शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : नेकपामा कसको पल्ला भारी ?

दुवै समूहको यस्तो छ लेखाजोखा
बिहीबार, ०८ माघ २०७७, १२ : ३०
बिहीबार, ०८ माघ २०७७

पोखरा । केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई धारमा विभाजित भएसँगै गण्डकी प्रदेशमा प्रत्यक्ष प्रभाव देखिएको छ । पार्टी औपचारिक रुपमा विभाजित नभए पनि प्रदेशमा दुवै समूह अलग अलग संगठन विस्तारमा जोडतोडले लागिरहेका छन् । नेकपाका दुवै खेमाले नेता–कार्यकर्तालाई आफ्नो पक्षमा तान्न जिल्ला जिल्लामा भेला तथा प्रशिक्षणहरू गरिरहेका छन् ।

केन्द्रबाट सुरू भएको विभाजनको रेखा जिल्ला, स्थानीय तह र गाउँगाउँसम्म कोरिँदै छ । नेकपाका नेता–कार्यकर्ताहरु यतिबेला केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल पक्षमा विभाजित भएका छन् । दुवै समूहले पार्टीको आन्तरिक भेला तथा प्रशिक्षण गरेर आफ्नो पक्षमा बहुमत कार्यकर्ता देखाउने प्रयास गरिरहेका छन् ।

गण्डकी प्रदेशमा कसको पल्ला भारी ?
गण्डकी प्रदेशका ११ वटै जिल्ला र पार्टीको प्रदेश कमिटीलाई विश्लेषण गर्ने हो भने दुवै समूहमा करिब बराबरजस्तो देखिन्छ । पार्टी विभाजनसँगै पूर्व माओवादीहरू अधिकांश प्रचण्ड–माधव पक्षमै देखिएका छन् भने पूर्व एमालेमध्ये बहुमत नेता ओली समूहमा लागेका छन् ।

गण्डकी प्रदेशमा देव गुरुङ, देवेन्द्र पौडेल र नारायणकाजी श्रेष्ठ प्रचण्ड–माधव समूहका हेभिवेट नेता हुन् । गुरुङ नेकपामा स्थायी कमिटी सदस्य हुन् भने पौडेल स्थायी कमिटी सदस्य र श्रेष्ठ सचिवालय सदस्य हुन् ।
त्यसैगरी गण्डकीबाट ओली समूहका हेभिवेट नेतामा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ छन् । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि ओली समूहमा लागेका छन् ।
केन्द्रमा समेत राम्रो प्रभाव भएका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङका कारण प्रदेशमा केपी ओलीको प्रभाव बढ्ने अपेक्षा गरिएको भए पनि गुरुङको प्रभाव सोचेजस्तो देखिएको छैन । उनी आफ्नै गृहजिल्ला लमजुङमा समेत जनस्तरमा कमजोर मानिन्छन् । संघीय निर्वाचनमा चुनाव जित्ने सम्भावना कमजोर देखेपछि उनी प्रदेश सभातर्फ लागेका थिए । प्रदेशका हेभिवेट नेतामध्ये अधिकांश प्रचण्ड–माधव पक्षमा लागेका कारण मुख्यमन्त्री गुरुङलाई आफ्नै जिल्लामा साख जोगाउन कठिन हुने जानकारहरु बताउँछन् ।

पार्टी विभाजनसँगै मुख्यमन्त्री गुरुङको पद धरापमा
गण्डकी प्रदेशसभाका ६० सांसदमध्ये नेकपाका ४० सदस्य छन् । प्रदेश सभामा ओली पक्षसँग २६ जना सांसद छन् । दाहाल–माधव पक्षसँग जम्मा १३ जना सांसद छन् जसमध्ये इन्द्रलाल सापकोटा बाहेक १२ जना तत्कालीन माओवादीबाट निर्वाचित सांसद हुन् । मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका राजिव गुरुङ (दिपक मनाङ्गे) नेकपामा प्रवेश गरेपछि प्रदेशसभामा नेकपाले दुई तिहाइ मत पु¥याएको थियो । अहिले दिपक मनाङ्गे बामदेव गौतमको तटस्थ अभियानमा लागेका छन् ।

प्रदेश सभामा नेपाली काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।
पार्टी विभाजनसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अहिले अल्पमतमा देखिएका छन् । प्रदेशमा बहुमतका लागि ६० मध्ये ३० मत आवस्यक पर्दछ । सांसद दिपक मनाङ्गेको बर्हिगमनसँगै मुख्यमन्त्री गुरुङको समर्थनमा २६ मतमात्र छ । राजमोको समर्थन पाए पनि उनीसँग २९ सांसद हुनेछन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सवालमा अहिलेसम्म दाहाल–माधव समूहका सांसदले केन्द्रको निर्णय कुरिरहेका छन् । मुख्यमन्त्री गुरुङले पद जोगाउन जनता समाजवादी पार्टी, काँग्रेस वा दाहाल–माधव समूहमध्ये एक दलको समर्थन लिनुपर्छ । तर, तत्काल त्यो सम्भावना देखिएको छैन ।

जसपा सांसद हरिशरण आचार्य मुख्यमन्त्री गुरुङले जसपालाई सहकार्यको प्रस्ताव राखेको बताउँछन् । तर, आफ्नो पार्टी संसद् विघटनको विरोधमा रहेकाले सहकार्यको सम्भावना नभएको उनको भनाइ छ ।

पर्ख र हेरको रणनीतिमा काँग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा विभाजन नभएसम्म गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव नल्याउने बताएको छ । 
बुधबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले नेकपामा औपचारिक फुट नआएसम्म अविश्वासको प्रस्तावबारेमा नसोचेको बताए ।
उनले नेकपा वैधानिक रूपमा विभाजन भएको अवस्थामा मात्र नयाँ सरकार निर्माणको विषयमा छलफल गरिने बताए । ‘नेकपाभित्र विवाद आएको छ तर, औपचारिक रूपमा पार्टी फुटेको छैन, यस्तो अवस्थामा अविश्वासको प्रस्तावका बारेमा सोचेका छैनौ,’ उनले भने । 

मुख्यमन्त्री गुरुङले प्रतिपक्षका मुद्दालाई सम्बोधन गर्दै आएकाले काँग्रेसले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लग्न हतारो नगरेको उनले प्रस्ट पारे ।
काँग्रेसका सांसद कुमार खड्काले आफैले बोलाएको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव ल्याउन नमिल्ने बताउँदै नेकपा औपचारिक रूपमै दुई पार्टी भएपछि मात्र अविश्वासको प्रस्ताव ल्याउनेबारेमा छलफल हुने बताए । ‘नेकपा फुटेर दुई पार्टी भएको अवस्थामा मुख्यमन्त्री स्वतः अल्पमतमा पर्नुहुन्छ, त्यसपछि विश्वासको मत लिनुपर्ने अवस्था आउँछ,’ खड्काले भने । 

यस्तो छ जिल्लागत अंकगणित 
पार्टी विभाजनपछि गण्डकीका ११ जिल्लामध्ये अध्यक्षमा ओली पक्षको बहुमत देखिन्छ । सचिवमा भने दाहाल–माधव समूहको बाहुल्यता देखिएको छ । ११ जिल्ला अध्यक्षमध्ये ओली पक्षसँग ७ जना छन् भने दाहाल–माधव पक्षमा ४ जना छन् । जिल्ला सचिवमा ओली समूहसँग ३ जना र दाहाल–माधव समूहसँग ८ जना छन् ।

तर, प्रचण्ड–माधव समूहले भने पार्टी एकीकरणका क्रममै अधिकांश जिल्ला नेतृत्वमा ओलीले आफ्नो निकटलाई जिम्मेवारी दिएका कारण सो पक्षको बहुमत देखिनु स्वाभाविक भएको जनाएको छ ।
प्रदेशमा ओलीसमूहमा पर्वतका अध्यक्ष पदम गिरी, स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, तनहुँ अध्यक्ष केदार सिग्देल, नवलपरासीपूर्व अध्यक्ष रोशनबहादुर गाहा छन् । 
स्याङ्जा अध्यक्ष गैरे पूर्व माओवादी हुन् । उनी हाल गृहमन्त्री रामबहादुर थापासँगै ओली समूहमा लागेका छन् ।

त्यसैगरी, गोरखा अध्यक्ष लेखबहादुर मगर, बाग्लुङ अध्यक्ष इन्द्रलाल सापकोटा र सचिव ज्ञामनाथ गैरे, नवलपरासीपूर्व सचिव मित्रशरण शर्मा र तनहुँका सचिव राजेन्द्र केशरी न्यौपाने प्रचण्ड–नेपाल समूहमा छन् ।
यसैगरी पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य खगराज अधिकारी, कृषि तथा पशुपन्छी विकासमन्त्री (स्याङ्जा) रहेकी पद्माकुमारी अर्याल, जगतबहादुर विश्वकर्मा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई, पूर्वसभासद् सीता गिरी, राष्ट्रिय सभा सदस्य गणेश तिमिल्सिना, प्रेमबहादुर तुलाचन र सांसद नारायण मरासिनी (स्याङजा) ओली समूहमा लागेका छन् ।

नेकपा प्रवक्तासमेत रहेका गोरखाका नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्य देव गुरुङ, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल (बागलुङ) गण्डकी प्रदेश सह–इन्चार्ज यसोदा सुवेदी गुरुङ, मुस्ताङकी श्रीमाया थकाली, कास्कीका श्रीनाथ बराल, तुलबहादुर गुरुङ, शारदाप्रसाद सुवेदी, चुणामणि जंगली प्रचण्ड–माधव समूहमा छन् ।

यसैगरी केन्द्रीय सदस्यहरू प्रतापलाल श्रेष्ठ, विद्या ढकाल, रेखा बस्याल, विश्वेश्वर कट्टेल, विकल श्रेष्ठ, खिमलाल देवकोटा, रवीन्द्र अधिकारी, कृष्ण पौडेल, किशन शर्मा गैरे, मोती पौडेल, उदय सुवेदी, भक्त कुँवर, गणेश शर्मा पौडेल प्रचण्ड–माधव समूहमा छन् ।

केन्द्रीय सदस्यहरू पिएल श्रेष्ठ, आशा कोइराला, केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, शंकर नारायण श्रेष्ठ, कलिला खान लगायतका नेताहरू पनि प्रचण्ड–माधव समूहमै छन् ।
बाग्लुङमा प्रचण्ड–नेपालसमूहमा जिल्ला इन्चार्ज बलावती शर्मा र सह–इन्चार्ज मनकुमारी केसी ओली समूहमा लागेका छन् । त्यस्तै सांसद तिलबहादुर महत क्षेत्री, प्रदेश सांसद रोशनबहादुर गाहा, जनकलाल श्रेष्ठ र समानुपातिककी लक्ष्मी सुनार ओली समूहमा लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप