ad
केन्द्रीय संस्करण

नेतृत्वको परीक्षा

आत्मकेन्द्रित त बनियाँ हो, कहाँको नेता हुनु नि !

person explore access_timeमंसिर २७, २०७७ chat_bubble_outline0

 

 

 

कुसिनारा । मध्यरातमा महाप्रायणको निम्ति बुद्ध प्रतीक्षारत थिए । भिक्षु र मल्लहरुले घेरिएर बसेका थिए । १२० वर्षको नेटो काटी सकेका परिव्राजक सुभद्रले यो खबर पाउन साथै उनमा बडो छटपटी भयो । उनले सोचे, बुद्ध जस्ता महापुरुष दिनहुँ कहाँ जन्मिन्छन्  र ?! 'धर्म सम्बन्धी ममा रहेका आशंका निवारण हुने मौका अब मिल्ला या न मिल्ला ?!'

यसर्थ उनी जुरुक्क उठेर बुद्धलाई भेट्न भनेर शालवन आए । आनन्दलाई भेटेर उनले भने, 'आनन्द, म बुद्धलाई भेटेर मेरा केही आशंका निवारण गर्न चाहान्छु ।' आनन्दले सम्झाए, 'सुभद्र ! यो भगवानसँग शंका निवारण गर्ने समय होइन । उहाँ यतिखेर निर्वाण शैय्यामा हुनुहुन्छ । अब उहाँलाई कष्ट नदिउँ ।'

सुभद्रले फेरि पनि आग्रह गरे । उनीहरुको विवाद बुद्धको कानमा पर्यो । बुद्धले आनन्दलाई भने, ' सुभद्रलाई आउन देऊ ।'

सुभद्र छेउमा पुगेर बुद्धको करुणामयी शान्त स्वरुप देख्न पुग्छन् । तथागत सुभद्रलाई उपदेश दिन्छन् । उनी प्रफुल्ल हुन्छन् ।  उनी बुद्धलाई अनुनय गर्छन्, 'भगवान मलाई भिक्षु संघमा शरण दिनुहोस् । मलाई भिक्षु बनाउनु होस् ।'

बुद्धले उनलाई सम्झाउछन्, ' संघको कायदा कानुनअनुसार अरु कुनै सम्प्रदायमा प्रवर्जित मानिस संघमा प्रवेश गर्न चार महिना कुर्नु पर्दछ ।'

सुभद्र आफ्नो अठोट सुनाउँछन्, 'चार महिना त के म चार वर्षसम्म प्रतीक्षा गर्न तैयार छु ।'

उनको यो उमेर र यस्तो अठोट देखेर बुद्धले आनन्दलाई अह्राए, ' उसो भए, आनन्द ! सुभद्रलाई अहिल्यै प्रवर्ज्या गर !'

यसरी सुभद्र बुद्धका अन्तिम शिष्य र आर्हत बने । लगत्तै त्यहाँ उपस्थित ५०० मल्लले पनि बौद्ध धर्म ग्रहण गरे ।

 तत्क्षण 'यो उमेरमा आफूले बुद्धको महाप्रायण आफ्नै आँखाको सामुन्ने हेर्नु वाञ्छित नहुने' ठानेर सुभद्रले बुद्धलाई अनुनय गरे, ' भगवान ! के म तथागतभन्दा अघि यस संसारबाट बिदा हुन सक्छु ?'

बुद्धले अनुमति दिए । त्यसको केहीछिनमै सुभद्र दिवंगत भए । यो सब देखेर सारा भिक्षु आश्चर्यचकित भए । बुद्धले तिनलाई एउटा कथा सुनाए ।

'उहिलेको कुरा हो । एउटा उपत्यकामा मृगहरुको थुम्बा (नाइके भाले) चरण गर्दथ्यो । उसका साथमा हजार मृगको बथान थियो । उ दुरदर्शी, चलाक र तीक्ष्ण बुद्धिको थियो ।

एकदिन एउटा शिकारीले उसलाई देख्यो । उसले राजालाई गएर सूचित गर्यो । राजा दलबलसहित आएर मृगका बथानलाई घेराबन्दी गरे ।

थुम्बाले सोच्यो– मैले सुरक्षा नदिने हो भने सब मृग मारिन्छन् । उसले नजिकै तेजधारमा बगिरहेको नदी देख्यो । उसलाई डर पनि भयो, नदीमा हामफाल्ने हो भने कतै बगाउने त होइन ?! तैपनि आफु बुरुक्क उफ्र्यो र नदीमा हाम फाल्यो । माझधारमा पुगेपछि अरुलाई आदेश दियो, 'तिमीहरु पनि हाम फाल, मेरो ढाडमा टेकेर अर्को किनारामा पुग्ने गरी । यो नै अन्तिम उपाय हो, नत्र सबका सब मारिन्छौं ।'

एकपछि अर्को गर्दै मृगहरु हामफाल्न थाले । मृगका तिखा खुरले उसको ढाड छियाछिया भयो । उ दाह्रा किट्दै सहिरह्यो । सबका सबले नदी पार गरे । तब पनि कोही बाँकी छन् कि भनेर एकसरो नजर लगायो । एउटा पाठो डराएर उतै रहेको देख्यो । फर्केर गएर  पाठोलाई पिठ्यूँमा राख्यो र नदी पार गरायो । सबै सकुशल उम्किन सकेकोमा उ कम्ता खुशी भएन ! उसले आफ्नो रगतपच्छे भएको ढाडको वेदना पनि बिर्स्यो । यो लरतरो बोधिसत्त्व होइन !'

‘हेर भिक्षु हो, ती मृग भनेका अरु कोही नभएर यिनै मल्लहरु हुन् । पाठो सुभद्र । म चाहिँ त्यै थुम्बा हुँ ।’

नेतृत्वको काम मार्गदर्शन गर्नु हो, अरुलाई तार्नु हो । कहाँ अरुको बुइँ चढ्नु हो र ?! ( आत्मकेन्द्रित त बनियाँ हो, कहाँको नेता हुनु नि ! )

मूल श्रोत : W. W. Rockhill, The Life Of The Buddha And Early History Of His Order फोटो : बुद्धिष्ट नेटवर्क

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.