बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता लम्ब्याउनका लागि निर्वाचन घोषणा: मिनेन्द्र रिजाल

आइतबार, १८ माघ २०७७, १३ : ५४
आइतबार, १८ माघ २०७७

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले सत्ता टिकाउनकै लागि निर्वाचन घोषणा गरेको दावी गरेका छन् ।  बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सो कुरा बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका रिजालले सरकारले सत्ता लम्ब्याउनका लागि निर्वाचनको मिति घोषणा गरेको दावी गरे गर्दै भने– ‘यो सरकारले निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहेपछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणा गरेको हो, त्यो बहाना मात्रै हो ।’  रिजालले ‘न रहे बाँस न रहे बाँसुरी’ को संज्ञा दिँदै ओली सरकारले चुनाव गराउनै नसक्ने  ठोकुवा गरे ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको उनले बताए । रिजालले विगतका प्रतिकूल अवस्थामा पनि अदालतले सहि निर्णय लिएको स्मरण गर्दै सर्वोच्चले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे ।  उनले भने– ‘पञ्चायतकाल होस् या राजा ज्ञानेन्द्रको पालामा होस् अदालतले सही निर्णय गरेको छ । राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । तसर्थ प्रतिनिधिसभा पुनःस्थापना हुन्छ ।’

उनले अब ओलीको पनि ज्ञानेन्द्र जसरीनै बिदा हुने दिन आउने बताए ।  सत्तामा आएपछि नियम कानून नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको दावी गर्दै ओलीको पनि त्यही दिन आउने उनले ठोकुवा गरे । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि काँग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिएसम्म  निरन्तर विरोध गरिरहने उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप