शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेले नेताद्वय नेपाल र रावलमाथि कारवाही गरेपछि के भन्छन् सुदूरपश्चिम प्रदेशका नेता ?

मङ्गलबार, १७ चैत २०७७, १६ : ०२
मङ्गलबार, १७ चैत २०७७

कैलाली । नेकपा एमालेले माधवकुमार नेपाल र भीम रावललाई कारवाही गरेपछि सुदूरपश्चिम प्रदेश तरङ्गित भएको छ । रावल सुदूरपश्चिम प्रदेशकै प्रभावशाली नेता रहेका कारण पनि उनीमाथिको कारवाहीलाई प्रदेशमा एमाले वृत्तले निकै चासोका साथ हेर्न थालेको छ ।  

एमालेका प्रदेश तहका नेता तथा कार्यकर्ताले भने उक्त कारवाहीलाई गुटगत आधारमै टिप्पणी गरेका छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओली निकटका नेता–कार्यकर्ताले माधवकुमार नेपाल र भीम रावलमाथिको कारवाही उचित भएको बताइरहँदा माधव पक्षका एमाले नेताले भने कारवाहीको वैधानिकतामा प्रश्न उठाएको छ ।

माधव पक्षका केन्द्रीय सदस्य झपट रावलले नेताद्वय नेपाल र रावलमाथि गरिएको कारवाहीको अर्थ नरहेको बताए । ‘नेकपा एमालेको नवौं महाधिवेशनबाट चुनिएका पदाधिकारीले गरेको कारबाहीमात्र आधिकारिक हुन्छ,’ रातोपाटीसँग उनले भने, ‘यो त एमाले र माओवादीको एकताबाट छुट्टिएर गएको एउटा गुटले गरेको कारवाही हो, यस्तो कारवाही वैधानिक हुँदैन ।’

प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमपछि सिर्जित परिस्थितिमा पार्टीभित्र दुई गुट सक्रिय रहेको उल्लेख गर्दै उनले एउटा गुटको नेताका रुपमा ओलीबाट भएको कारवाहीलाई पार्टीले गरेको कारवाही भनेर मान्न नसकिने प्रस्ट पारे ।

‘महाधिवेशनबाट चुनिएका स्थायी समिति, केन्द्रीय कमिटी, पोलिटब्युरो लगायतका सदस्य बसेर गरेको कारवाही पो कारवाही हुन्छ,’ उनले भने, ‘अहिलेको कारवाहीको वैधानिक आधार के हो ? माओवादीबाट गएका रामबहादुर थापा लगायत सम्मिलित गुटले गरेको  कारवाहीलाई पनि कारवाही भन्न मिल्छ ?’

एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा भने पार्टीको निर्णयविरुद्ध जाने, पार्टीको विधान उल्लङ्घन गर्ने, नेता तथा नेतृत्वलाई नमान्नेहरुलाई पार्टीले कारवाही गर्ने बताउँछन् । कारवाहीले पार्टीमा कुनै प्रकारको दरार नआउने बरु एक ढिक्का भएर अगाडि बढ्न मद्दत पुग्ने उनको भनाइ छ । ‘अहिले त सामान्य कारवाही गरिएको हो, उहाँहरुले आत्मालोचना गर्दै सुध्रिन्छौं, पार्टी नेता तथा नेतृत्वलाई स्वीकार गर्छौं भनेर आउनासाथ कारवाही फुकुवा हुन धेरैबेर लाग्दैन,’ उनले भने, ‘उहाँहरुले विगतमा गरेका गल्तीबारे पार्टी नेतृत्वसमक्ष माफी नमागेसम्म कारवाही फुकुवा हुँदैन ।’

नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापाले पनि नेताद्वय नेपाल र रावलमाथिको कारवाही जायज रहेको बताए । ‘पार्टी अनुशासन विपरीत केही व्यक्तिले काम गरेका कारण कारवाही भएको हो,’ उनले भने, ‘पार्टी फुटाएर आफनो स्वार्थ पूर्ति गर्न खोज्ने, पार्टी अध्यक्षविरुद्ध जान खोज्ने र निर्देशन नमान्नेहरुलाई कारवाही गर्नु सही हो ।’ विगतमा गरेका गल्तीलाई स्वीकार गर्दै सुध्रिएर आउँछन् भने कारवाही फुकुवा हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप