृत्यु भयो र १० व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखियो  ।

पक्कै पनि, यस्तो होला भनेर कसैले पनि सोचेका थिएनन् । तर जन्मदिनको पार्टी आयोजना गरेको दुई हप्ताभित्र थुप्रै सदस्य बिरामी भए । पार्टीमा समावेश धेरैजो सदस्यलाई अब कोरोनाभाइरसको संदिग्ध संक्रमितको रुपमा हेरिएको छ ।

ब्राजिलको साओ पाउलोमा एक जन्मदिनको पार्टीमा समावेश भएका २८ जनामध्ये तीनजनाको मृत्यु भएको छ र अन्य सदस्यको जीवन खतरामा छ । मृत्यु हुने तीनैजना एकै परिवारका थिए ।

यद्यपि, प्रशासनले अहिलेका लागि एक व्यक्तिको मृत्युको कारण भने कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

तीन हप्तामा आँकडा ह्वात्तै बढ्योः

१३ मार्चमा साओ पाउलोको इटापेर्सिया डे सेरामा यो पार्टीको आयोजना भएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार त्यस दिनसम्म कोरोना भाइरस संक्रमितको संख्या ९८ पुगेको थियो । त्यतिबेला कोभिड–१९ का कारण कसैको पनि मृत्यु भएको पुष्टि भएको थिएन ।

ब्राजिलमा कोरोनाभाइरसका कारिब ६० प्रतिशत संक्रमित साओ पाउलोमा छन् । दुई करोड बढी जनसंख्यासहित यो संसारको सबैभन्दा धेरै जनसंख्या भएको शहरमध्येको एक हो ।

यो घटनाको लगभग तीन हप्तापछि ८ अप्रिलसम्म ब्राजिलमा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार पार भइसकेको थियो भने यति बेलासम्म ८ सयले ज्यान गुमाइसकेका थिए ।

वेरा लूसिया परेरालाई कोरोनाभाइरसको महामारी ब्राजिलसम्म पुगिसकेको थाहा थियो तर उनले आफ्नो ५९ औं जन्मदिनको पार्टी रद्द गर्ने पनि सोचेकी थिइन् ।

वेरा लूसिया परेराले बीबीसीलाई भनिन्, ‘मेरो मनमा कताकता शंका थियो तर अन्तिममा पार्टी गर्ने कुरामा निश्चित गरियो । त्यति बेलासम्म कोरोना संक्रमितको संख्या धेरै थिएन । ’

त्यतिबेला ब्राजिल लकडाउन पनि गरिएको थिएन ।

पार्टीमा जम्मा २८ व्यक्ति थिए..

वेरा लूसियाको जन्मदिनको पार्टी उनको घरको बगैंचामा भएको थियो जसमा परिवार २८ जना जम्मा भएका थिए । उक्त पार्टीमा वेरा लूसियाका श्रीमान् पाउलो विएराका भाइ–बहिनी पनि समावेश भएका थिए ।

पाउलो, उनका भाइ क्लोविस र बहिनी मारियाले मज्जाले पार्टी गरे तर तीनैजनालाई थाहा थिएन कि उनीहरुको मृत्यु कोभिड–१९ को संक्रमणका कारण हुनेछ ।

पार्टीमा वेरा लुसियाका बहिनीहरु पनि समावेश भएका थिए । लुसिया र पाउलोका भतिजा–भतिजी पनि यसका सरिक भएका थिए ।

पार्टी आयोजना भएको केही दिन पछि नै आधा बढी पाहुनामा रुघा–खोकी, ज्वरो र सास फर्नेलगायतका समस्या देखियो । यी सबै लक्षण कोरोना भाइरसको संक्रमणपछि देखिन्छ । यीमध्ये धेरैलाई हल्का लक्षण थियो ।

आक्रामक भाइरसः

वेरा लूसियाका श्रीमान् पाउलो र उनका भाइ र बहिनीको संक्रमणको लक्षण देखिएको एक हप्ताभित्र नै मृत्यु भएको थियो । प्रशासनले मारियाको मृत्यु कोभिड–१९ का कारणले भएको पुष्टि गर्यो ।

मारियाकी छोरी राफेलाले बीबीसीलाई भनिन्, ‘अब हामीलाई पूर्ण विश्वास भयो कि मेरी आमाको मृत्यु कोरोनाभाइरसका कारण भएको हो । यसबाट यो थाहा हुन्छ कि यो भाइरस कति आक्रामक छ । मेरी आमाको उपचार अस्पतालमा भयो, उहाँलाई भेन्टिलेटरमा पनि राखिएको थियो तर यति गर्दासमेत उहाँलाई बचाउन सकिएन ।’

मारिया मधुमेहकी रोगी थिइन् र संक्रमणपछि उनको स्थिती तीब्र रुपमा बिग्रन थाल्यो । वेरा लुसियाको परिवारलाई पाउलो र क्लोविसको पोस्टमार्टम रिपोर्टको प्रतिक्षा छ ।

वेरा लुसिया भन्छिन्, ‘उनको उपचारमा संलग्न डाक्टर ९९ प्रतिशतसम्म विश्वस्त छन् कि उनीहरुको मृत्यु कोभिड–१९ का कारण भएको हो ।’

छोरा बचेः

वेरा लूसिया र उनका छोरामा पनि कोरोना संक्रमणको लक्षण पाइएको थियो । अब उनीहरु दुबै ठिक छन् । वेरा भन्छिन्, ‘शारीरिक रुपमा म ठिक छु । थोरै खोकी मात्रै छ । तर यो निकै मुश्किल समय हो । हामी डरैडरमा बाँचिरहेका छौं ।’

सुरुमा त परिवारका सदस्यले विश्वास नै गर्न सकेनन् कि उनीहरु कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । संक्रमणपछि ठिक भएका परिवारका एक सदस्यले भने, ‘त्यतिबेला सम्म ब्राजिलमा कोरोनाका निकै थोरै संक्रमि त थिए । त्यसकारण हामीलाई लाग्यो कि यो भाइरस हामीमाझ पुग्न धेरै लामो समय लाग्नेछ ।’

उनी भन्छन्, ‘पार्टीमा समावेश हुञ्जेलसम्म परिवारका सबै सदस्याको स्वास्थ्य अवस्था ठिक थियो । त्यसकारण कसैलाई पनि थाहा छैन सुरुमा कसलाई संक्रमण भयो । यदि यसबारे थाहा भइहालेछ भने पनि हाम्रो के परिवर्तन हुन्छ र ?’

मारिया स्वास्थ्य स्थिती बिग्रिएपछि उनका दाइ ६२ वर्षीय क्लोविसको स्वास्थ्य बिग्रन थाल्यो । क्लोविसका छोरा आर्थरले बीबीसीलाई भने, ‘पार्टीको तीन दिनपछि बुवाको खोकी अत्यधिक बढेको थियो । उहाँको टाउको दुखेको थियो र ज्वारोसमेत आएको थियो । उहाँको बास्न र स्वाद थाहा पाउने क्षमता पनि हराएको थियो ।’

इन्टेन्सिव केयर युनिटः

मारियाको ठिक विपरित क्लोविसलाई कुनै रोग थिएन । तर यति हुँदा हुँदै पनि उनी लगातार असहज महसुस गरिरहेका थिए । आर्थरले २३ मार्चमा आफ्ना पितालाई अस्पताल पुर्याए तर त्यहाँबाट उनलाई फिर्ता पठाइयो । आर्थर भन्छन्, ‘डाक्टरले यतिसम्म पनि सोचेनन् कि यो कोरोनाभाइरस संक्रमणको घटना हुनसक्छ ।’

क्लोविस बिरामी भएपछि वेरा लुसियाका श्रीमान् पाउलोको स्वास्थ्य पनि खराब भयो । उनलाई अस्पताल पुर्याइयो । परिवारका भाइ–बहिनीमध्ये  पाउलोलाई सबैभन्दा स्वस्थ मानिन्थ्यो । उनी शारीरिक श्रम पनि अत्यधिक गर्दथे ।

जब पाउलो अस्पताल पुगे तब उनको स्वास्थ्य तुलनात्मक रुपमा ठिक थियो । हो, उनलाई सास फेर्न गाह्रो भने भएको थियो । वेरा लूसिया याद गर्छिन्, ‘तर त्यसको दुई दिनपछि नै पाउलोलाई इन्टेन्सिभ केयर युनिटमा लगियो ।’

क्लोविस र पाउलो नीजि जीवनमा पनि एक–अर्काको नजित त थिए नै, उनीहरुले मृत्युवरण गर्दा पनि एक–अर्काका साथ छोडेनन् । आइसीयूमा पनि उनीहरुको बेड एक–अर्काको नजिकै थियो । यी दुबैको मृत्युको कारण कोरोनाभाइरसको संक्रमण नै भएको डाक्टरहरु मान्छन् ।

अन्तिम संस्कारमा प्रतिबन्धः

अप्रिल १ मा मारियालाई हृदयघात भयो जसका कारण उनको मृत्यु भयो । क्लोविसको मृत्यु त्यसको भोलिपल्ट भयो र अप्रिल ३ मा पाउलो पनि यो संसारबाट बिदा भए । ब्राजिलमा कोभिड–१९ माथि निगरानी राख्नका लागि बनाइएको सरकारी एजेन्सीको सल्लाहमा मारिया र पाउलोलाई सिलबन्दी कफिनमा राखेर अन्तिम संस्कार गरियो ।

क्लोविसको अन्तिम संस्कार उनको इच्छा अनुसार गरियो । तीनै जनाको अन्तिम संस्कार फरक दिनमा गरियो । अन्तिम संस्कार केही मिनेटमा नै सम्पन्न गरियो । सरकारी निर्देशन अनुसार १० जनाभन्दा बढी जम्मा भएका थिएनौं ।

क्वारेन्टाइनः

१३ मार्चको पार्टीमा सरिक भएकाहरु र बाँच्न सफल अहिले पनि आइसोलेशनमा छन् । कसैको स्वास्थ्य खराब भएको थियो र उनीहरु अहिले ठिक छन् तर सबैले सावधानी स्वरुप अझै केही दिनका लागि क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् ।

उनीहरुले मानिसहरुलाई घरमा नै बस्न आग्रह गरिरहेका छन् । मारियाकी छोरी राफेला भन्छिन्, ‘यो फ्लू होइन । यो एक महामारी हो । यो एक निकै डरलाग्दो र बर्बर भाइरस हो ।’

यता ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले भने कोभिड–१९ को महामारीको गम्भीरतामाथि प्रश्न उठाउँदै यसलाई ‘सामान्य फ्लू’ बताउने गरेका छन् ।

लूसिया राष्ट्रपति बोलसोनारोको बयानमाथि चकित छिन् । उनी भन्छिन्, ‘बोलसोनारोले जे गरिरहेका छन्, त्यो बकवास हो । उनी जिम्मेवार पदमा छन् र उनलाई आफ्नो जिम्मेवारीबारे जानकारी हुनुपर्छ ।’

वेरा लूसियाका लागि त अहिले जीवनको सबैभन्दा ठूलो चुनौती पाउलो बिनाको जीवन रथ हाँक्नु हो । उनी भन्छिन्, ‘जीवन त चलिरहन्छ तर हामी चाहन्नौं कि हाम्रो परिवारमाथि जे भयो, त्यो अरु कसैमाथि पनि नहोस् ।’

रातोपाटीले अनुवाद गरेको विन्सियस लेमोसद्वारा लिखित बीबीसी हिन्दीमा प्रकाशित लेख  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप