पाँचथरका सबै सङ्क्रमित निको, खाली भयो क्वारेन्टिन
पाँचथरका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो ।
पछिल्लो पटक सङ्क्रमित देखिएका तीन जना पुरुष कोरोना सङ्क्रमण मुक्त भई अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रबार यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्यासमेत शून्यमा झरेको छ ।
पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो सङ्क्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा सङ्क्रमण देखिएको थियो ।
उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । सङ्क्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् ।
यस्तै साउदी अरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
उनीहरुमध्ये दोस्रो सङ्क्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी दुई जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ, मोरङ पठाइएको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ देखिएपछि घर फर्कंदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले सबै सङ्क्रमित निको भएको तथा क्वारेन्टिनमा बसेका सबैको स्वाब परीक्षण गरी घर फर्काएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार शुक्रबार जिल्लाका ४२ वटा क्वारेन्टिन पूर्णरुपमा खाली भएका छन् ।
क्वारेन्टिनमा बसेका तथा अन्य गरी जिल्लामा ७७९ जनाको स्वाब परीक्षण गरिएको छ भने २ हजार २०३ को आरडिटी गरिएको छ । यहाँका ७२२ बेडको क्वारेन्टिन तथा ३६ बेडको आइसोलेन कक्ष पहिलोपटक पूर्णरुपमा खाली भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण