आमा–छोरीलाई ‘टर्कीको स्पामा काम लगाइदिन्छौं’ भन्दै बेच्ने दुईजना पक्राउ
काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कको टिकट काउन्टरमा काम गरेर गुजारा चलाउने हरिबहादुर (नाम परिवर्तन)को दुर्घटनामा मृत्यु भयो ।
परिवारका मुख्य मान्छेको मृत्युपछि दैनिक गुजारा चलाउन कठिन भयो । आमा–छोरी जागिरको खोजीमा थिए । माछापोखरीस्थित डेरामा बस्ने बागलुङकी पूर्णिमा सिर्पाली बस्नेतले ती आमाछोरीलाई भेटिन् ।
‘टर्की पठाइदिन्छु, महिनाको ९० हजारसम्म तलब हुन्छ,’पूर्णिमाले भनिन् ।
आमा छोरीले सोधिन् , ‘कस्तो काम गर्नुपर्छ, पैसा कति लाग्छ ?’
पूर्णिमाले आमाछोरीको २० लाख खर्च गरेमा जीवन नै परिर्वतन हुने सपना देखाइन् । टर्कीमा स्पामा जागिर खाने गरी त्यहाँ पठाउने आश्वासन पाएपछि आमाछोरी जान तयार भए । टोखामा रहेको जग्गा बेचेर उनीहरुले २० लाख बुझाए । पैसा लिएपछि पूर्णिमा तर्किन थालिन् । आमा, छोरीले, ‘हामी विदेश जाँदैनौं’ भनेर पैसा माग्दा पूर्णिमाले टर्कीमा रहेको आफ्नो बुबासँग पीडितलाई कुरा गराएर विश्वासमा पारिन् । अनि, ०७७ असोज २२ मा त्रिभुवन विमानस्थलबाट टर्किस एयरलायन्सको टिकट काटेर टर्की पठाइन् ।
टर्की पुगेपछि पूर्णिमा बस्नेतको बुबासँग उनीहरुले भेटे । ३ हप्ता आफ्नो डेरामा राखेपछि पूर्णिमाका बुबाले छोरीलाई रेष्टुरेन्टमा काम गर्न पठाए । तर, आमालाई चाहिँ ग्रिस पठाइदिन्छु भनेर २ हजार लिरामा टर्कीको बोर्डरमा लगेर बेचे । सो कुरा थाहा पाएपछि दूतावाससँगको समन्वयमा छोरी मंसिर ८ मा र आमा पुस २६ मा नेपाल फर्किए । पीडितको जाहेरीको आधारमा पूर्णिमा सिर्पाली बस्नेत र गोरखा घर भएका जीवन भट्टलाई पक्राउ गरिएको मानव बेचविखन ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।
तार्केश्वरस्थित जरंखुमा बस्ने भट्टले आमाछोरीलाई ताहाचलस्थित श्रम कार्यालयमा भेटेर टिकट र अन्य कागजात तयार गरेर दिएका थिए । पक्राउ परेकाहरूमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका सुचना अधिकारी (डिएसपी) ढुण्डीराज न्यौपानेले बताए । जीवन र पूर्णिमाबाट पीडित थप १२ जना ब्यूरोको सम्पर्कमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा