प्रकृतिको खानी साल्पासिलिछो गाउँपालिका
भूमिका
चोमोलुङ्मा हिमालको काखमा सिलिछो पहाडलाई शिर बनाई नेपाली भूमिमा छुट्टै पहिचान र अस्तित्व बनाउन तल्लीन नेपालको सङ्घीय संरचनाअनुसार २०७३ सालमा स्थापना भएको एक सुन्दर स्थानीय तह हो– भोजपुरको साल्पासिलिछो गाउँपालिका ।
सुम्निमा–पारुहाङको बासस्थान हिमालय पर्वत शृङ्खला (कैलाश पर्वत) अन्तर्गत पर्ने अटल अविरल बगिरहने अरुण नदीको किनारमा अवस्थित यस गाउँपालिका शैक्षिक तथा पूर्वाधार विकासको हिसाबले भर्खरै ताते सर्दैछ । नेपालको संविधानअनुसार अति दुर्गम गाउँपालिका साल्पासलिछोको पूर्वमा विश्वकै होचो भूभागमा रहेको तुम्लिङटार एयरपोर्ट रहेको खाँदबारी नगरपालिका पर्दछ । यसैगरी उत्तर–पूर्वमा सिलिचोङ गाउँपालिका र उत्तरमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले छेकेको छ । दक्षिणतर्फ नेपालको पहिलो समाज सुधारक महिला योगमायाको जन्मभूमि षडानन्द नगरपालिका रहेको छ । यसैगरी दक्षिण पश्चिममा भोजपुरकै ट्याम्के मैयुङ गाउँपालिका र पश्चिममा खोटाङको केपिलासगढी गाउँपालिकाको सिमानामा जोडिएको छ ।
यसरी चार जिल्लाको सङ्गम प्राकृतिक रूपमा सुन्दरताले भरिपूर्ण पहाडको टाकुरो साथै मैदानको र फाँटहरुको अदृश्य मिलनबिन्दु हो साल्पासिलिछो गाउँपालिका । बहुआयमिक पहिचानको झझल्को दिने संस्कृतिले भरिपूर्ण रहेका सभ्यताको अनुपम केन्द्र हो साल्पासिलिछो । भोजपुर जिल्लाको साविक ६३ गाविसमध्ये कुलुङ, चौकीडाँडा, खाटाम्मा र दोभाने गाविस आपसमा गाभिएपछि १९३ वर्ग किमिको क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा ६ हजार २ सय ६५ जना पुरुष, ६ हजार ८ सय ४६ जना महिला गरी १३ हजार १ सय ११ जना जनसङ्ख्या रहेको छ । धार्मिक हिसाबले हिन्दु, बौद्ध, किराँत, क्रिस्चियन धर्म मान्ने मानिसहरु यस गाउँपालिकामा बसोबास गर्ने गर्दछन् । साल्पासिलिछो गाउँपालिका १ नं. प्रदेशको राजधानी विराटनगरदेखि करिब २०० किमिको सडक दूरीमा रहेको छ । गाउँपालिकाको विषयगत क्षेत्रको बारेमा निम्न बुँदामा उल्लेख गर्न सकिन्छ ।
शैक्षिक क्षेत्र
तत्कालीन राणाशासनमा प्रतिबन्ध लगाइएको अवस्थामा समेत भोजपुरको उत्तरी भेग दिङ्लामा बालागुरु षडानन्दले संस्कृत पाठशालाको स्थापना गरी शैक्षिक क्षेत्रमा निकै फड्को मारेको थियो । त्यसैको प्रभाव स्वरूप भोजपुरको सुदूर उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका शैक्षिक हिसाबले मध्यम स्थितिमा रहेको छ । साल्पासिलिछो गाउँपालिकामा भोजपुर जिल्लामा स्थापना भएको पहिलो सामुदायिक क्याम्पस कुलुङ बहुमुखी क्याम्पसमा स्नातकसम्मको पढाइ हुने गरेको छ ।
१ नं. प्रदेशको नमुना विद्यालयको मापदण्डमा पर्न सफल साल्पासिलिछो गाउँपालिका वडा नं. १ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन हुने गर्दछ भने वडा नं. २ ठोटनेरीमा १० कक्षासम्म पढाइ हुने ठोटनेरी माध्यमिक विद्यालय प्रस्ताविक माविका रूपमा सञ्चालनमा आएको छ । गाउँपालिकाको केन्द्रका रूपमा रहेको वडा नं. ३ चौकीडाँडामा जालपा माध्यमिक विद्यालय रहेको छ जुन विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ । यसैगरी वडा नं. ४ मा १० कक्षासम्म पठनपाठन हुने जालपादेवी माध्यमिक विद्यालय सञ्चालनमा छ । वडा नं. ५ मा इन्द्रावती माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ भने वडा नंं ६ को सालेवा माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ । समग्रमा गाउँपालिकामा एउटा संस्थागत विद्यालयसहित ४२ वटा विद्यालय सञ्चालनमा आएका छन् ।
शिक्षा नै सबैभन्दा ठलो धन हो भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ । गाउँपालिकामा जन्म भई उच्च शिक्षा हासिल गरी सरकारको उच्च ओहोदामा काम गर्ने अवसर पाएका छन् भने देशका विभिन्न स्थानमा बसी यस गाउँपालिकामा जन्म भएका व्यक्तिहरुले विभिन्न प्रकारका शैक्षिक आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । यसरी शैक्षिक क्षेत्रको विगत हेर्ने हो भने हामीले साल्पासिलिछो गाउँपालिका शैक्षिक रूपमा अन्य स्थानीय तथा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निर्माणको तयारीमा लागेको छ । स्थानीय सरकार स्थापना भएपछि विगतभन्दा शैक्षिक क्षेत्रमा सुधार आएको छ । बाल शिक्षा सञ्चालन नभएका सामुदायिक विद्यालयमा अनिवार्य रूपमा बालशिक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ । स्थानीय सरकार स्थापना भएपछि स्थानीय सरकारले नै तलबभत्ता खुवाउने गरी प्रत्येक वडाका १÷१ वटा बालशिक्षा कक्षा सञ्चालन गरिएको छ ।
स्वास्थ्य सेवा
नेपालको संविधानमा नै हरेक नागरिकले स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार हो । यस अधिकारको रक्षाका लागि गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पु¥याउनका लागि ६ वटै वडामा स्वास्थ्य संस्थाहरु खोलिएका छन् । सामान्यतया आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन हर प्रयास गरिएको छ । गाउँपालिकाबाट स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिकाको आफ्नै स्रोतमा २ वटा सामुदायिक स्वास्थ्य एकाइसहित ७ वटा स्वास्थ्य संस्था रहेका छन् । जस अन्तर्गत वान हर्ट लगायतको दाताको सहयोगमा वडा नं. २ मा सुरक्षित मातृत्व सेवा सहितको स्वास्थ्यचौकी रहेको छ । गाउँपालिका भित्र रहेका गर्भवतीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कुलुङ स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याइएको छ । यसैगरी चौकीडाँडा स्वास्थ्य चौकी वडा नं. ३, खाटाम्मा स्वास्थ्य चौकी वडा नं. ४ र दोभाने स्वास्थ्य चौकी वडा नं. ६ मा सुरक्षित मातृत्व सेवा सञ्चालन गरिएको छ ।
त्यसैगरी वडा नं. १ को बुम्लिङमा आधारभूत स्वास्थ्य केन्द्र रहेको छ । वडा नं. २ को ठोटनेरीमा दाता (जगधनसिंह राई) को सहयोगमा बज्रसिंह सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई सञ्चालनमा आएको छ । नेपाल सरकारको ससर्त बजेटबाट कार्यान्वयन हुने गरी वडा नंं ५ को फेदीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन आएको छ । गाउँपालिका स्थापना भएपछि वडा नं ४ को माथिल्लो भेगको नागरिकलाई स्वास्थ्य सेवा सुलभ रूपमा दिने अभिप्रायले खाटाम्माको गुरुङगाउँमा सामुदायिक स्वास्थ्य एकाई स्थापना भएको छ । यसरी गाउँपालिकाको सबै नागरिकले उपचार सेवा सहज रूपमा उपलब्ध गराउनका लागि गाउँपालिकाबाट विपिन्न कोषको खडा गरी औषधि उपचारमा सहयोग गर्ने गरिएको छ ।
स्वास्थ्य संस्थाहरुको विवरण
क्र.सं. गाउँपालिका स्थापना हुन अगाडि सञ्चालन भएका स्वास्थ्य संस्थाहरु ठेगाना क्र.सं. गाउँपालिका गठन भएपछि सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरु
१ कुलुङ स्वास्थ्य चौकी वडा नं.२ १ आधारभूत स्वास्थ्य केन्द्र वडा नं. १
२ चौकीडाँडा स्वास्थ्य चौकी वडा नं. ३ २ बज्रसिंह सामुदायिक स्वास्थ्य एकाइ वडा नं. २
३ खाटाम्मा स्वास्थ्य चौकी वडा नं. ४ ३ सामुदायिक स्वास्थ्य एर्का वडा नं. ४
४ दोभाने स्वास्थ्य चौकी वडा नं. ६ ४
५ सामुदायिक स्वास्थ्य एकाइ फेदी वडा नं. ५ ५
कृषि क्षेत्र
सामान्यतया साल्पासिलिछो गाउँपालिकामा उष्णदेखि अति शितोष्णसम्मका हावापानी पाइने भएको हुनाले सबै प्रकारका खाद्यबालीदेखि नगदेबाली उत्पादन हुन गर्दछ । गाउँपालिकाभित्र उत्पादन हुने खाद्यबालीले यस स्थानीय तहका नागरिकलाई लगभग १० महिना खान पुग्ने गरेको छ । भने गाउँपालिकाको हिमाली क्षेत्रमा बसोवास गर्ने नागरीकको महत्त्वपूर्ण आर्थिक स्रोतको रूपमा रहेको जडीबुटीले जीविका चलाउने गरेका छन् ।
यस क्षेत्रमा धान, मकै, गहँु, कोदो, फापर, जुनेलो लगायतका खाद्ययबाली उत्पादन हुने गर्दछ । नगदेबालीको रूपमा सुन्तला, कागती, नासपाति, लिची, कटहर, तोरी, साग, आलु, पिँडालु, कन्दमूल लगायत उत्पादन हुने गरेको छ । यसैगरी खोल्साको सुनको रूपमा चिनिएको अलँैची पनि यस क्षेत्रको मुख्य बालीको रूपमा रहेको छ । चिराइतो, शक्तिगुम्बा, विखुमा, सतुवा लगायतका जडीबटी पनि यस क्षेत्रको मुख्य आम्दानीको स्रोत हुन् । यसैगरी धार्मिक रूपमा प्रयोग हुने रुद्राक्ष यस गाउँपालिकाको विशिष्ट आर्थिक स्रोतको रूपमा रहेको छ । साल्पाासिलिछो गाउँपालिकाबाट आ.व. २०७६÷०७७ मा अलैँची, किवी खेती विस्तारका लागि रकम विनियोजन गर्नका साथै विभिन्न परियोजनाका कामहरु सञ्चालन गर्न थालिएको छ । गाउँपालिकाले कृषि क्षेत्रका लागि विशेष प्रकारका प्याकेज तथा पकेट क्षेत्र तय गरी कृषिमा आधारित अर्थ प्रणालीलाई व्यवस्थित गर्ने लान सुरु गरिएको छ ।
पर्यटन क्षेत्र
नेपालको आर्थिक विकासका लागि बहुआयमिक क्षेत्रको रूपमा चिनिएको पर्यटन क्षेत्रलाई लिइएको छ । गाउँपालिकाको आम्दानीका लागि प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्रको विकास गर्नु आजको आवश्यकता ठानेको छ गाउँपालिकाले । गाउँपालिकाको १० प्रतिशत हाराहारीमा बजेट पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ ।
पर्यटकीय क्षेत्रको विकास गर्नु भनेको समग्र मानव विकासको मेरुदण्ड निर्माण हुनु हो । यस कारणले गर्दा साल्पासिलिछो गाउँपालिकाले गाउँपालिकाको प्रवेशद्वारमा गौडेनी योगमाया स्मृति प्रतिष्ठानदेखि साल्पापोखरीसम्मको क्षेत्रलाई विकास गर्नका लागि गाउँपालिकाले विशेष प्रकारको योजनाको तयारी गरिरहेको छ । यस गाउँपालिकाको वडा नं. १ मा योगमाया स्मृति प्रतिष्ठान योगमायाको तपस्या स्थल, शिवशक्ति भक्ति आश्रम र स्कुलडाँडा जाल्पादेवी चर्चित स्थानहरु हुन् । यसैगरी सङ्खुवा त्रिवेणी अरुण नदी र सङ्खुवाखोलाको दोभानसमेत रमणीय रहेको छ ।
वडा नं. २ को गोरुकाटे गुराँसेडाँडा लगायतको स्थल पदमार्गको हिसाबले निकै उपयुक्त मानिन्छ । वडा नं. २ मा नै सिंहदेवी थान रहेको छ जसलाई सो क्षेत्रका नागरिकले आस्थाको केन्द्रको रूपमा लिएका छन् । कला र संस्कृतिको हिसाबले मनोरम क्षेत्रको रूपमा रहेको साल्पासिलिछो गाउँपालिकाको केन्द्र तिनतामा चौकीडाँडाको शिरका रूपमा रहेको तालखर्क, हर्कटेसाल्पा हेरेर कहिल्यै नअघाउने खालको छ । वडा नं. ३ को गोथेबजार जुन भूमि हुँदै एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसो त गोथेबजारदेखि माथितिर जाँदा वडा नं. ४ को डिलखर्क, माचखर्क पुगिन्छ । अहिले सोही क्षेत्रलाई आधार मानी ग्रामीण कृषि सडक निर्माणको काम भइरहेको छ । जुन सडक पर्यटकीय दृष्टिकोणले सामरिक मानिएको छ ।
यस गाउँपालिकाको भूमि हुँदै सगरमाथा तथा गाउँपालिकाको गहनाको रूपमा रहेको सिलिछो पहाड र साल्पापोखरी जाने पर्यटकहरुले विश्राम लिने ठाउँ वडा नं. ६ को थुम्लुङ खोला र वडा नं. ५ हुँदै आउने इखुवा खोलाको दोभानले सबै पर्यटकहरुलाई मनमोहक बनाउने गर्दछ । साल्पासिलिछो गाउँपालिका वडा नं. ५ मा रहेको साल्पापोखरीले यस गाउँपालिकालाई छुट्टै पहिचान दिएको छ भने सिलिछो पहाडले साल्पासिलिछो गाउँपालिकाको शिरको रूपमा काम गरेको छ । जसलाई पर्यटकीय क्षेत्रको विकासका लागि राजाको रूपमा लिइन्छ ।
गाउँपालिकाबाट पर्यटकीय क्षेत्रको विकासको लागि साल्पापोखरी संरक्षण, हर्कटे साल्पाको विकास प्रवद्र्धन गर्नेदेखि लिएर गाउँपालिकाको गुरुयोजना निर्माण गरी पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । यसैगरी गाउँपालिकाको हिमाली क्षेत्रमा पाइने गुराँसका फूलको संरक्षण गर्दै हिमाली क्षेत्रमा पाइने जडीबुटी तथा वन्यजन्तुको संरक्षणमा गाउँपालिका लागिपरेको छ ।
संस्कृति संरक्षण
सभ्यता हराए, संस्कृति हराउँछ । संस्कृति हराए संस्कार हराउँछ । संस्कार हराए पहिचान हराउँछ । पहिचान हराए राष्ट्र हराउँछ । यो भनाइलाई मध्यनजर गर्दै गाउँपालिकाले संस्कार संस्कृतिको जगेर्ना गर्ने कामका कम्मर कसेर लागेको छ । संस्कारको कुरा गर्दा यस गाउँपालिकामा बहुआयमिक संस्कार रहेको छ । यस गाउँपालिकामा जम्म, मृत्यु तथा विवाह संस्कार आआफ्नै किसिमको रहेको छ ।
किरातको मुन्दुमदेखि हिन्दुको पुराणसम्मका कर्मकाण्ड यस गाउँपालिकाभित्र बसोवास गरेका नागरिकहरुले संस्कारका रूपमा लिने गरेका छन् । गाउँपालिकाका बसोवास गर्ने नागरिकहरुले विभिन्न मठ मन्दिर तथा ताल तलैया हिमाललाई आस्थाको धरोहरका रूपमा लिई पूजा आराधना गर्दै आएका छन् । बहुआयमिक संस्कृतिका कारण सबै जाजतातिहरुले आए आपसका मिलेर संस्कृतिको रक्षामा लाग्ने गरेका छन् । स्थानीय सरकार गठन भएपछि यस क्षेत्रमा रहेको मठ मन्दिर तथा ताल तलैयाहरुको विकास र संरक्षणमा लागिरहेको छ ।
पूर्वाधार विकास
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको साल्पासिलिछो गाउँपालिकाको पूर्वाधार क्षेत्रको चर्चा गर्दा पूर्वाधार क्षेत्रको विकास सुस्त गतिमा नै देखिन्छ । गाउँपालिका जोड्ने सडक षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इखुवा खोलाको गौडेनीमा रहको मोटरेबल पुलको माध्यमबाट गाउँपालिकाले सडक सम्पर्क बनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाले नछोएको यस गाउँपालिकाले आन्तरिक पूर्वाधार विकासको कार्यक्रमलाई तीव्रता दिइएको छ । ६ वटा वडा रहेको गाउँपालिकाले ग्रामीण तथा कृषि सडक निर्माणको कामलाई जोडबलका साथ अगाडि बढाएको छ । विभिन्न सङ्घ संस्थाको विकासका लागि भवन निर्माणदेखि लिएर कृषि क्षेत्रकोे विकासका लागि साना सिंचाइका आयोजनालाई प्राथामिकता दिइएको छ ।
उपसंहार
साल्पासिलिछो गाउँपालिका स्थापना हुन अगाडि यस क्षेत्रको विकासका सूचकहरु सुस्त गतिमा थियो । पछिल्लो समय नेपालको संरचना अनुसार स्थानीय सरकार गठन भएपछि विकासका कामहरुले गति लिन सुरु गरेको छ । यस क्षेत्रको पर्यटकीय स्थल साल्पापोखरी सिलिछो पहाड तीन जिल्लाको (भोजपुर, खोटाङ र सोलुखुम्बु) सङ्गम स्थलको रूपमा विकास हुँदै गएको छ । ती पर्यटकीय स्थलहरु साल्पापोखरी साल्पासिलिछो गाउँपालिकाभित्र पर्ने भएको हुनाले यसको विकासका लागि गाउँपालिकाले नै बढी भूमिका हुने गर्दछ । यो तथ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले आगामी वर्षहरुमा दिगो रूपमा पर्यटकीय क्षेत्र तथा सांस्कृतिक क्षेत्रको विकासको लागि दीर्घकालीन योजनाहरुको तयारी गरिरहेको छ । गाउँपालिकाको गौरवको रूपमा एउटा योजना तय गरी सिङ्गो गाउँपालिकाको मार्गचित्र कोर्नका तमतयार अवस्थामा रहेको छ । यसैगरी प्रत्येक वडामा १÷१ वटा वडाको गौरवको योजनाहरु तय गरी सिङ्गो वडा र गाउँपालिकाको भविष्य उज्ज्वल बनाउने अभियानमा गाउँपालिका लागिपरेको छ । यसका लागि मुख्य मार्गका रूपमा रहेको छब्बिसे साल्पापोखरी र गौडनी साल्पापोखरी पुग्ने मोटरबाटोमार्फत गाउँपालिकाको ६ वटै वडालाई आपसमा जोडी समुन्नत, सान्त, सुशासन मैत्री शासनको अभ्यास गर्ने जमर्कोमा रहेको छ ।
योजना शाखा प्रमुख
साल्पासिलिछो गाउँपालिका, भोजपुर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंसिरमा किन नेपाली फिल्मको अभाव ?
-
राष्ट्रपति पौडेल अस्पताल भर्ना
-
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन खरिद प्रक्रिया अल्झियो
-
डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित
-
एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष जेल जाने दिन आउँछ : वीरबहादुर खड्का
-
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ