
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग जोड्ने गल्ती नगरौंः डा भट्टराई

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका हुन् ।
चिनियाँ रक्षामन्त्री फेङ्हे आइतबार नेपालको एकदिने भ्रमणमा आएका थिए ।
रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. भट्टराईले छिमेकीहरुसँग नेपालको सम्पन्ध जहिलेपनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ने गल्ती गर्न नहुने बताए । उनले भने, ‘‘जहिलेपनि हामी स्वतन्त्र मुलुक हौँ । अर्को स्वतन्त्र मुलुकसितको सम्बन्ध स्वतन्त्र नै हो । त्यसलाई तेस्रो मुलुकसँग जोड्ने कुरा अगाडी बढायौँ भने हामी फस्छौँ । त्यो गलत हामीले गर्नुहुँदैन । नेपाल भारतको सम्बन्ध दुई मुलुकको स्वतन्त्र सम्बन्ध हो । नेपाल र चीनको सम्बन्ध पनि दुई मुलुकको सम्बन्ध हो । अन्य जुनसुकै मित्रराष्ट्रहरुसँगको सम्बन्ध पनि हाम्रो स्वतन्त्र सम्बन्ध हुन्छ ।’’
डा. भट्टराईले नेपाली सेनालाई वार्षिक रुपमा चीनले दिँदै आएको सहयोगको निरन्तरता बाहेक अन्य कुनै गतिविधि नभएको बताए ।
उनले भारतसँग सीमा विवाद लगायतका विषयमा परराष्ट्रमन्त्री स्तरिय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि बताए । उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सम्बन्धित कमिटीहरुमा छलफल गरी टुंगोमा पुग्नुपर्ने बताए ।
पूर्व रक्षामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले चीन र भारत दुबै देशलाई सँगै लिएर नेपालले आफ्नो हितका लागि काम गर्नुपर्ने बताए । नागरिक अगुवा सुन्दरमणि दिक्षितले नेपालका राजनीतिक दल र नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको हितका लागि सोचेर अगाडि बढ्न आग्रह गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ