वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको अक्सिजन सहितको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउँदै
सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोरोना संक्रमितको दर र मृत्युदर बढ्दै गएको छ । एकातिर कोरोनाका बिरामीले अस्पतालमा बेड पाउन मुस्किल हुने अवस्था आइसकेको छ भने अर्कातिर बिरामीका लागि आवश्यक अक्सिजनको अभाव भइरहेको अवस्था छ ।
कोरोनाका बिरामीहरु दैनिक सयौँको हाराहारीमा थपिने गर्दा अस्पतालका बेडहरु भरिन थालेका छन् । प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप निकै बढेको अस्पताल स्रोतले बताएको छ ।
प्रदेश सरकार र स्थानीय सरकारले कोरोना रोकथाममा कुनै कदम नचालेको भन्दै चर्का आलोचना समेत हुने गरेको छ ।
चर्को आलोचनका बीचमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भने ५० बेडको अक्सिजन सहित आइसोलेसन अस्पताल सञ्चालन गर्ने भएको छ ।
तत्कालै २५ बेडको सेवा सुरु गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालका अनुसार कटुकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सेवा सञ्चालन गर्न लागिएको हो ।
नगरपालिकाले नै निर्णय गरेर उक्त, कामको थालनी अघि बढाइएको हो,’ ढकालले रातोपाटीसँग भनिन् ।
तयारी अन्तिम चरणमा रहेकाले एकदुई दिनमै सेवा सुरु हुने ढकालले बताइन् ।
नगरपालिकाले सञ्चालनमा ल्याएको अस्पताललाई कर्णाली प्रदेश अस्पतालसँग समन्वय गरिने छ । जस अनुसार डाक्टरहरुको परामर्श, सल्लाह पनि लिने उनले बताईन् । साथै दुईजना डाक्टरहरुको पनि व्यावस्थापन गरिएको छ ।
आईतबार बालरोग विशेषज्ञ डा. नवराज केसी, र प्रदेश अस्पतालमै कार्यरत डा. प्रदीप पौडेलसँग पनि छलफल गरिएको ढकालले बताइन् ।
साथै ढकालले कोरोना संक्रमण बढ्दै गएकोले सबैले सुरक्षाको विधिको पालना गरी रोगबाट सुरक्षित बन्न समेत आग्रह गरिन् ।
साथै नगरभित्रका कुनै पनि व्यक्तिलाई समस्या परेको खण्डमा स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुहुन अनुरोध समेत गरिन् । उनका अनुसार अस्पतालसँगै एम्बुलेन्स सेवाको पनि व्यवस्थापन गरिएको छ। कोरोनाका बिरामीका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।
यस्तै नगरपालिकाले हप्ताको दुईदिन सोमबार र शुक्रबार कोरोना परिक्षण समेत गर्ने गरेको छ । नगरपालिकामै यो सेवा केही दिन अघिदेखि सञ्चालनमा ल्याएको हो ।