मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पैसाका लागि भान्जाकै अपहरण !

आइतबार, ०९ फागुन २०७७, १६ : ०५
आइतबार, ०९ फागुन २०७७

जनकपुर । पैसाको लोभमा ७ वर्षीय भान्जालाई अपहरण गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई धनुषा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नगराईनस्थित लगमा निवासी रमेश दासका ७ वर्षीय छोरा चन्दन दासलाई महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित दनौली घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकी नगरमा बस्दै आएका उनका मामा २० वर्षीय रामरतन दास भनिने लक्ष्मेश्वर कुमार दासले शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लगेका थिए ।

अपहृत बालकलाई शनिबार राति अन्दाजी साढे ८ बजे जनकपुरधाम वडा नम्बर ७ स्थित कटैयाचौरी बस्ने सरोज ठाकुरको घरबाट उद्धार गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । प्रहरीका अनुसार लक्ष्मेश्वरले शनिबार साँझ ७ बजे आफ्नी दिदी अर्थात बालककी आमालाई फोन गरी बालकलाई अपहरण गरिएको र एक करोड रुपैयाँ फिरौती दिए सकुशल रिहा गरिदिने बताएका थिए ।

पीडित परिवारले सो घटनाबारे प्रहरीलाई जानकारी दिनासाथ प्रहरी ‘एक्सन’ मा उत्रिएको थियो । तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट संयुक्तरुपमा खटिएको प्रहरीको विशेष टोलीले रामरतन दास भनिने लक्ष्मेश्वरकुमार दासलाई राति साढे ८ बजे पक्राउ गर्न सफल भएको हो ।

अपहृत बालकलाई परिवारजनको जिम्मा लगाईसकेको र घटनामा संलग्न रहेको आशंकाको आधारमा अन्य दुई जनालाई समेत पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए । तर प्रहरीले पत्रकार सम्मेलनमा लक्ष्मेश्वरलाई मात्र सार्वजनिक गरेको छ ।

प्रहरी उपरीक्षक रानाभाटले पैसाको लोभमा परेर मामाले अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनले भने, ‘अभिभावकले अपहरणको सूचनासँगै फिरौती बापत रकम माग गरेको भन्दै जानकारी दिएपछि खोजतलास गरेका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप