शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज–बेलायतबाट इराक स्वतन्त्र

शनिबार, १७ असोज २०७७, १२ : २७
शनिबार, १७ असोज २०७७

१९३२ मा इराकले लिग अफ नेसन्सको सदस्यता लिएसँगै स्वतन्त्र राष्ट्रको हैसियत पायो । त्यसअघि झन्डै १७ वर्षसम्म इराक बेलायतको अधिनमा थियो । बेलायतीहरु आउनुपूर्व शताब्दीऔंदेखि यो अरब राष्ट्र अट्टोमन साम्राज्यको हिस्सा थियो । 

पहिलो विश्वयुद्धका दौरान अट्टोमन टर्कीलाई हराएर बेलायतले इराकी भूमी कब्जामा लिएको थियो, त्यसपछि १९२० मा लिग अफ नेसन्सले यस देशमा शासन गर्नका लागि बेलायतीहरुलाई कार्यभार सुम्पिएको थियो । बेलायतको संरक्षणमा यहाँ हासिमिते राजतन्त्र स्थापनागरियो अहिले ३ अक्टुबर १९३२ मा इराक अधिराज्यलाई स्वतन्त्रता दिइयो । 

यसपछि पनि बेलायतसँग इराक सरकारको नजिकको आर्थिक र सैन्य सम्बन्ध कायमै रह्यो, जसले  बेलायत विरोधी जनप्रदर्शनमा आगो थप्यो । १९४१ मा विश्वयुद्ध सुरु हुनअघि धुरी राष्ट्र (जर्मनी,ईटली र जापान) पक्षधरहरुले यहाँ विद्रोह गरे, फलस्वरुप हस्तक्षेपका लागि फेरि बेलायती सैनिक आयो । अनि, इराक सरकारले मित्र राष्ट्रका पक्षमा आफ्नो समर्थन दियो । १९५८ मा इराकमा राजतन्त्र समाप्त भयो र त्यसपछि दुई दशकसम्म कहिले सैनिक त कहिले निर्वाचित सरकारहरुले देश हाँके ।

१९७९ मा जनरल सद्दाम हुसेन राष्ट्रपति बने, उनले २४ वर्षसम्म यहाँ एकछत्र राज गरे । २००३ मा अमेरिका नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेर सत्ताच्युत गर्नुअघि उनी इराकका सर्वशक्तिमान् व्यक्ति थिए । सद्दामको बर्हिगमनपछि सुरु भएको राजनीतिक संकट अझै समाप्त भएको छैन ।

२०१४ मा आईएसआईएसले यहाँको जमिनको ठूलो हिस्सा कब्जामा लियो । पहिल्यै द्वन्द्वमा फसेको इराकका लागि यो निकै ठूलो दुःख बन्यो, त्यसयता इराक अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल गर्ने थलो बनेको छ । हिंसाकै चपेटामा परेर यहाँ लाखौं मानिसले ज्यान गुमाइसकेका छन्, दशौं लाख घर छाडेर अन्यत्र हिँडेका छन् । २००६ पछि राष्ट्रपति बनेका गाजी मसाल अजिल अल यावेर, जलाल तालावानी र फउद मसुम समस्या समाधानमा असफल भए । २०१८ देखि बर्हम सलिह राष्ट्रपति छन् । तर, यहाँ अस्थिरता र हिंसा समाप्त भएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप