शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्रिय प्रेम दिवस’ मनाउने तयारी : जहरसिंहपौवामा २०५ देशका झण्डा फहर्‍याइने

शुक्रबार, २७ चैत २०७७, १९ : ३२
शुक्रबार, २७ चैत २०७७

फेब्रुअरी १४ मा तपाईमध्ये कतिले प्रेम दिवस मनाउनु भएको होला । आफ्ना प्रेमी– प्रेमिकालाई गुलाफको फूल दिएर प्रेम प्रकट गर्नुभएको होला । अन्र्तराष्ट्रिय प्रचलन अनुसार भित्रिएको यो पर्व यूवा -युवतीमाझ स्थापित भइरहेका बेला हरेक बैशाख १ गतेलाई नेपालकै मौलिक ‘राष्ट्रिय प्रेम दिवस’को रुपमा सुरुवात गरिँदैछ ।

काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको जहरसिंह पौवामा नयाँ वर्षको पहिलो दिनदेखि ‘राष्ट्रिय प्रेम दिवस’ मनाउन सुरु गर्न लागेको विश्वशान्ति एवम् राष्ट्रिय प्रेम पर्व नेपालका संयोजक कृष्ण केसीले रातोपाटीलाई जानकारी दिएका छन् । 

उनले भने, ‘मानिसहरूका बिचमा हुने सबै प्रेम ब्यक्तिगत प्रेम, पारिवारिक प्रेम, सामाजिक प्रेम, हरेक जनजीवनसँग जोडिएका प्रेम प्रकट गर्नका लागि बैशाख १ गतेका दिन राष्ट्रिय प्रेम पर्वका रुपमा विकास गर्न खोजेका छौँ । नेपालका सम्पूर्ण जातजाति, धर्म संस्कृति, विभिन्न समूह, सम्प्रदाय, सबै भूगोल क्षेत्रका मानिसले मनाउने साझा पर्वका रुपमा विकास गर्न लागेका छौँ ।’

नेपालमा दशै, फागु, माघी, ल्होसार जस्ता सबै आफ्ना प्रकारका चाडपर्व रहेका बेला बैशाख १ गतेका दिन सबै जातजाति, धर्म, विभिन्न तह र तप्काका ३ करोड नेपालीलाई एकताबद्ध गर्ने हिसावले र संसारभर छरिएर रहेका नेपालीहरुले हामी एक छौँ भनेर गर्वका साथ मनाउने राष्ट्रिय पर्वको रुपमा मनाउन सुरु गर्न लागेको केसीको भनाई छ । 

उनले भने–‘जसरी अंग्रेजी नयाँ वर्षलाई संसारभर साझा रुपमा मनाइन्छ त्यसैगरी बैशाख १ गते नेपाली नयाँ वर्षलाई पनि राष्ट्रिय प्रेम पर्वका रुपमा नेपालभित्रै रहेका र संसारभर छरिएर रहेका नेपालीलाई भावनात्मक रुपमा बाँध्ने एउटा उत्सवको रुपमा अघि बढाउनु अहिलको आवश्यकता महसुस गरेर हामीले यो काम सुरु गर्दैछौँ । राष्ट्रिय सद्भावको रुपमा र राष्ट्र प्रेम जगाउने पर्वका रुपमा यो बर्ष हामीले सांकेतिक रुपमा घोषणा गर्ने तयारी गरेका छौँ ।’

सो कार्यक्रममा लागि काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको जहरसिंह पौवाको ठानाभञ्याङलाई छानिएको छ । जुन नगरकोट र शिवपुरीको बिच भागमा रहेको हिमाल देखिने अग्लो स्थानमा रहेको छ । विभिन्न सांस्कृतिक झाँकीसहित गरिने कार्यक्रममा २ सय ५ देशका राष्ट्रिय झण्डा फह¥याउने तयारी थालिएको छ । 

सो स्थानलाई खुला राष्ट्रिय सङ्ग्रहालयको रुपमा विकास गरिने, देश विदेशका सवै मानिस आएर रमाउने अध्ययन अनुसान्धान गर्ने स्थलको रुपमा विकास गर्ने संयोजक केसीको भनाई छ । 
यस्तै काठमाडौंका चावहिलदेखि उत्तरपूर्वका ५ वटा नगरपालिकालाई त्यहाँको स्थानीय तहको सहयोगमा हरित शहरको रुपमा विकास गर्न खोजेको उनले बताए ।

बैशाख १ गते काठमाडौं महानगरपालिका सहित काठमाडाैंका पूर्वी क्षेत्रलाई पशुपति, बौद्धनाथ, चाँगुनारायण तथा स्थानीय तहका प्रतिनिधिको सहभागितामा श्वेतपत्र जारी गर्दै उनीहरुबाट हरित शहरको घोषणा गर्ने कार्यक्रमपनि राखिएको छ । 
केसीले भने–‘कार्यक्रमका २ उदेश्य राखिएको छ । पहिलो त्यस स्थानमा देश विदेशका पर्यटक आएर राष्ट्रिय प्रेम दिवस मनाउने कार्यको सुरुवात गर्ने र दोश्रो काठमाडौंका पूर्वी क्षेत्रलाई एउटा नमुना हरित शहर बनाउने कार्यक्रमको घोषणा गर्ने रहेको छ । काठमाडौं उपत्यका पूर्वी क्षेत्र जलाधार संरक्षण, साँस्कृतिक वातावरण मैत्री पर्यटकीय हरियाली शहर विकासका लागि ठाना भञ्ज्याङमा साँस्कृतिक संग्रालय र राजनीतिक संग्रालय, नेपाल मण्डल तथा ग्लोबल भिलेज निर्माणबारे छलफल हुने र १० दिने मुर्तिकला राष्ट्रिय कार्यशाला आयोजना गरिएको हो ।’

उनले अहिले काठमाडाैंमा वातावरण प्रदूषण भएको, काठमाडौंका तीस–चालिस लाख मानिसलाई शान्तपूर्वक बस्ने स्थानको रुपमा विकास गर्न लागिएको उनको भनाई छ । सो कार्यक्रममा राज्यका विभिन्न निकायका प्रतिनिधिलाई सहभागी गराउने उनले बताए । हरेक बर्ष बैशाख १ गते सो स्थानमा ‘आर्ट फेस्टिभल’ गरिने उनको भनाई छ । 

कार्यक्रम स्थल काठमाडौंको रत्नपार्कबाट २५ किलोमिटर उत्तरपूर्वी क्षेत्रमा पर्छ । सो क्षेत्रबाट सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट नजिकै पर्छ भने नगरकोटबाट पनि नजिकै रहेको छ । जहाँबाट नगरकोटबाट देखिने हिमशृङखलाको पनि अवलोकन गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप