शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको घटना ढाकछोप गर्न पञ्चायती, ५ लाखमा साटिएको थियो किशोरीको इज्जत

मुख्य अभियुक्तसहित ८ जना मतियार पक्राउ
आइतबार, १८ असोज २०७७, १८ : ००
आइतबार, १८ असोज २०७७

काठमाडौँ । सिरहामा १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्तसहित ८ जना मतियार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य अभियुक्त विष्णुपुर नगरपालिका– १ विष्णुपुरका २० वर्षीय मुकेश कुमार साह हुन् ।

त्यस्तै मतियारहरु विष्णुपुर नगरपालिका– १ का ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्द कुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४१ वर्षीय रामउदागर यादव, ६१ वर्षीय जगरविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव पक्राउ परेका हुन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालल सिरहाको संयुक्त टोलीले उनीहरुलाई सिरहाको विभिन्न ठाउँबाट पक्राउ गरेको प्रदेश प्रहरी प्रमसख डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए । पक्राउ परेका ९ जनामाथि कानुन बमोजिम आवश्यक कारबाही हुने डीआईजी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के थियो घटना ?
असोज १२ गते ती किशोरी बलात्कृत भएकी हुन् । घर नजिकैको गोठमा मुकेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको डीआईजी सिंह बताउँछन् ।

गोठमा गएकी ती किशोरीलाई मुकेशले अन्दाजी ५ बजेको समयमा बलात्कार गरेको प्रहरीको भनाइ छ । मुकेशले ती किशोरमाथि पहिलेदेखि नै गिद्दे नजर लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गोठमा ती किशोरीलाई देखेपछि मुकेशले शारीरिक सम्बन्ध राख्नको लागि फकाउन खोजे । ती किशोरीले उनको प्रस्तावलाई सिधै इन्कार गरिन् । इन्कार गरेसँगै मुकेशले जबरजस्ती बलात्कार गरेको प्रहरीसमक्ष किशोरीले बताएकी छन् ।

जबरजस्ती गरेपछि मुकेश आफ्नो घरतिर लागे । साँझतिर किशोरी पनि रुँदै घर पुगिन् । घरमा पुगेलगत्तै परिवारलाई आफू बलात्कृत भएको बताइन् ।

सोही दिन राती ८ बजे गाउँतिर हल्ला फिजियो । घटनालाई ढाकछोप गर्नुपर्ने भन्दै शत्रुधन साहको घरमा पीडितको परिवार र मुकेशको परिवारलाई बोलाइयो ।

अभियुक्तलाई उन्मुक्ति दिने उद्देश्यले गाउँघरमै मिलाउने भन्दै गाउँका केही मानिसहरुको संलग्नतामा पञ्चायती (बैठक) बस्यो । गाउँको घटना गाउँमै मिलाउनुपर्ने भन्दै ती किशोरीको परिवारलाई आश्वस्त पारियो ।

पञ्चायती बसेका मानिसहरुले पीडितको परिवारलाई ५ लाख दिने भन्दै सहमति गरायो । डीआईजी सिंहकाअनुसार पञ्चायतीले ५ लाखमा ती किशोरीको इज्जत साट्यो ।

पीडक साहको आफन्त ऋणीद्वय सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाखको कपाली तमसुक कागज समेत गराई जगवीर यादवको जिम्मामा मिलापत्र गराइएको खुलेको डीआईजी सिंहले बताए ।

बलात्कार जस्तो अपराधलाई मिलापत्र गरेको खबर तत्कालै प्रहरीमा पुग्यो । बलात्कार जस्तो जघन्य अपरा मिलापत्र गर्न नपाइने कानुनी व्यवस्थामा उल्लेख छ ।

सोही कानुनी व्यवस्थाको आधारमा बलात्कारजस्तो जघन्य अपराध दबाउन खोजेका मतियार र मुख्य अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको डीआईजी सिंहको दावी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप