केन्द्रीय संस्करण

अहिंसाको महाबल : क्षमा र प्रार्थनाबाट प्राप्त ऊर्जा

person explore access_timeअसोज १६, २०७७ chat_bubble_outline0

भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धीको सम्झनामा र सम्मानमा संयुक्त राष्ट्र सङ्घले यता केही वर्षदेखि अक्टुबर २ लाई विश्व अहिंसा दिवसको रूपमा मनाउन थालेको छ । जब जब हामी हिंसाबाट प्रताडित हुन्छौँ तबतब हामी अहिंसाका पुजारी महात्मा बुद्धको याद गर्दछौँ र पछिल्लो पटक अहिंसाका लागि आफ्नो ज्यान नै विसर्जन गरेका भारतका राष्ट्रपिता महात्मा गान्धीको याद गर्दछौँ । नेपाललाई जहानियाँ शासनमा सदैव जकडेर राख्न अङ्ग्रेजहरूको पनि सहयोग रहेकोले धेरै नेपालीहरूले गान्धीको अङ्ग्रेजलाई भारतबाट हटाउने आन्दोलनमा भाग लिएका थिए । त्यसैले नेपालको प्रजातन्त्र प्राप्तिका  लागि पनि उहाँ एक प्रेरणाका स्रोत हुनुहुन्थ्यो । 

नेपालमा आज एउटा निःस्वार्थ रूपमा अहिंसाका लागि सहादत दिन पनि पछि नपर्ने तर सत्यका पक्षमा अडिग रहने गान्धीको आवश्यकता परिरहेको छ । राजतन्त्रको अन्त्यपछि र गणतन्त्रको स्थापनापछि नेपालको राजनीतिले केके न कोल्टे फेर्ला र आमूल परिवर्तनको मेवा खान पाइएला भनेको त स्थिति पहिलेको भन्दा पनि झन्झन् बिग्रँदै गएको आभास हुन्छ । झन् शान्ति प्रक्रियाका सहयात्रीहरूमै अद्भुत प्रकारको विभाजन पैदा भएको छ । हिजो सँगै बसेर र लडेर शान्ति प्रक्रियामा  लाग्नेहरूमा  नयाँ विभाजन देखिएको छ । एउटै शान्ति प्रक्रियालाई हेर्ने दृष्टिकोणमा फरक फरक प्रक्रिया र परिणामको अनुमान गर्नेहरू अहिले सत्ताका लागि एउटै डुङ्गामा सवार भएका छन् । 

सत्तामा रहने र विपक्षमा रहनेहरू पहिले एउटै सिक्काका दुई पाटा बनेका थिए तर अहिले अविश्वासको बादल मडारिएको देखिँदैछ । सबैमा अविश्वास देखिएको छ र विश्वासको सङ्कट देखापरेको छ । एकअर्काका बीचमा विश्वासको सङ्कट यसरी गहिरिएको छ कि त्यसको पूर्वानुमान लगाउन पनि मुस्किल परिरहेको छ । दलहरू आन्तरिक विवादको भुमरीमा फसेका छन् । यसो हुनुमा राजनीतिलाई नैतिकताको धरातलमा भन्दा स्वार्थको तराजुमा जोख्नेहरूको बिगबिगी बढेको बेला छ । 

स्वर्गीय मोहनदास करमचन्द गान्धी हाम्रो छिमेकी देश भारतका राष्ट्रपिता हुनुहुन्छ । उहाँ भारतको राष्ट्रपति पनि बन्नुभएन, प्रधानमन्त्री पनि बन्नुभएन, गभर्नर जनरल पनि हुनुभएन तर भारतलाई औपनिवेशिक जन्जिरबाट स्वतन्त्र गराउन सक्षम हुनुभएकाले उहाँलाई कृतज्ञ भारतीयहरूले राष्ट्रपिता मान्छन् । महान् भारतीय जनतालाई औपनिवेशिकताको कठोर काराबासबाट उन्मुक्ति दिन गान्धीले अहिंसाको अत्यन्त धारिलो हतियार प्रयोग गर्नुभयो ।  हजारौँ ट्याङ्क, लाखौँ बन्दुक र करोडौँ गोलीसँग लड्न उहाँले सत्य र अहिंसाको दुईधारे हतियार प्रयोग गर्नुभयो । जुन उदारता र महानताका साथ अफ्रिका र भारतलाई गान्धीले नेतृत्व गर्नुभयो । त्यसैले पोरबन्दरको एउटा बालक एक दिन महान् भारतको महात्मा गान्धी बन्नुभयो, राष्ट्रपिता बन्नुभयो । विशाल अफ्रिकाका उद्धारक बन्नुभयो, भूगोलको सीमा चिरेर संसारका उत्पीडित तथा स्वतन्त्रता चाहनेका लागि नै स्वाभिमानी, स्वतन्त्रताप्रेमी, लोकतान्त्रिक मूल्य र मान्यताको धरोहर र अहिंसाको ज्वलन्त द्योतक भएर  विश्व समुदायमा अनुप्राणित हुन पुग्नुभयो । 

महात्मा गान्धी वाणीविहीनको वाणी बन्नुभयो, करोडौँ, अरबौँ दुःखी, घरबारविहीन तर स्वतन्त्रताप्रेमी उन्नायकहरूका लागि ज्युँदो ईश्वरका रूपमा प्रेरणाका स्रोत बन्नुभयो । उहाँ भन्नुहुन्थ्यो– मलाई विश्वास छ, हिंसाको तुलनामा अहिंसा अनन्तरूपले माथि हुन्छ । दण्डको तुलनामा क्षमा नै धेरै मानवोचित वा मान्छेप्रति न्याय गर्ने एउटा सबल आधार हुन्छ । क्षमा र प्रार्थनाले जुन ऊर्जा दिन्छ त्यही नै जीवनका लागि मार्ग दर्शक ज्योति हुन्छ । 
संसारभर चर्चित छ उहाँका ३ वटा बाँदरहरूको कथा । एउटाले कान थुन्छ, एउटाले आँखा बन्द गर्छ र अर्कोले मुख थुनेर बस्छ । साङ्केतिक अर्थ के लगाइएको छ भने मुख बन्द गरेर बस्नु भनेको खराब कुरा नगर, असत्य नबोल । नराम्रो कुरा नहेर्नका लागि आँखा बन्द गरेको सङ्केतले बताउँछ । अनि कान बन्द गर्नु भनेको नराम्रो कुरा सुन्नु नपरोस् या कसैले नभनोस् । सुन्नै नपरोस् । 

सातवटा सिद्धान्तको कुरा गर्नुभयो गान्धीेले जुन आज पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ सुशासनका लागि, राज्य नीतिका लागि र पारदर्शिताका लागि  । बिना परिश्रमबाट  प्राप्त सम्पत्ति, विवेक बिनाको सुख सयल, चरित्र बिनाको ज्ञान, नैतिकता बिनाको व्यापार, मानवता बिनाको विज्ञान, त्याग बिनाको धर्म र सिद्धान्त बिनाको राजनीति । गान्धीको जीवन नै सबैका लागि आदर्शको रह्यो किनभने उहाँले आफ्नो जीवनभर आफ्ना सिद्धान्तमा कतैकहीँ सम्झौता गर्नु भएन । 

अहिले विश्वभर हिंसात्मक द्वन्द्वले अनावश्यक महत्त्व पाएको छ । हिंसा र द्वन्द्वका सहारामा विश्व जित्ने, राष्ट्र जित्ने, व्यक्ति तथा समुदायहरूलाई आतङ्कित बनाई आफ्नो अभीष्टता पूरा गर्ने लहर चलेको छ । हाम्रो दक्षिण एसिया एक प्रकारले आतङ्कवादद्वारा आक्रान्त छ । स्वयं गान्धीको देश भारत हिंसा–द्वन्द्व—आतङ्कबाट कति प्रभावित छ भने त्यसबाट हुने क्षतिको पूर्ति हुनै सक्दैन । 

अहिले विश्वभर गान्धीको सम्झना सबैलाई आउन थालेको छ । विश्व समुदायको प्रतिनिधि संस्था संयुक्त राष्ट्रसङ्घले पनि अन्तर्राष्ट्रिय रूपमा अहिंसालाई संस्थागत संस्कृतिको स्वरूपमा आत्मसात गर्न अक्टुबर २ लाई गान्धी दिवस अथवा अहिंसा दिवस मनाउने निर्णय गरेको छ । यसले पनि अहिंसालाई विश्व समुदायले महत्त्वपूर्ण रूपमा हेरेको प्रमाणित हुन्छ । यो अहिंसाको महत्त्व बढेको नै आजको हिंसात्मक प्रवृत्तिको विस्तारका कारणले हो । आज विश्वभर सामाजिक न्याय प्राप्त गर्नका लागि अहिंसाले मात्र सम्भव छ र अहिंसाबाट प्राप्त उपलब्धि कहिल्यै गुम्दैन भन्ने विश्वास बढ्न थालेको छ । यो विश्वास गान्धीको देन हो र बिसौँ र एक्काइसौँ शताब्दीका लागि यो गान्धीको उपहार पनि हो । उत्तरआधुनिक कालका बुद्धका रूपमा गान्धीलाई नै लिन सकिन्छ ।

अब मोहनदास करमचन्द गान्धी—महात्मा गान्धी भारतको मात्र नेता, राष्ट्रपिता वा दार्शनिक रहनु भएन । उहाँ नेल्सन मन्डेलाका पनि प्रेरक व्यक्तित्व हुनुहुन्छ । जोन एफ केनेडी, मार्टिन लुथर किङ् जुनियर, बीपी कोइराला, गणेशमान सिंह, जवाहरलाल नेहरू, बिली ब्रान्ट, आङ साङ सुकी आदि अहिंसावादी हजारौँ, लाखौँ नेताको, भोकले पीडित, द्वन्द्वपीडित, हिंसापीडित, रङ्गपीडितहरूको दुःख खप्ने प्रेरणाका स्रोत हुनुहुन्छ । 

गान्धीको जनताप्रति अगाध आस्था र प्रेम थियो । सत्य र अहिंसाप्रतिको अविचल आस्थाले बरु सहिद हुन रुचाउनु भयो तर कसैसँग असत्यको पक्षमा घुँडा टेक्नु भएन । आफ्नो आस्था विरुद्धमा । उहाँलाई एउटा ज्योतिर्मय अन्तर्दृष्टि भएछ– सहादत प्राप्त गर्नुभन्दा दुई दिनअघि मात्र भन्नुभएथ्यो– मलाई कसैले गोली हानेर मार्छ भने पनि म उसलाई छेक्ने पनि छैन । म उसलाई दण्डको भागी गराउन सिफारिस पनि गर्दिनँ र ऐया पनि भन्दिनँ । यो भनाइ २८ जनवरी १९४८ को थियो । ३० जनबरी १९४८ मा जब उहाँलाई नाथुराम गोड्सेले गोली हान्दा मात्र उहाँका मुखबाट अन्तिम शब्द ‘हे राम ! हे राम !! हे राम !!!’ मात्र निस्कियो । यो नै एउटा महात्माको महानिर्वाण थियो र गोलीको बदला क्षमा थियो । यो सुन्दा कुनै रोमाञ्चकारी दन्त्यकथा जस्तो लागे पनि यस्ता महापुरुष हाम्रै छिमेकमा अवतरित हुनुहुन्थ्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि पनि उहाँ एउटा प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो भन्दा हामीलाई झन् उहाँप्रति श्रद्धा जागेर आउँछ । यसैलाई भन्नुपर्ने हुन्छ अहिंसाको महाबलले जुन ऊर्जा प्राप्त हुन्छ त्यो ऊर्जाको स्रोत भनेको क्षमा र प्रार्थना हो भन्ने प्रमाणित हुन्छ गान्धीको जीवनबाट । 

एउटा गलत भुललाई हजारौँ पटक ठीक भएको भने पनि त्यो वास्तवमा सत्यमा परिणत हुन सक्दैन र एउटा सत्यलाई लाखौँ पटक तोडमोड गरे पनि भुल वा असत्य सावित अन्ततः हुँदैन । सत्यका वरिपरि झुटको रक्षाकवच हुने गर्दछ भन्ने चर्चिलको चर्चित भनाइ यहाँ याद आउँछ । यसलाई भेदन गर्न पनि सत्यलाई राम्रोसँग पहिचान गर्नुपर्छ । 

एउटा महात्मा गान्धीले  अफ्रिकालाई दासताबाट मुक्त गर्ने साहसको बीजारोपण गर्नुभयो । भारतलाई स्वतन्त्र बनाउन सक्नुभयो । विश्वका करोडौँ शोषित, पीडित, घरबारविहीन सर्वहारालाई मान्छे भएर बाँच्न सिकाउनु भयो । सत्य र अहिंसाको उच्च मूल्याङ्कन गर्ने प्रक्रिया सिकाएर जानुभयो । स्वाभिमानका साथ जीवन बाँच्ने अहिंसाको पाठ पढाएर जानुभयो । जीवनको स्वतन्त्रताभन्दा ठूलो अर्को सत्य छैन भन्ने जीवन दर्शन घोकाएर जानुभयो । 
हाम्रा मित्र देश भारतका राष्ट्रपिताप्रति हामीले यसकारणले पनि नतमस्तक भएर अहिंंसाको पाठ सिक्नुपर्दछ कुनै पनि राज्यको जनताका आधारभूत आवश्यकता अहिंसा र शान्तिबाट मात्र पूरा हुन सक्दछन् जसलाई  आधुनिक राजनीतिमा ‘शान्ति र अहिंसाका लागि’ जनताको मनोबल बढाउने संयन्त्रका रूपमा लिइन्छ ।

महामानव महात्मा गान्धीको आत्माले शान्ति पाइरहोस् र संसारभर संयुक्त राष्ट्रसङ्घमार्फत अहिंसाको सुवास फैलिरहोस् यस अन्तर्राष्ट्रिय अहिंसा दिवसले । नेपालको दिगो शान्ति भनेको अहिंसामा नै जोडिएको छ । गान्धीजीबाट हामीले सिक्ने पाठ भनेको पनि सम्भवतः यही हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.