शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई प्रचण्डको प्रश्नः कसले माग्यो तपाईंको राजीनामा ?

बिहीबार, २० कात्तिक २०७७, १५ : ४०
बिहीबार, २० कात्तिक २०७७

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्माओली पार्टीमा उठेका विषयहरुबारे बैठक राखेर समाधान खोज्न अझै तयार नभएपछि नेकपाको विवादले कस्तो रुप लिने हो भन्ने अनिश्चित बनेको छ ।  ५ दिनपछि बिहीबार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डसँगको सम्वादमा ओली पार्टी कमिटीको बैठक राख्न सहमत नभएका हुन् । 

श्रोतका अनुसार बिहीबारको भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार आफ्नो राजीनामा मागिएकाबारे दिएको अभिव्यक्ति के हो ? भनेर प्रश्न गरेका थिए ।  ‘तपाईले राजीनामा मागियो भनेर बेप्रशांगिक कुरा गर्नुभएछ बुधबार । तर अहिले कसैले राजीनामा नै मागेको छैन’, ओलीसँगको संवादपछि प्रचण्डले आफु निकट एक स्थायी समिति सदस्यसँग बताएका छन् । 

‘स्थायी समिति बैठकका निर्णय नै कार्यन्वयन गरौं भनेर मैले बारम्बार भन्दै आएको छु । साथीहरुको भनाई पनि त्यही छ । तर तपाईले त राजीनामा मागियो भनेर जुन प्रचार गर्नुभएछ त्यो ठिक होइन’, प्रचण्डको भनाई थियो ।  प्रचण्डले पुनः स्थायी समितिको निर्णय कार्यन्वयन गरे समस्या समाधान हुने भन्दै यस्ता बकम्फुसे कुरा नगर्न ओलीको ध्यानाकर्षण समेत गराएका थिए । 


‘यस्ता बकम्फुसे कुरा नगर्नुस् । यदि तपाईंको कसैले राजीनामा मागे भनेपनि पार्टी कमिटीको बैठकमा छलफल गरौं,  त्यही राखेर त्यही छलफल गर्दै अगाडि बढौं’, प्रचण्डको भनाई थियो ।  त्यसैगरी एक नम्बर प्रदेशका नेताहरुलाई जुम भेलामा ओलीले जवजलाई अघि बढाउन दिएको निर्देशनप्रति पनि भेटमा प्रचण्डले आपत्ति जनाएका थिए । 

‘एक नम्बर प्रदेशको जो भेला गर्नुभयो, त्यो पनि तपाइको पार्टी एकता विरोधी काम भयो । पार्टी एकता घोषणा गर्दा हामीले जे कार्यक्रम तय गरेका छौं,त्यसविरुद्ध भयो । यसले राम्रो गर्दैन’, प्रचण्डले ओलीको ध्यानाकर्षण गराएका थिए ।  प्रचण्डले आफ्ना कुरा राखेपनि ओलीले भने कुनै जवाफ नदिएको ओलीनिकट श्रोतले जनाएको छ । 

‘कार्यकारी अध्यक्षले आफुलाई मनमा लागेको कुरा प्रधानमन्त्री समेत रहनुभएका ओलीसँग राख्नुभयो । उहाँको जोड बैठक राख्न नै थियो । तर प्रधानमन्त्रीज्युले कुनै जवाफ दिनु भएन’, ओली निकट स्रोतले रातोपाटीलाई बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप