आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय

जब काठमाडौँ महानगरले फोहोर बोकेका गाडी माओवादी पार्टी कार्यालय पठायो

सोमबार, ०७ जेठ २०८१, २० : २१
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोकेका ४ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ । बञ्चरेडाँडामा स्थानीय फोहोर फाल्न अवरोध भइरहेको बेला प्रहरीले चालकसहित गाडीलाई नियन्त्रणमा लिएको थियो । 

सोमबार दिउँसो काठमाडौँ जिल्ला प्रहरी परिसरले स्कर्टिङ गरेर फोहोर बोकेका गाडी र चालकलाई नियन्त्रणमा लिएर टेकुमा राखेको थियो । अहिले भने ती गाडी र चालकलाई प्रहरीले छाडिसकेको छ । 

महानगर प्रमुख बालेन शाहका स्वकीय सचिव भुपदेश शाहले बञ्चरेडाँडामा अवरोध भएपछि कोटेश्वरबाट गाडीहरू प्रहरीले नियन्त्रणमा लिएको बताए । 

‘बञ्चरेडाँडामा हिजोदेखि नै फोहोर फाल्न दिइएको थिइन् । हामीले प्रहरी प्रशासनसँग अवरोध हटाइंदिन अनुरोधगर्दै आएका थियौँ । अवरोध भएपछि कोटेश्वरमा फोहोरका गाडीहरू रोकिएको थियो । प्रहरीले स्कर्टीङ गर्दै चालकसहित गाडीलाई नियन्त्रण लिएर टेकुमा राखेको थियो । अहिले छुटिसकेका छन्,’ शाहले भने ।

महानरगले फोहोर संकलनमा अवरोध हटाउन प्रधानमन्त्री र गृहमन्त्रीले सहयोग नगरेको भन्दै सांकेतिक रूपमा फोहोर बोकेका ४ वटा गाडी माओवादी पार्टी कार्यालय पेरिसडाँडा पठाएको थियो । त्यही समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

केही दिन यता बञ्चरेडाँडामा स्थानीयले फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् । जसले गर्दा काठमाडौँबाट जाने फोहोर गाडीहरू जान सकेका छैनन् । यस विषयमा काठमाडौँ महानगरले अवरोध हटाउन सहयोन गर्न भन्दै प्रहरी र स्थानीय प्रशासनलाई अनुरोध गर्दै आएको थियो । तर, स्थानीय प्रहरी प्रशासनबाट सहयोग नपाएपछि विरोध स्वरूप चार वटा गाडी माओवादी पार्टी कार्यालय पेरिसडाँडा पठाइएको स्वकीय सचिव शाहले बताए । सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएर टेकुमा लगेको हो । 

गाडी र चालकलाई नियन्त्रणमा लिएपछि महानगर प्रमुख शाहले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् । महानगर प्रमुख शाहले गाडी र चालकलाई पक्राउ गरेको भन्दै सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए । 

‘भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले’, फेसबुकमा बालेनले लेखेका थिए, ‘जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर उठ्दैन ।’

बञ्चरेडाँडामा रोजगारीको माग राखेर बलामी युवा समाजले फोहोर विसर्जनमा अवरोध गर्दै आएको छ । महानगरले पेरिसडाँडासँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कार्यालय वनस्थली पठाइएको थियो । रास्वपा पार्टी कार्यालयतर्फ गएका ट्रकलाई प्रहरीले बाटैमा रोकेको थियो । पेरिसडाँडा गएका गाडीसहित ट्रकका चालकलाई पार्टी कार्यालयको गेटमै पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप