सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरको मेयरमा टिकट नपाएपछि राजपा नेताले गरे पार्टी परित्याग

पैसाको चलखेल गरी नेतृत्वले बिक्री गरेको आरोप
मङ्गलबार, २० भदौ २०७४, २० : ५९
मङ्गलबार, २० भदौ २०७४

पैसाको चलखेल गरी नेतृत्वले बिक्री गरेको आरोप 

वीरगञ्ज– प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकको मेयरमा टिकट नपाएपछि राष्ट्रिय जनता पार्टी राजपाका महासचिव एवम् पूर्व मेयर विमल श्रीवास्तवले पार्टी परित्याग गरेका छन् ।

 काठमाण्डौमा मङगलवार साँझ पार्टी नेतृत्वले वीरगन्जको मेयरमा पार्टीका अर्का महासचिव राजेशमान सिंहलाइ उम्मेदवार बनाएको औपचारिक घोषणा गरे लगत्तै श्रीवास्तवले वीरगन्ज स्थित आफनो निवासमा मंगलवार साँझ आफना समर्थक नेता कार्यकर्ताहरु माझ पार्टी परित्यागको घोषणा गरेका हुन् । राजपा परित्याग गरेका श्रीवास्तव विजय गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् ।

राजपाले मधेशी जनताको भावना विपरित काम गरेकाले पार्टी परित्याग गरेको भन्दै श्रीवास्तवले भने– ‘राजपाले वीरगञ्जको सवालमा जुन निर्णय गरयो, त्यो मधेसी जनताको भावना विपरित हो, पैसाको चलखेल गरेर वीरगन्जको मेयरको टिकट बिक्री भएको छ ।’ 

 उनले बुधबार लोकतान्त्रिक फोरमका तर्फबाट वीरगन्ज महानगरको मेयरमा मनोनयन दर्ता गर्ने उदघोष पनि गरे । राजपाले वीरगन्जको मेयरमा सिंहलाइ उम्मेदवार बनाएपछि श्रीवास्तवसँगै राजपाका केन्द्रीय सदस्यहरु शशीकपुर मिया, पुरुषोत्तमलाल झा, लक्ष्मीकान्त तिवारी, किशोरी यादवले पनि राजीनामा दिएका छन् । उनीहरु पनि लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् ।

राजनीतिक यात्रामा गुरु र चेला भनेर चिनिएका श्रीवास्तव र सिंह २०७० सालको संविधानसभाको निर्वाचनमा पनि एउटै क्षेत्र पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । त्यसबेला श्रीवास्तव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीबाट र सिंह तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीबाट चुनावी मैदानमा भिडेका थिए ।
काँग्रेसका उम्मेदवार राजेन्द्रबहादुर अमात्य निर्वाचित भएको उक्त निर्वाचनमा श्रीवास्तव दोश्रो स्थानमा र सिंह तेश्रो स्थानमा सिमित भएका थिए । दोश्रो संविधानसभाको निर्वाचन अघि राप्रपामा रहेका श्रीवास्तवको राजनीतिक सहयोगीका रुपमा सिंह परिचित थिए ।

सिंह, २०५४ सालको स्थान्नीय निर्वाचनमा तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको वडा ३ बाट नगर परिषद् सदस्य निर्वाचित भएका हुन् । २०५४ सालमा श्रीवास्तवले नेतृत्व गरेको स्वतन्त्र समूहमा रहेका सिंह श्रीवास्तवका निक्कै नजिकका मानिन्थे । अब असोज २ गते हुन लागेको स्थानीय तहको  निर्वाचनमा फेरि एउटै पदमा यी दुइ गुरु र चेला बिचको भिडन्त हुन लागेको छ ।

प्रदेश  नम्बर २ मा स्थानीय तह निर्वाचनका लागि असोज २ को मिति तोकिए देखी नै वीरगन्ज महानगरको मेयरमा राजपाका तर्फबाट श्रीवास्तव र सिंहबीच रस्साकस्सी चल्दै आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप