केन्द्रीय संस्करण
राजनीति

‘राजनीतिमा केपी ओली र नरेन्द्र मोदी उस्तै, महन्थ र उपेन्द्र कस्तो हुने ?’

person explore access_timeसाउन ३१, २०७७ chat_bubble_outline0

वैकल्पिक शक्तिको कुरा सधैँ भइरहन्छ । एक समय राजा–रजौटाको राज्य थियो, राजनीतिमा उनीहरुको बर्चस्व थियो । त्यतिबेला पनि वैकल्पिक राजनीतिको कुरा हुन्थ्यो । बहुदलीय प्रजातन्त्र आयो, त्यसमा अल्पमत र बहुमतको कुरा भयो । बहुमतवालाले शासन गरे, अल्पमतवालाहरु पछाडि परे । दक्षिण एशियामा यही सेरोफेरोमा वैकल्पिक राजनीतिको कुरा अगाडि बढिरह्यो । भारतमा वैकल्पिक शक्तिको ‘थर्ड वेभ’को कुरा चलिरहँदा हामीकहाँ ‘सेकेन्ड वेभ’को कुरा चलिरहेको थियो । जतिबेला नेपालमा हामीले बहुदलीय प्रजातान्त्रिक व्यवस्था ल्यायौं, त्यतिबेला भारतको विहार, उत्तर प्रदेशलगायतका राज्यहरुमा अल्पमत र बहुमतको राजनीति चलिरहेको थियो । यहाँ गिरिजाप्रसाद कोइरालाको उदय, विहारमा लालुप्रसाद यादव र उत्तर प्रदेशमा मुलायम सिंह यादवको उदय लगभग एकै समयमा भयो । यद्यपि वैकल्पिक राजनीतिको बहसमा भारतभन्दा हामी अलि पछाडि छौं ।

भारतमा जब वैकल्पिक शक्तिको थर्ड वेभ चल्यो, नितिश कुमार र केजरीवालको युग शुरु भयो । हामीकहाँ मधेश आन्दोलन भयो । भारतमा दुईखालको वैकल्पिक राजनीतिको अभ्यास शुरु भयो । सर्भिस डेलिभरी हो वैकल्पिक राजनीति । अर्कोचाहीँ रिप्रजेन्टेटिभको लागि वंशवादको राजनीति । भारतमा दुवै चलिरह्यो । वंशवादको नाममा लालु यादवले आफ्नो छोरालाई अध्यक्ष बनाए भने मुलायम सिंहले पनि आफ्ना छोरालाई अध्यक्ष बनाए । रामविलास पासवानले पनि आफ्नो छोरा चिराग पासवानलाई पार्टीको अध्यक्ष बनाए ।

जतिबेला लालु यादव, मुलायम सिंह यादव, रामविलास पासवान बहुमत भर्सेज अल्पमतको राजनीतिबाट अगाडि बढेर स्थापित हुँदै दोस्रो चरणको काममा लागेका थिए, त्यतिबेला भारतमा नीतिश कुमार र अरविन्द केजरीवालको सर्भिस डेलिभरीको राजनीति शुरु भइसकेको थियो । नीतिश कुमार त्यही विहारको मुख्यमन्त्री हुनुहुन्छ, जहाँ कुनै बेला लालु यादव र जग्गनाथ मिश्रा पनि मुख्यमन्त्री हुनुहुन्थ्यो । जग्गनाथ मिश्रा हुँदा ‘फरवार्ड’को राज थियो, लालु यादव आउँदा यादवको राज भयो । ‘क्राइम, करप्सन एण्ड कास्ट’को पोलिटिक्स भयो । त्यहाँ अहिले संविधान पनि फेरिएको छैन । तर नीतिश कुमारले क्राइमलाई कम गर्नुभयो, गुड गभर्नेन्सको कुरा अगाडि बढाउनु भयो । त्यतिमात्र होइन, पाँच वर्षमा अरविन्द केजरीवालले शिक्षा र विकासको कुरालाई यसरी अगाडि बढाउनुभयो कि कुल बजेटको २६ प्रतिशत बजेट शिक्षामा राख्नुभयो । अहिले प्राइभेटभन्दा सरकारी स्कूलको परिणाम राम्रो ल्याएर देखाइदिनुभयो उहाँले । जसको चर्चा देशैभरि छ । 

वैकल्पिक राजनीतिको विषयमा भारतको यो खालको बहस शुरु भएको छ भने अर्कोतिर राष्ट्रिय रुपमा राष्ट्रवादको, धर्मवादको राजनीतिको पनि बहस शुरु भयो । त्यो काम बिजेपीले गर्यो । वंशवादलाई हटाउन बिजेपीले धर्मवादको राजनीतिलाई अगाडि बढायो । हुनत बिजेपीको राजनीति गुजरातबाट विकास भयो तर त्यसलाई हिन्दु धर्ममा लगेर विस्तार गर्यो । त्यस्तै नेपालमा केपी ओलीले राष्ट्रवादको नाममा राजनीति गर्नुभयो ।
त्यसैले वैकल्पिक राजनीतिको बहस गर्ने हो भने नरेन्द्र मोदी र केपी शर्मा ओलीमा तात्विक भिन्नता छैन । मोदीले धर्मको नाममा राजनीति गरिरहनु भएको छ भने केपी शर्मा ओलीले राष्ट्रवादको नाममा राजनीति गर्नुभयो । बहुमतको राजनीति गर्ने व्यक्ति राजनीतिमा माथि गयो भने आफू विरुद्धमा हुने कुरालाई पचाउन सक्दैनन् ।

अहिले जनता समाजवादी पार्टी नेपालसँग वैकल्पिक राजनीति गर्ने दुईटा धार छन् । जसपा नेपालले सर्भिस डेलिभरीको राजनीति गर्न चाहेको छ कि रिप्रजेन्टेटिभको राजनीति गर्ने भन्ने तय गर्नुपर्छ । जसपाले रिप्रजेन्टेटिभको राजनीति गर्ने हो भने त्यो अहिले पनि गरिरहेको छ । उसले शासनसत्तामा आफ्नो उपस्थिति देखाइसकेको छ । 


जसपा नेपाल यदि वैकल्पिक पार्टी हो भने कस्तो वैकल्पिक पार्टी हो ? नेकपा माओवादी कि नेपाली काँग्रेस या नेकपा एमाले कि नेपाली काँग्रेस अथवा पछिल्लो समय रुपान्तरित भएर बनेको नेकपा अर्थात नेकपा कि नेपाली काँग्रेस । कस्तो पार्टी बनाउने हो ? या यी दुवैको विकल्पमा बनाउने हो ? त्यो कुरा तय हुनुपर्छ ।


जसपाका नेताहरु चुनाव जितेर कोही स्थानीय तहमा छन् भने कोही प्रदेशमा सरकार चलाइरहेका छन् । कोही संघीय राजनीतिमा सक्रिय छन् । उनीहरु ती ठाउँमा कसरी पुगे भने काँग्रेस र कम्युनिस्टले गर्न सकेनन् अब यी दलले केही गर्लान् कि भनेर विकल्पका रुपमा मधेशमा यी दललाई मधेशी जनताले अगाडि सारेको हुन् । मधेशको आन्दोलन अगाडि बढेपछि त्यसको सबैभन्दा बढी फाइदा मधेशवादी दललाई भयो, जो स्वाभाविक थियो । र, मधेशको राजनीति अर्थात् जसपा नेपालले राज्यमा कुनै न कुनै रुपमा आफ्नो स्थान पाइरहेको छ । राजनीति भनेको गणितीय खेल हो । नेताहरुले आफूलाई समुदायमा जसरी मोभिलाइज गरे, त्यसरी नै आफ्नो स्थान पाए । आजको दिनमा दलितले आफूलाई मोविलाइज गर्न सकेन, त्यसैले ऊ भोटरमात्रै भयो ।

प्रदेश २ मा हेर्ने हो भने वैश्य र यादव समुदायले आफूलाई राम्रोसँग मोविलाइज गर्न सक्यो । त्यसले गर्दा प्रदेशमा उनीहरुको प्रतिनिधित्व राम्रो भयो । अब त्यसैमा टिक्ने कि योभन्दा अगाडि बढ्ने ? जनता समाजवादी पार्टी नेपालसँग दुईटा विकल्प छन् । जसपाले लालु यादव, मुलायम सिंह यादव, मायावतीलाई आफ्नो रोडम्यापमा राख्ने कि अरविन्द केजरीवाल र नितिश कुमारलाई रोडम्यापमा राख्ने ? त्यो स्पष्ट हुनु जरुरी छ । 

जसपालाई कसरी बुझ्ने ?
जसपा नेपाल यदि वैकल्पिक पार्टी हो भने कस्तो वैकल्पिक पार्टी हो ? नेकपा माओवादी कि नेपाली काँग्रेस या नेकपा एमाले कि नेपाली काँग्रेस अथवा पछिल्लो समय रुपान्तरित भएर बनेको नेकपा अर्थात नेकपा कि नेपाली काँग्रेस । कस्तो पार्टी बनाउने हो ? या यी दुवैको विकल्पमा बनाउने हो ? त्यो कुरा तय हुनुपर्छ । त्यहाँ (काँग्रेस) शेरबहादुर हुनुहुन्छ, यहाँ (जसपामा) शेरबहादुर नभएर उपेन्द्र यादव हुनुहुन्छ, त्यही भएर यसलाई वैकल्पिक मान्ने कि ? त्यहाँ (नेकपामा) केपी ओली हुनुहुन्छ, यहाँ (जसपामा) केपी ओली नभएर राजेन्द्र महतो हुनुहुन्छ, त्यही कारणले यसलाई वैकल्पिक शक्ति मान्ने कि ? अथवा जसपाको ‘नेचर अफ पोलिटिक्स’ फरक छ ? शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड र यता महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराईको राजनीतिमा के भिन्नता छ ? यी कुराहरु स्पष्ट हुनु आवश्यक छ ।

जसपा नेपाल पहिला ‘नेचर अफ पोलिटिक्स’मा स्पष्ट हुनुपर्छ । के गर्ने भन्ने कुरामा पनि पहिला स्पष्ट हुनुपर्छ । लामो समयसम्म हामीले के भन्यौं भने दौरा, सुरुवाल पहाडको पोशाक हो र मधेशको पोशाक धोती, कुर्ता र गम्छा हो । हामीले जसरी पोशाकमा बहस गर्यौं त्यसरी नै राजनीतिमा बहस गरेर स्पष्ट हुनुपर्छ । नेकपाको पोल्टिक्स के हो ? काँग्रेसको पोल्टिक्स के हो ? जसपाको पोल्टिक्स के हो त्यसको नेचरमा स्पष्ट हुनुुपर्छ ।
काँग्रेस र नेकपाको राजनीति लक्जरीको राजनीति हो । राज्यको संरचना जे छ, त्यो अनुसार ती दलको संरचना पनि मिलेको छ । तर जसपाको राजनीतिमा के फरक छ भने जे छ त्यो ठिक छैन । त्यसैले यसलाई परिवर्तन गर्नुपर्छ । राज्यको संरचना अनुसार पार्टीको संचरना वा एजेण्डा छैन भने त्यसलाई परिवर्तन गर्नका लागि सोही अनुसार नीति तथा कार्यक्रम बनाउनुपर्छ । ऊ लक्जरीको पोलिटिक्स गरिरहेको छ भने उसको लागि जे छ, त्यो ठिक छ । यदि जसपा नेपालमा त्योभन्दा फरक हो भने त्यो देखिनु पर्छ । कमसे कम त्यो व्यवहारमा देखिनु पर्यो । जसपा नेपालका नेताहरुको व्यवहारमा फरक देखिनु पर्यो । तर नेकपा र काँग्रेसका नेताहरु र जसपा नेपालका नेताहरुको व्यवहारमा तात्विक फरक देखिएको छैन । 

लामो लामो माला, मञ्चमा आसनग्रहण, प्रमुख अतिथी लगायतका कुराहरु कतिपय अवस्थामा काँग्रेस र कम्युनिस्ट भन्दा पनि भयावह छ । पालिकाहरुका जुन रुपमा स्रोत गएको छ, त्यसले राजनीति ग्याङमात्र होइन, क्रिमिनल पनि बढाउँछ । यो विषयमा जसपा नेपालको धरणा स्पष्ट भएन भने अगामी पाँच वर्षभित्र क्रिमिनलहरुलाई खोजी खोजी टिकट दिनुपर्छ  र क्रिमिनलहरु जित्छन् । 
त्यसैले जे गर्दा पनि हुन्छ तर नेचर अफ पोल्टिक्समा स्पष्ट हुनुपर्छ । नेकपा र काँग्रेस भन्दा लेक्जेरियस पोलिटिक्स पनि गर्न सकिन्छ । त्यो पनि विकल्प हुनसक्छ । तर स्पष्ट हुनु जरुरी छ । 

कस्तो हुनुपर्छ एजेण्डा ?
म स्पष्ट रुपमा सोध्न चाहन्छु कि जसपा नेपालले नागरिकताको विषयमा पछिल्लो समय लिएको लाइन के हो ? त्यसमा दोधारे लाइन देखियो । नेपाली राजनीतिका लागि नागरिकता एक महत्वपूर्ण एजेण्डा हो । मधेश आन्दोलन पनि त्यसैका लागि भएको हो । लैङ्गिक विभेद भनेको के हो ? जसपा नेपालले लैङ्गिक विभेद भनेको छ । महिलालाई सात वर्षपछि नागरिकता दिनु भनेको लैङ्गिक विभेद हो भने पुरुषलाई सात वर्षपछि नागरिकता दिनुलाई के भन्ने त ? यो कुरामा स्पष्ट छैन । नागरिकताको विषयमा काँग्रेस जतिको पनि जसपा स्पष्ट छैन । काँग्रेसले अन्तरिम संविधान अनुसार नागरिकताको प्रावधान हुनुपर्छ भनेको छ तर जसपा नेपाल त्यसमा पनि स्पष्ट छैन । यो एजेण्डामा जसपा नेपाल स्पष्ट हुन आवश्यक छ । 


वंशवादलाई हटाउन भारतमा बिजेपीले धर्मवादको राजनीतिलाई अगाडि बढायो । हुनत बिजेपीको राजनीति गुजरातबाट विकास भयो तर त्यसलाई हिन्दु धर्ममा लगेर विस्तार गर्यो । त्यस्तै नेपालमा केपी ओलीले राष्ट्रवादको नाममा राजनीति गर्नुभयो । त्यसैले वैकल्पिक राजनीतिको बहस गर्ने हो भने नरेन्द्र मोदी र केपी शर्मा ओलीमा तात्विक भिन्नता छैन । मोदीले धर्मको नाममा राजनीति गरिरहनु भएको छ भने केपी शर्मा ओलीले राष्ट्रवादको नाममा राजनीति गर्नुभयो ।


कार्यकारी राष्ट्रपति 

जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा ल्याएको छ । कुन आधारमा जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा ल्याएको छ ? के नेपालको इलेक्ट्रल हिस्ट्रीको आधारमा भनेको हो ? नेपालमा भोट दिने जुन चलन छ, त्यसको अध्ययन जसपा नेपालले गरेको छ कि छैन ? नेपालमा २००४ सालदेखि गठन हुन थालेको विधायक (संसद) र अहिलेसम्मको एउटा कमन ट्रेन्ड के देखिएको छ भने नेपालका जनताले मतदान र कन्यादान एकै मनोविज्ञानले गरेका हुन्छन् । 

सकेसम्म आफ्नो जात, नभएमात्र अर्को जातलाई दिने । कन्यादान र मतदानमा त्यो समानता देखिएको छ । कुन हिसाबले यो देशको निर्वाचनबाट मधेशी अथवा आदिवासी जनजातिबाट राष्ट्रपति बनाउन सकिन्छ, त्यो आधार के हो ? मैले केही पनि देखेको छैन । मलाई लाग्छ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा जसपा नेपालको लागि आत्मघाती कदम हुन्छ । संसदीय व्यवस्था नै राजपा नेपालले अँगाल्दा राम्रो हुन्छ ।

समावेशी 
समानुपातिक र समावेशीका लागि जुन कुरा काठमाडौंमा जसपा नेपालले उठाईरहेको छ त्यो कुरा त्यो पार्टीले जनकपुरमा उठाउँछ कि उठाउँदैन, त्यो महत्वपूर्ण कुरा हो । काठमाडौंमा प्रतिनिधित्व खोज्ने तर त्यस्तै प्रतिनिधित्व जनकपुरमा खोज्ने कि नखोज्ने ? तर समानुपातिक समावेशी न केपी शर्मा ओलीले लागु गर्न सक्नु भएको छ, न लालबाबु राउतले गर्न सक्नु भएको छ । नेपाली समाजमा देखिएको अन्तरविरोध के हो भने पोलिटिक्समा जति प्रोग्रेसिभ कुरा गरे पनि व्यवहारमा त्यो लागु गरेको देखिदैन । समाजमा जति प्रोग्रेसिभ कुरा गरे पनि त्यो व्यवहारमा लागु गरेको देखिदैन । केपी ओलीसँग माग गर्दा एकदम राम्रो तर लालबाबुसँग माग्नु पर्दा कमजोर हुन्छ । त्यसैले यो कुरामा प्रष्ट हुनु आवश्यक छ ।
(राजधानीमा बुद्धिजीवीहरुसँगको एक छलफलमा विश्लेषक तुलानारायण साहले जसपा नेपाललाई दिएको सुझावको सम्पादित अंश) 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.