शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अवरुद्ध बेँसीशहर­–चामे सडक सञ्चालन

बुधबार, ३१ भदौ २०७७, २३ : ०२
बुधबार, ३१ भदौ २०७७

लमजुङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षासँगै बुधबार बिहान आएको बाढीपहिराले अवरुद्ध बेँसीशहर­ चामे सडक साँझ ८ बजेदेखि पुनः सञ्चालनमा आएको छ । पहिराले अवरुद्ध लमजुङ र मनाङ जोड्ने बेँसीशहर­–चामे सडक सडकखण्डको बेँसीशहर नगरपालिका­६ खरखरे भीरमा गएको पहिरो हटाइएसँगै सडक पुनः सञ्चालनमा आएको डुम्रे­बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ । 

खरखरे भीरमा सडकमाथिबाट पहिरो आउनाका साथै करिब २० मिटर सडक भासिएर अवरुद्ध भएको थियो । करिब छ घण्टा लगाएर डोजरले पहिरो हटाएको उक्त कार्यालयका सव­इन्जिनियर सुमन अधिकारीले बताए । सडक तल भासिएकाले उकास्न असम्भव भए पनि सडकको भित्तापट्टिको भाग खोतलेर सडक बनाएर सवारी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । यतिबेला सडक खुले पनि फेरि पानी आएमा अवरुद्ध बनाउन सक्नेछ । अवरुद्ध यस सडक करीब १५ घण्टापछि खुलेको हो ।

त्यस्तै यस सडकअन्तर्गत यस नगरपालिकै वडा नं. ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको थियो । बाढीले सडकमा ढुङ्गाहरु थुपारेर अवरुद्ध बनाएपनि सो स्थानमा समेत डोजरले ढुङ्गा हटाएपछि दुबै स्थानको अवरोध हटेपछि सहजरुपमा सकड सञ्चालन भइरहेको कार्यालयका सव­इन्जिनियर अधिकारीको भनाइ छ । 

सडक अवरुद्ध हुँदा रोकिएका ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारीसाधन सञ्चालनमा आएका छन् । पैंसठ्ठी किलोमिटरको सो सडकमा वर्षेनी वर्षायाममा सडकका विभिन्न स्थानमा पहिरो जाने र सडक भासिने गर्नाले समस्या हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप