शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फरार दुई अभियुक्त पक्राउ

आइतबार, १६ फागुन २०७७, २१ : ३६
आइतबार, १६ फागुन २०७७

लागुऔषध र अपहरण तथा शरीर बन्धक मुद्दाका फरार दुई अभियुक्त आज पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनाको कसुरमा पक्राउ परेका फरार अभियुक्तलाई आज अदालतको आदेशअनुसार कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

सप्तरी प्रहरीकाअनुसार महादेवा गाउँपालिका–५ का गजेन्द्रप्रसाद यादवको जाहेरीले सोही ठाउँका २१ वर्षीय अमृत भनिने नरेन्द्र यादवलाई अपहरण तथा शरीर बन्धकको कसुरमा पक्राउ गरिएको हो ।

उनलाई अदालतले ६ वर्ष कैद र रु २५ हजार जरिवाना ठहर गरेको छ । फरार यादवलाई इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटी गएको प्रहरी टोलीले गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यसैगरी लागुऔषध (गाँजा) मुद्दाका फरार अभियुक्त राजविराज नगरपालिका–११ फर्सेठका २९ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।

उनलाई अदालतले ६ महिना कैद र रु दुई हजार जरिवाना ठहर गरेको छ । अदालतबाट विभिन्न मुद्दामा फैसला भई फैसला कार्यान्वयनअन्तर्गत फरार सूचीमा रहेका अभियुक्तलाई खोज तलास गर्दै पक्राउ गर्ने अभियानअन्तर्गत उनीहरूलाई गाउँघरमै रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । दुवै अभियुक्तलाई आज अदालतको आदेशमा राजविराज कारागारमा थुनामा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप