आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचात्मक भ्रमण शुरु

मङ्गलबार, २३ मङ्सिर २०७७, १६ : १४
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचात्मक भ्रमण शुरु भएको छ । कोरोनाका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउने अभियानका साथ नेपाल पर्यटक यातायात व्यवयासी सघं गण्डकी प्रदेशले सोमबारदेखि तीनदिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको हो ।

संघले प्रदेश भित्रका एतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य, मठ मन्दिरहरुको भ्रमण योजना बनाएको छ ।  संघले प्रदेशको नवलपुर क्षेत्रको रामग्राम, त्रिवेणीधाम, वाल्मीकि आश्रम, शाश्वत धाम, मौलाकालिका, तनहुँको देवघाटलगायतका धार्मिक क्षेत्रको भ्रमण गर्दैछ । 

लामो समयदेखिको कोरोना कहरले धार्मिक पर्यटकीय क्षेत्रमा पारेको प्रभाव तथा आगामी दिनमा धार्मिक पर्यटनका गतिविधि कसरी चलायमान बनाउने भन्ने विषयमा सरोकारवालाबीच छलफल गरिने यस्तो भ्रमणको शुरुवात गरिएको नेपाल पर्यटक यातायात व्यवसायी सघंका अध्यक्ष बोबरजङ्ग गुरुङले बताए ।

 यस्तो भ्रमणले विदेशी पर्यटक आगमनको निश्चिता अझै नभइसकेको अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बोबरजङ्गको भनाईछ ।  सोमबार विहान प्रदेश राजधानी पोखराबाट शुरु भएको सो भ्रमण टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विदाई गरेका थिए । 

भ्रमण टोलीलाई विदाई गर्दै मन्त्री लम्सालले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउनु अहिलेको आवश्यकता भएको बताउदै अब सबै मिलेर यसमा लाग्नुपर्ने बताए । यसका लागि प्रदेश सरकार पूर्ण तयारीका साथ लागिसकेको उनले बताए । 

सोही अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोना कहरका बाबजुद स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाउँदै पर्यटन क्षेत्र चलायमान बनाउनुपर्नेमा जोड दिए । बोर्डले पर्यटन सम्बद्ध संघ संस्थासँगको सहकार्यमा नयाँ पर्यटन गन्तव्यको खोजी गर्ने समेत उद्घोष गरे ।

गण्डकी प्रदेशमा भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्ध गुरुङले कोरोनाका कारण गण्डकी प्रदेशले मात्र हाल दैनिक १३ करोड रुपैयाँ बराबरको घाटा व्यहोरिरहेको बताउँदै पर्यटन सम्बद्ध सबै क्षेत्रको सहकार्यमा प्रदेशको समग्र पर्यटन व्यवसाय पुनःउत्थानमा लाग्नु पर्नेमा जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप