शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुर सिमेन्ट र औषधी लिमिटेडको महाप्रबन्धक नियुक्तिको तयारी

बिहीबार, ११ मङ्सिर २०७७, २१ : ५७
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । उदयपुर सिमेन्ट र नेपाल औषधि उद्योगको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढेको छ । दुवै उद्योगको कार्यकारी प्रमुखका लागि खुलाइएको विज्ञापनमा दरखास्त दिएका मध्येबाट महाप्रबन्धक पदमा नियुक्तिका लागि गठित समितिले योग्य ठहर्याएका व्यक्तिहरुलाई अन्तर्वार्ता तथा कार्ययोजनाको प्रस्तुतिका लागि बोलाएको हो । 

उदयपुर सिमेन्टको महाप्रबन्धकको लागि दरखास्त दिएकामध्ये ९ जनाको नाम छनौट गरिएको छ । छनौटमा पर्नेहरुमा विनोद अधिकारी, गोपीकृष्ण न्यौपाने, सञ्जयकुमार लाल, आनन्द नेपाल, ध्रुवबहादुर देवकोटा, अम्मरराज खैर, गोविन्दप्रसाद दाहाल, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार छन् । उनीहरुको अन्तवार्ताको लागि मंसिर १७ र १८ गते दिन तोकिएको छ । उम्मेदवारहरुलाई मन्त्रालयको सभाहलमा अन्तर्वार्ता लिने तयारी गरिएको छ । 

उदयपुर सिमेन्टमा करिब २ वर्षदेखि नेतृत्वविहीन छ ।  तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएर आएपछि २०७५ पुसदेखि यो पद खाली भएको हो । प्रधानमन्त्री र तात्कालिन मन्त्रीको मतभेदका कारण नयाँ नियुक्ति सफल हुन सकेको थिएन । नयाँ महाप्रबन्धक नियुक्त गर्न नसकेपछि मन्त्रिपरिषद्ले नवलकिशोर शाहलाई अर्को नियुक्ति नभएसम्मका लागि निमित्त महाप्रबन्धकको जिम्मेवारी तोकेको छ । तर, तदर्थ नेतृत्वकै कारण पौडेल महाप्रबन्धक हुँदा नाफामा गएको कम्पनी पुनः घाटामा बाटोमा छ । 
मातृका यादवको बहिर्गमनलगत्तै यो उद्योगमा नयाँ नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको थियो । तर, उदयपूर सिमेन्ट र हेटौंडा सिमेन्टलाई मर्जरमा लैजाने योजनापछि यो प्रक्रिया फेरि बीचमै रोकिएको थियो । 

उता, नेपाल औषधि उद्योग लिमिटेडको महाप्रबन्धकमा आकांक्षा देखाएकामध्ये ५ जनाको नाम छनौटमा पारिएको छ । विकास सुवेदी, मोहम्मद सफी उल्लाह, भुपेन्द्रप्रसाद अर्याल, बाबुराम हुमागाइँ, अर्जुन अर्याल र रामकुमार थापालाई कार्ययोजनाको प्रस्तुतिका लागि बोलाइएको हो । उनीहरुको प्रस्तुति मंसिर १९ गते हुनेछ । 

मन्त्रालयले गठन गरेको समितिले दुवै पदको लागि भदौ १ गते आवेदन खुला गरेको थियो । त्योबेल २१ दिनको समय दिएर प्रस्ताव आह्वान गरे पनि करिबसर्टलिष्टिङका करिब ३ महिनाको समय लागेको हो । 
यो कम्पनी २०७५ मंसिरदेखि नेतृत्वविहीन छ । तात्कालिन महानिर्देशक रोभसकुसुम सुवेदीले राजीनामा दिएपछि यो पद रिक्त भएको हो । सो कम्पनीमा हाल विजयश्री रत्न बज्राचार्यले औषधि लिमिटेडको निमित्त निर्देशको जिम्मेवारी सम्हालिरहेका छन् । 

सो पदमा नयाँ नियुक्तिको लागि मन्त्रालयले अघिल्लो वर्ष जेठमै मन्त्रिषरिषदमा प्रस्ताव लगेको थियो । तर, उद्योगको त्यो प्रस्तावलाई मन्त्रिपरिषदले अघि बढाएन । फलस्वरुप करिब १५ महिना फाइल त्यहीँ अड्कियो । तर, पछि मन्त्रिपरिषद्ले यो फाइल फिर्ता गरेपछि नयाँ शिराबाट नियुक्ति प्रक्रिया सुरु गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप