शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची आएपछि विकल्प खोज्दै ट्याङ्कर व्यवसायी र मजदुर : २ हजारभन्दा बढीको रोजगारी गुम्ने

मङ्गलबार, २५ फागुन २०७७, १० : ०५
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौं । मेलम्ची खोलाको पानी काठमाडौंमा आइपुगेपछि यतिबेला काठमाडौं उपत्यकावासी खुसी छन् । दुई दशक लामो प्रतीक्षापछि पानी काठमाडौँ आइपुग्दा वर्षौंदेखि अभावको अवस्था झेल्दै आएका उपत्यकावासीले हर्षको अनुभुति गरेका हुन् । निर्माण सम्पन्न हुन अझै बाँकी रहे मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुगेपछि उपत्यकाबासीको वर्षौँको निराशा आशामा बदलिएको छ ।

सरकारले अन्तरकालिन व्यवस्थाबाट आएको पानी चैत दोस्रो सातादेखि उपत्कावासीलाई वितरण गर्ने उल्लेख गरिसकेको छ । हेडवक्र्स निर्माण सकिएपछि भने उपत्यकाबासीलाई नियमित रुपमा पानी वितरण हुने मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक त्रिनेश खत्री बताउँछन् । योसँगै वैशाखदेखि धारामा दैनिक २ देखि ३ घण्टा पानी आउने अवस्था रहेको उनको भनाइ छ ।

खानेपानी वितरणसम्बन्धी सरकारी निकायहरु मेलम्चीको खानेपानी आपूर्तिका लागि सक्रिय भइरहँदा उपत्यकामा पानी आपूर्ति गर्ने ट्याङ्कर व्यवसायी र मजदुर भने यतिबेला संकटमा छन् । मेलम्चीको पानी वितरण हुन थालेपछि बजारबाट पानीको माग ह्वात्तै घट्ने भन्दै व्यवसायी र मजदुरहरुले यसको विकल्प खोज्न थालेका हुन् । मेलम्चीको खानेपानी आउनेबित्तिकै ७० प्रतिशत व्यवसायी र मजदूरको रोजीरोटी गुम्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।

यस्तो छ खानेपानी आपूर्तिको हिसाबकिताब

काठमाडौं उपत्यकामा अहिले ३ प्रकारले पानीको आपूर्ति हुँदै आएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बाट वितरण हुने पानी सबैभन्दा मुख्य स्रोत हो । अहिले केयुकेएलले वर्षात्मा दैनिक २० करोड लिटरसम्म पानीको आपूर्ति गर्दै आएको छ । गर्मी सिजनमा भने यस्तो आपूर्ति घटेर ९ करोड लिटरसम्म झर्ने गरेको छ ।

केयुकेएलको आपूर्तिले नधानेको माग भने वैकल्पिक स्रोतबाट हुँदै आएको छ । ढुंगेधारा, इनार, ट्याङ्कर र आकाशे पानीलाई अहिले वैकल्पिक स्रोतको रुपमा प्रयोग गर्ने गरिएको छ । यो स्रोतबाट वर्षा याममा १०÷१२ करोड लिटर र सुख्खा याममा ८÷९ करोड पानीको आपूर्ति हुने गरेको बताइन्छ । 

अहिले ट्याङ्करबाट व्यवसायिक रुपमा दैनिक ३ देखि ५ करोड लिटर पानीको आपूर्ति भइरहेको व्यवसायीको अनुमान छ । काठमाडौंको चाल्नाखेल केन्द्रबाट पानीको वितरण गर्दै आएका व्यवसायी पञ्चराम तामाङ एउटा ट्याङ्करले सिजनमा दैनिक /६ ट्रिप र अफसिजनमा दैनिक ३/४ ट्रिपसम्म गर्ने गरेको बताउँछन् । औसत १० हजार लिटरको क्षमतामा पानीको आपूर्ति गर्दा ट्याङ्करबाट बर्खा याममा दैनिक करिब ३ करोड लिटर र सुख्खा याममा ५ करोड लिटर हाराहारीमा पुग्ने अनुमान आफूहरुको रहेको उनी बताउँछन् ।

यसरी आपूर्ति हुने पानीमध्ये केही बोरिङबाट र केही मुहानबाट आपूर्ति हुने गरेको छ । अहिले काठमाडौं उपत्यकामा चोभार, मातातिर्थ, स्वयम्भु, बालाजु जोरपाटी, भक्तपुर, ललितपुर लगायतका स्थानका मुहानबाट पानी संकलन गरिन्छ । त्यसबाहेक उपत्यकाभर करिब ५० वटा बोरिङ प्लान्टहरु रहेको बताइन्छ । ट्याङ्कर र बोरिङमा समेत गरी यो क्षेत्रमा २० अर्बभन्दा बढीको लगानी रहेको र व्यवसायी तथा मजदूर गरेर करिब ३ हजारले रोजगारी पाइरहेको व्यवसायीहरुको भनाइ छ ।

कति घट्ला पानीको माग ?

मेलम्चीको पानी पहिलो चरणमा काठमाडौं उपत्यकामा आउँदा वर्षामा दैनिक १७ करोड लिटर र हिउँदमा दैनिक १२ करोड लिटर पानी आउँछ । यो आपूर्ति हुँदा केयुकेएलको क्षमता बर्खामा ३० करोड लिटर भन्दा बढी र सुख्खा याममा २० करोड लिटरभन्दा बढी हुन्छ । यो अहिले आपूर्ति मेलम्ची आउनुअघिको कुल आपुर्तिभन्दा बढी हो ।

अहिले मेलम्चीको पानी आउन थाल्नेबित्तिकै काठमाडौँमा ट्याङ्करबाट आपूर्ति हुने पानीको माग करिब ७० प्रतिशतले घट्ने अनुमान चोभार क्षेत्रमा बोरिङ सञ्चालन गर्दै आएका व्यवसायी सुवर्ण महर्जन बताउँछन् ।

उनका अनुसार मेलम्चीको पानी आपूर्ति भएका घरमा अब ट्याङ्करको पानीको माग नै हुँदैन । होटल र अरु कर्पोरेट हाउसमा आपूर्ति हुने पानीको मागमा पनि निकै कमी आउँछ । त्यसैले अब यो व्यवसाय गर्नेले विकल्प खोज्ने बेला भइसकेको उनको भनाइ छ । ट्याङ्करहरु अर्कै प्रयोजनमा चलाउन सकिने भए पनि बोरिङको लगानी भने वैकल्पिक रुपमा प्रयोग गर्नसक्ने अवस्था नभएको उनको भनाइ छ । एउटा बोरिङ सञ्चालनका लागि अहिले २÷३ करोड लाग्छ ।

व्यवसायी पञ्चराम तामाङ पानीको माग घटे अनुसार रोजगारी क्षमता पनि घट्ने बताउँछन् । ‘अहिले करिब १ हजार ट्याङ्करमा २ हजार र मुहान, बोरिङ लगायतमा १ हजार हाराहारीमा समेत गरी करिब ३ हजार जनाले रोजगारी पाएका छन्,’ तामाङ भन्छन्, ‘७० प्रतिशत माग घट्ने हो भने त्यति नै प्रतिशतले रोजगारी गुमाउँछन् । यो हुँदा करिब २ हजारको रोजीरोटी गुम्छ ।’ उनका अनुसार आफैं मजदूर र आफैं मालिक भएकाहरु टिक्नसक्ने अवस्था भए पनि अरु मजदूर भने विस्थापित हुनैपर्छ ।

वैकल्पिक क्षेत्रमा जान सहयोगको अपेक्षा

आफ्नो रोजीरोटी व्यवसायीहरु मेलम्ची आउँदा हर्षित छन् । तर, विस्थापित भएर अर्को क्षेत्रमा जाँदा सरकारले यसका लागि उचित वातावरण बनाइदिनुपर्ने व्यवसायीहरुको माग छ । ललितपुर क्षेत्रमा पानीको आपूर्ति गर्दै आएका उज्जवल शाक्य ट्याङ्करका लागि प्रयोग भइरहेको गाडीहरु अब अर्कै प्रयोजनमा प्रयोग गर्न मोडिफिकेसन गर्नुपर्ने भन्दै यसका लागि सरकारले राहत दिए राम्रो हुने बताउँछन् ।

‘व्यवसाय गर्नेले जोखिम मोल्नुपर्छ । हामीले त वर्षौंदेखि मेलम्ची आउँदैछ भन्ने थाहा पाएका हौँ । त्यसैले हामीले विकल्प खोज्न त तयार हुन्छौँ नै,’ शाक्य भन्छन्, ‘हामी अध्ययनकै चरणमा छौँ । अध्ययन गरेर सबै व्यवसायीहरुलाई आवश्यक सहजीकरण गर्छौं ।’

व्यवसायी तामाङ भने व्यवसायीलाई भन्दा मजदूरलाई नयाँ क्षेत्रको रोजगारीमा लाग्न सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । व्यवसायीले त केही गर्ला तर काम नभएको दिन मजदूरको त रोजीरोटी नै गुम्छ । उनीहरुको वैकल्पिक व्यवस्थाका लागि सरकारले सहयोग गर्नुपर्छ ।

तर, अर्का व्यवसायी शाक्य भने सरकारले राहत दिनेमा आफूलाई विश्वास नभएको बताउँछन् । आफूहरुले व्यवसायसँगै सेवा गरेको भए पनि सरकारले यसलाई नदेखेको उनको गुनासो छ । ‘हामीले व्यवसाय त गर्यौं, सरकारले पूरा गर्न नसकेको खानेपानीको माग पूरा गर्न हामीले साथ दियौँ, तर सरकारले त्यसको मूल्याङ्कन कहिल्लै गरेन,’ शाक्य भन्छन्, ‘दुःखको बेला साथ दिँदा त सरकारले हामीलाई केही गरेन भने अब पानी आएपछि हामीलाई सहयोग गर्ला भन्ने हामीलाई लागेको छैन ।’

नयाँ व्यवसायीको प्रवेश ठप्प

अघिल्लो वर्षको दशैंदेखि मेलम्चीको पानी काठमाडौं आइपुग्ने भनिएको थियो ।  यो हल्ला सुरु भएदेखि नै नयाँ व्यवसायी र मजदूरहरु यो क्षेत्रमा प्रवेश गर्ने क्रम रोकिएका थिए । पुराना व्यवसायीले पनि नयाँ ट्याङ्कर थप्ने योजना स्थगित गरेका थिए । पछिल्लो कोभिड महामारीपछि यो क्रम ठप्प भएको छ । बरु भएका केही मजदूरहरु भने अझै पनि यो क्षेत्रमा फर्केर आएका छैनन् । उनीहरुमध्ये कतिपयले वैकल्पिक क्षेत्र समेत रोजिसकेको व्यवसायीकरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप