शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालबाट तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

सोमबार, ०२ चैत २०७७, १६ : २४
सोमबार, ०२ चैत २०७७

–फुर्बा तामाङ

भीमेश्वर । दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ  । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् । 

सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबगरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेको छ । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय  ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ । विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यसरी सडक यातायात चलेमा चीनसँग जोडिने छोटो मार्ग बन्ने छ । जैसीका अनुसार आगामी दिनमा नाका  खुलाउने योजनाअनुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने सो नाका खुलाउन लागिएको छ । 

दोलखाबाट भारत र चीनसँग जोड्ने सो नै उत्तम नाका हुने सूचना तथा सञ्चारमन्त्री गुरुङले बताउँदै आएका थिए । माथिल्लो तामाकोशीको मुखबाट शुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए । 

सो मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्स माथिको भागमा करीब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । सो सुरुङसँगै थप नौ किमी सडक निर्माण भएपछि मात्रै चीनसँग नाका जोडिने छ । सो मार्गलाई  चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडकका रुपमा लिन सकिने मन्त्री गुरुङले बताएका छन् ।

चीनको तिब्बतदेखि भारतको भिठामोडसम्मको सो सडक निकै छोटो दूरीको हुने भएकाले दुवै देशका सामान लैजान र ल्याउन समेत सहज हुनेछ । भारतको सिमानादेखि लामाबगरसम्म पक्की सडक निर्माण यसअघि नै भएकाले लामाबगरदेखि लप्ची र  चीनको नाकासम्म सडक जोड्न बाँकी रहेको स्थानीयवासीले बताएका छन् । 

लप्चीदेखि तिब्बतको फलाकसम्मको १२  किमी सडक निर्माणपछि चीनको सिमानासम्म गाडीमा पुग्न सकिन्छ । यसअघि नै सडक डिभिजन कार्यालय दोलखाले ठेक्का लगाएर तीन किमी ट्र्याक खोलिसकेको छ । राजमार्ग निर्माणपछि भिठामोडदेखि फलाकसम्म मोटरमा पुग्न सकिने छ । यसबाट भारत र चीनसँग जोडिने उत्तर –दक्षिण राजमार्ग तयार हुनेछ । 

जैसीका अनुसार यस वर्ष तीन सुरुङमार्गको अध्ययन शुरु भइरहेको छ । सो राजमार्ग काठमाडौँ –निजगढ दुर्तमार्ग अन्तर्गत पर्छ ।  अन्य १७ सुरुङमार्ग अध्ययन सकिने अवस्थामा पुगेको बताइएको छ । सुरुङमार्ग निर्माणमा खर्च धेरै लाग्ने भए तापनि दूरीको हिसाबले छोटो हुने भएकाले सङ्घीय सरकारले यस प्रकारका सडक निर्माण गरी समय र आर्थिक भार कम गर्न सके देश विकासमा टेवा पुग्ने स्थानीयवासी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप