शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रानीपोखरीको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न

शुक्रबार, १२ भदौ २०७७, १८ : ३१
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ ।   गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो । कारोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन । निर्माणअन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुर र सौन्दर्य अभिवृद्धिको काम भइरहेको छ ।  अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 

गत जेठको पहिलो सातादेखि नै  निर्माणको काम शुरु गरिए पनि कामदार अभावका कारण गति लिन सकेको थिएन, अहिले पनि थोरैको सङ्ख्यामा मात्र कामदारले काम गरिरहेका छन् । हाल काम गरिरहेका कामदारले नै निरन्तर काम गर्न पाए आगामी असोजसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । बन्दाबन्दीअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । हाल ३२  कामदारले मात्रै काम गरिरहेका छन् । 

पानी राख्न केही समय लाग्ने  
 
गत साउनको दोस्रो साता नै पोखरी निर्माण सम्पन्न भइसकेको थियो  । त्यसमा पानी राख्न केही समय लाग्नेछ । अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाईस्कुल र त्रिचन्द्र कलेजबाट आकासको पानी सङ्कलन गरी पोखरीमा रािखिएको छ । दीर्घकालिन रुपमा ती पोखरीमा पानी कहाँबट राख्ने भन्ने बारे छलफल भइरहेको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।  

“रानीपोखरी आसपासबाट बोरिङ्मार्फत पानी ल्याउने तयारी भएपनि स्थानीय र सम्पदा विज्ञहरुको अवरोधले काम अघि बढाउन सकिएको छैन्”, उनले भने,  “अब मेलम्चीको पानी राख्ने तयारी छ । त्यसका लागि केही समय कुर्नुपर्छ ।” विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।  

कोरोना भाइरस सङ्क्रमणका कारण केही समय ढिला भएपनि आगामी असोज महिनाभित्र पोखरीको पुनः निर्माणको कामले पूर्णता पाउने प्राधिकरणको दावी छ ।     सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो । प्राधिकरणले मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गरी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।    

पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ । राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । 

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीको निर्माण  करीब पाँच वर्षभित्र अर्थात ने सं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो ।  नेसं ७९० (वि.सं. १७२७)ई.सं. १६७० मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाइएको पाइन्छ । सोमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर,उत्तर–पूर्व कुनामा भैरबको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप