शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको दुई पक्षमध्ये कोसँग गठबन्धन बनाउने भन्ने विषयमा जसपा नेपालमा विवाद

बिहीबार, ०१ माघ २०७७, १६ : २६
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । आगामी वैशाखमा निर्वाचन हुने अवस्था आएमा कुन पक्षसँग गठबन्धन गर्ने भन्नेबारे जनता समाजवादी पार्टी (जसपा) नेपालमा मतैक्यता हुन सकेको छैन । जसपा नेपालले परिवर्तित परिस्थितिमा कोसँग सहकार्य गरेर जाने भन्ने विषयमा आन्तरिक रणनीति बनाइरहेको बेला नेताहरुबीच मत विभाजन देखिएको हो ।

खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा राजनीतिक विभाजन देखिएसँगै राष्ट्रिय राजनीतिमा नेकपाको कुनचाहिँ धारसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालमा विवाद देखिएको हो ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहसँग सहकार्य गर्नुपर्ने तर्क गरिरहेको छ भने जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर नेकपाको ओली समूहसँग सहकार्य गर्ने पक्षमा देखिएका छन् । 

आगामी चुनावमा नेकपाको ओली समूह र नेपाली काँग्रेसबीच गठबन्धन बनाउने आन्तरिक तयारी भइरहेको संकेत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै दिइसकेका छन् । बुधबार काँग्रेसका सभापति देउवालाई भेट्न नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल गएका थिए । सो भेटमै देउवाले ओली पक्षसँग आफ्नो गठबन्धनको संकेत दिएका हुन् । अध्यक्षद्वय प्रचण्ड र नेपालले संसद विघटनको विरुद्धमा संयुक्त आन्दोलनका लागि देउवासमक्ष प्रस्ताव गरे पनि देउवाले स्पष्ट जवाफ नदिएको स्रोतले जनाएको छ । यसले पनि देउवाले नेकपाको ओली पक्षसँग सहकार्य गर्न खोजेको प्रष्ट पार्दछ ।

नेकपाको ओली पक्ष र काँग्रेसबीच गठबन्धनको सम्भावना बढ्दै गएको अवस्थामा जसपा नेपालका नेता महन्थ ठाकुर पक्षले पनि काँग्रेसकै सिको गर्दै नेकपा ओली समूहलाई नै समर्थन गर्ने लगभग निश्चित छ । लामो समय काँग्रेसको राजनीतिमा आफूलाई समर्पित गरेका महन्थ ठाकुर अर्थात् जसपा नेपालका वरिष्ठ नेताले काँग्रेसकै लाइन अनुसार नेकपाको ओली पक्षसँग सहकार्यको प्रस्ताव गर्नु आश्चर्यको विषय नभएको विश्लेषकहरुको भनाइ छ ।

जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री ओलीबीच समेत राम्रो दोस्ती छ । वरिष्ठ नेता महतोले प्रचण्ड र ओलीमध्ये कुनै एकलाई रोज्नुपर्ने अवस्था आएमा ओलीलाई नै रोज्ने उनी निकट नेताहरु बताउँछन् । यता, नेकपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपाको प्रचण्ड–माधव पक्षलाई नै रोज्ने लगभग निश्चित छ । अहिले पनि संंसद विघटनको विषयमा आन्दोलन हुँदा अध्यक्ष यादव पक्षको लाइन नेकपाको प्रचण्ड–माधव पक्षसँग मिलिरहेको छ भने अध्यक्ष ठाकुरको लाइन काँग्रेससँग मिल्दोजुल्दो गरी नेकपाको ओली पक्षको समर्थनमा केन्द्रित देखिन्छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले दललाई समर्थन गर्ने कुरामा पार्टीमा मतैक्यता नदेखिएको बताए । उनले जसपा नेपालका लागि प्रचण्ड र ओली उस्तै उस्तै रहेको बताए । ‘अहिले पार्टीमा एक पक्षले नेकपाको प्रचण्ड–माधव समूह कै पक्षमा जाने लाइन लिएका छन् जुन गलत हो,’ उनले भने, ‘हामीले विगतदेखि संविधान संशोधनको माग उठाउँदै आयौं तर कुनै दलले हामीलाई सहयोग गरेन, अनि अहिले हामी किन सहयोग गर्ने ? पार्टीका केही मित्रहरु प्रचण्ड–माधव पक्षको लाइनमा हुनुहुन्छ, त्यस पक्षमा हामी छैनौं ।’

नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त रुपमा आन्दोलन गर्न जसपा नेपालका नेताहरुलाई भनिरहेको छ तर अध्यक्ष उपेन्द्र यादव र परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई सकारात्मक भएपनि अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले मानिरहेका छैनन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि बसेको तीन दलको बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गर्ने सहमति गरेको थियो । तर काँग्रेसले केन्द्रीय समिति बैठकको बहाना बनाएर पन्छिएपछि अहिलेसम्म संयुक्त आन्दोलनको घोषणा भएको छैन । नेकपा प्रचण्ड–माधव समूहले त्यसका लागि प्रयास गरे पनि जसपा नेपालका अध्यक्ष ठाकुर पक्ष र काँग्रेसले नमानेको कारण संयुक्त आन्दोलन हुन सकिरहेको छैन ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप