
निर्वाचन सुनिश्चिताका लागि हामी सडकमा ओर्लनु पर्छ: शेखर कोइराला
काठमाडौ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले अदालतको फैसलालाई स्विकार्ने बताएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ को बेलौरीमा आयोजित अगुवा कार्यकर्ता भेलामा नेता कोइरालाले भने, 'लोकतान्त्रिक पार्टी भएकाले अदालतको फैसलालाई स्विकार्छौं। कदाचित्, प्रतिनिधि सभा भंगको निर्णयलाई अदालतले सदर गर्यो भने निर्वाचन सुनिश्चिताका लागि हामी सडकमा ओर्लनु पर्दछ।'
वैशाखमा निर्वाचन हुन नसक्ने धेरैको मत रहेकाले निर्वाचन गराउन सरकारलाई काँग्रेसले दबाब दिनुपर्ने उनको भनाइ छ ।
'निर्वाचन गराउने जिम्मेवारी काँग्रेसको होइन। संसद पुनःस्थापना भएन भने वैशाखमा निर्वाचन गराउन काँग्रेसले सरकारलाई दबाब दिनुपर्दछ,' कोइरालाले भने,
'१७ वैशाखमा निर्वाचन हुन सकेन भने नेपाल फेरि द्वन्द्वमा फस्ने चिन्ता छ।'
यस्तै उनले कम्युनिस्टसँग सहकार्य र हातेमालोबारे सच्चिनुपर्ने बेला आएको उनको बुझाइ छ । 'आफ्नो खुट्टामा टेकेर हामी विरोधमा उत्रनुपर्छ। ‘बिपी कोइरालाले कम्युनिस्टसँग सहकार्य नगर’ भनेर जानुभएको छ। गणेशमान सिंह, किसुनजी र गिरिजाप्रसाद कोइरालाले केही कारणले गर्दा कम्युनिस्टसँग सहकार्य गर्नुभएको थियो,' कोइरालाले भने, 'अब, सच्चिनुपर्ने बेला आएको छ। कम्युनिस्टसँग सहकार्य र हातेमालो गरेर होइन, काँग्रेस आफ्नै खुट्टामा उभिन सक्छ भनी देखाउनु छ। र, देखाउँछौँ पनि।
नेता कोइरालाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबारे काँग्रेसका कार्यकर्ताको मनमा प्रश्न उब्जिरहेको बताए । 'सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्नुहुन्छ भन्ने कार्यकर्तामा आशंका छ। अर्कोतर्फ, वरिष्ठ नेता पौडेल प्रचण्ड–माधव नेकपासँग मिलेर जानुपर्छ भन्ने पनि आशंका उत्तिकै छ। काँग्रेस कुनै पक्षसँग मिलेर जानै हुँदैन।'

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ