शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

किसानका लागि यसरी अभिशाप बन्छन् चिनी मिल

उद्योगीलाई मोज, किसानलाई बोझ बन्छ उखु खेती
शुक्रबार, १७ पुस २०७७, ११ : ५७
शुक्रबार, १७ पुस २०७७

सर्लाही । उखुको वक्यौता भुक्तानीको माग गर्दै काठमाडौँमा भएको आन्दोलनमा सहभागी एक पात्र थिए नारायण राय यादव । सर्लाही जिल्लाको धनकौल गाविस–७, छोटौल घर भएका नारायणलाई गाउँमा ‘नारायण भगत’का नामले पनि चिनिन्छ ।

आन्दोलनमा उत्रिएका किसान सरकारबीच चार बुँदे सहमति भएसँगै नारायणको मनमा ठुलो ठेस लाग्यो र हृदयाघातका कारण मंगलबार उनको निधन भयो ।

बुधबार आफ्नै गाउँ नजिक घाटमा उनको अन्त्येष्टि भएको छ । तर उनको सपनाको भने अन्त्येष्टि हुन नदिने अठोट शोकाकुल परिवारको छ ।

६४ वर्षीय यादव वास्तविक किसान थिए । उनका तीन छोरा पनि कृषि पेशामै छन् । जेठो छोरा सियाराम, माइलो दिलाराम र कान्छो जियारामले पितालाई सघाउँदै कृषि पेशा नै अपनाए ।

जग्गाजमिन प्रशस्त भएर पनि खान–लाउन सकस झेल्दै आएको यो परिवारका लागि उखु बाली लगाउनु नै अभिशाप बन्यो । २० बिघा जमिन भएर पनि नगदे बालीका रुपमा मानिने उखु अधिकांश जमिनमा लगाउनका बाबजुद चार वर्षसम्म चिनी मिललाई उधारोमा उखु दिनु परेका कारण यो परिवारको आर्थिक अवस्था धरासायी बन्यो ।

यसरी ठग्छन् चिनी मिलले

नारायण राय यादवका छोरा सियारामका अनुसार २०७४ सालमा धनकौलस्थित अन्नपूर्ण सुगर मिललाई बेचेको उखुको भुक्तानी चार वर्षसम्म पनि प्राप्त नहुँदा परिवारमा आर्थिक संकट बढेको हो ।

उखु रोपेको दुई वर्षपछिमात्र सो जग्गा खाली हुन्छ । अर्थात्, रोपेको वर्ष दिनमा पहिलो पटक उखु काटिन्छ । पहिलो पटक उखु काटिसकेपछि अर्को वर्षका लागि त्यही उखुको जराबाट पलाएको उखु (खुटी)ले आम्दानी दिन्छ, जसका लागि नयाँ उखु रोपिरहन पर्दैन, खुटीलाई गोडमेल र मलखाद हाले पुग्छ ।

खुटीबाट उखु तयार हुन पनि वर्ष दिन नै लाग्छ । त्यसैले उखु रोपेको किसानसामू थोरैमात्र विकल्प रहन्छ । त्यही बाध्यताको फाइदा उठाएर चिनी मिलले किसानसँग उधारोमा उखु किन्ने गर्दछन् । किनकि काट्ने बेला भइसकेको उखु बेलैमा बेच्न नपाए बोटमै सुक्ने डरले किसानहरु जसोतसो चिनी मिललाई उखु जिम्मा लगाउने चटारोमा हुन्छन् । त्यही मौकाको फाइदा उठाएर चिनी मिलले उधारोमा उखु लिने गर्दछन् ।


नारायण राय यादव पनि चिनी मिलको यही प्रवृत्तिको सिकार भए । परिवारका १९ जना सदस्यको आवश्यकता पूर्ति गर्नुका साथै २० बिघा जमिनमा खेतीका लागि कामदार, मलखाद लगायतका खर्च जुटाउन उनलाई सकस भयो ।

‘छोराहरुको बिहे, नाति–नातिनाको पढाइ खर्च, खेतीका लागि आवश्यक खर्चको जोहो गर्ने क्रममा बुवाले विभिन्न वित्तीय संस्थाबाट ऋण लिनुभयो,’ नारायणका जेठा छोरा सियारामले रातोपाटीसँग भने, ‘चिनी मिलले भुक्तानी देला भन्ने आश गर्दागर्दै ऋणको ब्याज बढ्दै गयो, उता आफूले लिनुपर्ने रकम निर्व्याजी रुपमा मिलले चार वर्षसम्म होल्ड गरिदियो, यता आफूले गर्जो टार्न लिएको ऋणको ब्याज लगातार बढ्दै जाँदा हाम्रो आर्थिक अवस्था नै खस्कियो ।’

कति दबाबमा थिए नारायण राय यादव ?

नारायण राय यादवका माइला छोरा दिलारामका अनुसार २०७४ सालसम्म परिवारमा खासै समस्या थिएन । तर अन्नपूर्ण सुगर मिलले उखुको रकम ‘होल्ड’ गरेपछि भने समस्याका दिन सुरु भएको उनले सुनाए ।

‘समयमै भुक्तानी पाएको भए समस्या नै थिएन,’ उनले भने, ‘ऋण तिरेर दुई/चार लाख बचत नै हुन्थ्यो । तर चिनी मिलले चार वर्षसम्म भुक्तानी नगर्दा एकातिर हामीले लिएको ऋणको ब्याज बढ्दै गयो, वर्षमा खेतीबाट खर्च कटाएर आम्दानी हुने त्यही दुई/चार लाख रुपैयाँ पनि ब्याज तिर्दैमा ठिक भयो, खेतीका लागि फेरि ऋण खोज्नुपर्ने बाध्यता भयो ।’

आफूले लिएको ऋणको भाका नाघ्न थालेपछि नारायण राय यादवको चिन्ता बढ्यो । गत वर्ष उखु किसानको आन्दोलन ‘उधारो सहमति’ मा टुंगिएपछि धोका खाएका उनले यो वर्ष पैसा असुल नगरी घर नफर्कने अठोट गरेका थिए ।

जेठा छोरा सियारामले भने, ‘पोहोरको आन्दोलनमा म काठमाडौं गएको थिएँ तर यो वर्ष पनि पोहोरको जस्तै धोका होला भनेर बुवाले आफै जान्छु भनेर कर गर्नुभयो, सायद व्यवहारले उहाँलाई थिच्दै गएको थियो । हामीलाई पैसाको निकै खाँचो थियो ।’

हुन पनि, यसै वर्ष नारायणले नयाँ घर बनाएका थिए । नयाँ घर बनाए पनि घरका कतिपय काम बाँकी नै छन् । बार्दली हाल्न, शौचालय बनाउन बाँकी नै छ । पैसाको अभावले ती काम पूरा गर्न नसकिएको सियाराम बताउँछन् ।

‘छाना, झ्यालढोका र पर्खालको काम सकेर जसोतसो ओत लाग्न मिल्ने बनाएर घर सरिएको हो,’ उनले नयाँ बनेको घर देखाउँदै भने, ‘माथि बार्दली बनाउन सकिएको छैन, केटाकेटी लड्ने डर छ, शौचालयको काम बाँकी नै छ । काठमाडौं जानेबेलामा बुवाले आफू पैसा लिएर आउने र त्यसपछि घरको काम पूरा गर्ने बताउनु भएको थियो ।’

सास छउन्जेल गाउँघरकै चिन्ता

उखु किसान संघर्ष समितिले नारायण राय यादवलाई आन्दोलनमा सहभागी हुन बोलायो । टोलमा कयौं किसानको उखुको वक्यौता भुक्तानी हुन सकेको थिएन । तीमध्ये नारायणकै रकम सर्वाधिक थियो ।

गाउँकै तीन सहयोगीका साथ उनी आन्दोलनका लागि काठमाडौं गए । तर आफू काठमाडौं पुगे पनि दैनिक ३÷४ पटक उनी घरमा फोन गरिरहन्थे ।

उनका छोरा सियारामले भने, ‘घर परिवारको कुरा सोध्नुहुन्थ्यो, उहाँलाई केही समस्या छ कि भनेर हामीले सोध्नु अघि नै उहाँले नै गाउँघरको सबै कुरा सोध्ने गर्नुहुन्थ्यो, फलानो बिरामी थियो, उसको अवस्था के छ, फलानोको घरमा कस्तो छ लगायतका कुरा सोध्नुहुन्थ्यो ।’

संघर्ष समितिबाट धोका !

नारायण राय यादवका आफन्तहरुका अनुसार उखु किसान संघर्ष समितिले सरकारसँग चार बुँदे सहमति गर्नुअघि आन्दोलित किसानहरुसँग सरसल्लाह गरेन ।

उनका छिमेकी शम्भु राय यादवका अनुसार संघर्ष समितिका अगुवाले आफ्नोमात्र स्वार्थ हेरे, अन्य किसानको मर्कालाई बुझ्ने कोसिस नै नगरी सम्झौता गरेका कारण समस्त उखु किसानलाई मर्का परेको छ ।

‘उधारो सहमति छ पोहोर साल पनि भएकै थियो नि !’ रातोपाटीसँग उनले भने, ‘हामीलाई सहमति होइन, पैसाको खाँचो छ, त्यो पछि चार वर्ष अघिदेखिको वक्यौताको भुक्तानी मागेका हौं, हामीलाई कसैको दया चाहिएको होइन ।’

शम्भुले नारायण राय यादवसँगै आफ्नो भतिज पनि आन्दोलनका लागि काठमाडौ गएको सुनाए । ‘मेरो भतिज पनि त्यहाँ गएको थियो,’ उनले भने, ‘कसैसँग सरसल्लाह नै नगरी सहमति भयो, बारम्बार धोका पाएका किसानले यो पटक जसरी पनि भुक्तानी लिएरै छाड्ने अडानका साथ आन्दोलन गरेका थिए तर अगुवाहरुले आफ्नो स्वार्थ हेरे ।’

उद्योगपतिलाई मोज, किसानलाई बोझ

उखु खेती गर्नुमा किसानका आफ्नै स्वार्थ हुन्छन् । किसानले उखु लगाएपछि दुई वर्षमा मात्र त्यो खेत–बारी खाली हुन्छ । अर्थात् एकपटक रोपेको उखुले कम्तीमा दुई सिजन धान्छ ।

उखुको पहिलो सिजनको उत्पादनले खर्च उठ्दैन । खर्च उठ्न र मुनाफाका लागि अर्को सिजन कुर्नैपर्ने हुन्छ । तर चिनी मिलले समयमा उखुको भुक्तानी नदिँदा भने कृषक मर्कामा पर्छन् ।

उखुका लागि मलखादको जोहो गर्नु, गोडमेलका लागि ज्याला दिन, तयार भएको उखुलाई मिलसम्म लैजान ढुवानी खर्च लगायतको जोहो गर्नका लागि किसानले ऋण लिनुपर्ने बाध्यता आउँछ । चिनी मिलले वक्यौता राखेको रकमको ब्याज नपाइने तर आफूले खेतीका लागि लिएको ऋणको ब्याज तिर्नुपर्ने भएका कारण किसान दोहोरो मर्कामा पर्दछन् ।

यस अतिरिक्त किसानले आफ्नो परिवारको पेट पाल्न, भइपरी आउने खर्च जुटाउन पनि ऋण कै भर पर्नुपर्ने बाध्यता हुन्छ । यसरी ऋणमाथि ऋणको भार बोक्नुपर्दा किसानहरुले नारायण राय यादवकै जस्तो दबाब झेल्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

छोटौलकै कृषक मेघु राय यादव भन्छन्, ‘चिनी मिलले समयमा पैसा नदिएपछि खेतको वर्ष दिनको आम्दानी लिन पाउनु त परै जावस्, आफूले खेती गर्दा गरेको लगानी पनि ऋणकै भरमा धान्नु पर्दछ । हामी ऋणमाथि ऋण बोकिरहँदा चिनी मिलको मालिक भने हाम्रै पैसामा उद्योगी बनेर मोज गरिरहेको हुन्छ ।’

वर्ष दिन लगाएर उत्पादन हुने उखुको मूल्य समयमै पाउन नसक्दा आफुहरुको जीवनमा अनेक कष्ट थपिँदै जाने अर्का किसान हृदयनारायण राय यादव बताउँछन् । ‘एक वर्षमा उखु तयार हुन्छ, त्यो बेचेर सबै ऋण तिरौँला भन्दै त्यो एक वर्षका लागि आफूले अनेकतिरबाट पैसा लिएर व्यवहार टारिएको हुन्छ,’ उनले भने, ‘तर चार वर्षसम्म मिलले पैसा नदिँदा हाम्रो हालत के हुन्छ होला, आफै कल्पना गर्नुस् त !’

सयकडा तीन रुपैयाँका दरले आफूहरुले ऋण लिएर खेती र घर व्यवहार चलाउने गरेको उनले सुनाए । ‘चार वर्षमा हाम्रो घर खर्च, भइ परिआउने खर्च र खेतीमा लाग्ने खर्चका लागि कति ऋण चाहिन्छ होला, विचार गर्नुस्,’ उनले भने, ‘त्यसको ब्याज हामीले तिरिरहनुपर्ने तर मिलले चार वर्षसम्म हाम्रो पैसा निर्व्याजी चलाउँछ । यस बीचमा हामीले अनावश्यक ब्याज व्यहोर्नुपर्ने बाध्यता मिलले नै बनाइदिएको हो ।’ समयमै आफ्नो उखुको मूल्य पाउन सके प्रतिवर्ष खर्च कटाएरै एक/डेढ लाख रुपैयाँ आम्दानी गर्न सकिने अवस्था हुँदा हुँदै चिनी मिलको लापरवाहीका कारण आफूहरुले उल्टै ऋणको भार बोक्नुपर्ने अवस्था सिर्जना हुने गरेको उनले सुनाए ।

यस्तो थियो नारायणको सपना

हरेक किसान आफ्नो पेशाबाटै आत्मनिर्भर बन्न सक्नुपर्छ भन्ने मान्यता बोकेका नारायण राय यादवले चार वर्ष अघिसम्म त्यही मान्यताअनुरुप आफूलाई स्वाभिमानी र मेहनती किसानका रुपमा आसपासका गाउँमा समेत नाम कमाएका थिए ।

जब उनले अन्नपूर्ण सुगर मिललाई उखु बेच्ने निधो गरे, उनको बर्बादीको दिन सुरु भयो । ‘गाउँ नजिकै रहेको मिल, ढुवानी खर्च पनि कम लाग्ने भनेर बुवाले अन्नपूर्ण मिललाई नै उखु बेच्ने निधो गर्नुभयो,’ छोरा सियारामले भने, ‘बुवाकै कुरामा विश्वास गरेर गाउँका अरुले पनि त्यही मिललाई उखु दिए । तर मिलले धोका दियो ।’

आफूहरुसँगै गाउँका अधिकांश किसानको बक्यौता उक्त मिलले २०७४ सालदेखि नै भुक्तानी नगरेको उनले बताए । स्थानीयवासीका अनुसार गाउँका सामान्य किसानको पनि दुई÷तीन लाख रुपैयाँ वक्यौता भुक्तानी हुन बाँकी छ । कतिपयको त आठ÷दश लाख रुपैयाँ नै बाँकी रहेको उनीहरु बताउँछन् ।

यो पटक नारायण राय यादव गाउँका सबै किसानको वक्यौता भुक्तानी गराएरै छाड्ने अठोटका साथ आन्दोलनमा सहभागी हुन काठमाडौं गएको स्थानीयवासी बताउँछन् । तर उनी फर्किएनन् । शोकाकुल परिवार अहिले उनको काजकिरियामा व्यस्त छ । यसबीचमा आफ्नो वक्यौता भुक्तानी भएको भनेर खबर आए पनि वास्तविकता बुझ्न नपाएको सियारामले बताए ।

‘संघर्ष समितिका मानिसले तिमीहरुको सबै पैसा बैंक खातामा पठाइसकेको छ भनेर खबर त गरेका छन्,’ उनले भने, ‘तर बैंकमा पैसा आएको छ कि छैन भनेर बुझ्न पाएको छैन ।’

उनले आफ्नो पिताको जस्तो नियति अब कुनै किसानले झेल्नु नपरोस् भन्नका लागि वास्तविक किसानहरु एकजुट हुनुपर्ने बताए । उखु किसानले बारम्बार भुक्तानीका लागि ताकेता गर्दासमेत राज्यले पनि बेवास्ता गरेको उनको गुनासो छ । उनले भने, ‘राज्यले समयमै पहलकदमी गरेको भए मेरो बुवाको निधन हुँदैनथ्यो होला ।’

किसानहरु स्वाभिमानी हुन्, उनीहरु कसैको दयाका पात्र होइनन् भन्ने सन्देश दिन जरुरी रहेको उनले बताए । यसका लागि आफूहरु बुवाको काजकिरिया सकेर छलफल गर्ने उनको भनाइ छ । आफ्नै रकम पाउनका लागि किसानहरु संघर्षमा उत्रनुपर्ने अवस्था कहिल्यै आउनु नपर्नेगरी राज्यले ग्यारेन्टी गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप