केन्द्रीय संस्करण
नीतिकथा

झुटो बोल्यो कि पोल्यो

person explore access_timeकात्तिक १५, २०७७ chat_bubble_outline0

 

 

 

एउटा गोठालो केटो थियो । ऊ अल्छे थियो । पढ्न मन गर्दैन थियो । उसको बानी व्यहोरा पनि राम्रो थिएन । अरूलाई दुःख दिँदा उसलाई मज्जा लाग्थ्यो ।

एक दिनको कुरा हो । ऊ गाउँ नजिकैको जङ्गलमा खसीबाख्रा चराइरहेको थियो । जङ्गल नजिकैका खेतबारीमा मानिसहरू काम गरिरहेका थिए । त्यो गोठालो केटाको मनमा गाउँलेलाई दुःख दिने कुविचार पलायो । ऊ रुखमा चढ्यो र ठूलो स्वर निकालेर चिच्यायो– ‘गुहार ! गुहार ! लौ न मलाई बचाउनुहोस्, बाघ आयो ।’

खेतबारीमा काम गरिरहेका गाउँलेहरुले उनको आवाज सुने । उनीहरु हत्तपत्त हातमा लठ्ठी, कोदालो, खुर्पा बोकेर गोठालो भएरतिर दौडिए । तर त्यहाँ त बाघ थिएन । खसीबाख्रा मजाले चरिरहेका थिए । गोठालो भने रुखमा बसेर हाँसिरहेको थियो । गाउँलेहरु रिसाए । उसलाई गाली गरे । गाउँलेहरुले दुःख पाएको देख्दा गोठालो केटो खुसी भयो । गाउँलेहरु पनि अनावश्यक दुःख दिएकोमा उसलाई गाली गर्दै काममा फर्किए ।

केही दिन पछिको कुरा हो । त्यो गोठालोले फेरि रुखमा चढेर त्यसरी नै गुहार माग्यो । गाउँलेहरु हत्तपत्त उसलाई मद्दत गर्न भनेर गए । तर यस पटक पनि त्यहाँ बाघ थिएन । गाउँलेहरु त्यो गोठालोलाई त्यसरी दुःख नदिन सम्झाउँदै काममा फर्किए ।

यसरी त्यो गोठालोले झुक्याउने र गाउँलेहरु पनि झुक्किने क्रम केही समय चलिरह्यो ।

गोठालो केटाको बानीबाट गाउँले वाक्कदिक्क भए । उनीहरुले त्यसको कुरा सुन्न र पत्याउनै छाडिदिए ।

एक दिनको कुरा हो । गोठालो केटोले खसीबाख्रा चराइरहेको ठाउँमा साँच्चै नै बाघ आयो । गोठालो केटो नजिकैको ठूलो ढुङ्गामाथि चढेर चिच्यायो– ‘गुहार ! गुहार ! लौ न मद्दत गर्नुहोस्, बाघ आएर मेरा खसीबाख्राहरु खान थाल्यो ।’

गाउँलेहरुले गोठालो केटो चिच्याएको त सुने तर पत्याएनन् । बाघले त्यो गोठालो केटाको थुप्रै खसीबाख्रा खाइदिए । धन्न, त्यो केटा चाहिँ ठूलो ढुङ्गामाथि चढेको हुनाले उसको ज्यान बच्यो । पेटभरि टन्न खसीबाख्रा खाइसकेपछि बाघ जङ्गलतिर लाग्यो ।

गोठालो केटाको सातोपुत्लो उडेको थियो । बाघ फर्केको निक्कै बेरपछि मात्रै ऊ ढुङ्गाबाट ओर्लियो । बाघको डरले भागेका खसीबाख्रा पनि उसले सम्हाल्न सकेन । ऊ रुँदै रुँदै घरतिर फर्क्यो । ऊ रोएको देखेर गाउँलेहरुले किन रोएको भनेर सोधे । गोठालो केटाले पनि बाघले आफ्ना खसीबाख्रा खाइदिएको कुरा रुँदै बतायो । गाउँलेले उसलाई भने, तैँले पहिले हामीलाई झुक्याउँदै दुःख नदिएको भए हामी आज मद्दत गर्न आउँथ्यौँ होला । तर तैँले पहिले दुःख दिएको हुनाले हामीलाई तेरो कुरामा पत्यार नै लागेन । त्यही भएर तैँले गुहार मागेको त सुनेका थियौँ तर विश्वास नलागेर वास्ता गरेनौँ ।’

यसरी अरूलाई दुःख दिने, झुटो बोल्ने बानीका कारण त्यो गोठालो केटोले आफ्ना खसीबाख्रा गुमायो । त्यस घटनाबाट उसले ठूलो पाठ सिक्यो । उसले अबदेखि कहिल्यै पनि झुटो नबोल्ने, अरूलाई दुःख नदिने निर्णय गर्यो ।  

Title Photo: https://4.bp.blogspot.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.