शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारी रोकथाममा महालक्ष्मी नगरपालिकाको सक्रियता, १९ बुँदे अपिल सार्वजनिक

शनिबार, २५ वैशाख २०७८, १८ : ०७
शनिबार, २५ वैशाख २०७८

ललितपुर– पूरै मुलुकलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीको चपेटामा नगरवासीलाई पर्न नदिन महालक्ष्मी नगरपालिकाले जनचेतना लगायतका कार्यहरूलाई तीव्रता दिएको छ । जनचेतना जगाउने क्रममा नगरका १० वटै वडामा नगरपालिकाले माइकिङ सुरु गरेको छ । 

नयाँ भेरिएन्टको कोरोना भाइरस ७० प्रतिशतसम्म फैलन सक्ने भएकाले नगरवासीलाई बढी होसियारी अपनाउन आग्रह गर्दै माइकिङ गर्न थालिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए । ‘यो काममा प्रत्येक वडाका जनप्रतिनिधि, टोलटोलमा रहेका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका लगायत लाग्नु भएको छ । समय साँच्चै चुनौतीपूर्ण बनेको छ,’ उनले भने, ‘नगरपालिकाले गर्नुपर्ने आवश्यक काम त गरिहाल्छ, यो विषम परिस्थितिमा नगरवासीका तर्फबाट सचेतना अपनाउनु जरुरी छ ।’

यसका लागि नगरपालिकाले १९ बुँदे अपिल सार्वजनिक गरेको, जसमा आफूलाई कोरोना संक्रमण नहोस् भन्नका लागि नगरवासीले कस्ता काम गर्न हुने र कस्ता काम गर्न नहुने भनी जानकारी गराइएको, उक्त अपिल सम्पूर्ण नगरबासी माझ पु¥याउने काम भइरहेको पनि प्रमुख श्रेष्ठले बताए । 

नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाको विशेष पहलमा किष्ट हस्पिटलमा चलाइएको खोप अभियान कार्यलाई पीएसजीमा समेत सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए । 
नगरपालिका भित्र ३० बेड क्षमताको अक्सिजन सहितको युनिट स्थापनाको कार्य अगाडि बढाइएको छ । त्यसलाई ५० बेड क्षमतामा विस्तार गर्न टेक एन्ड केयर हस्पिटलसँग सहकार्य गरी केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिए । ‘यसका लागि अक्सिजन तथा जनशक्ति व्यवस्थापनको कार्य नगरपालिकाले गरिरहेको छ,’ उनले भने  । 

नगरप्रमुख श्रेष्ठका अनुसार, नगरपालिका भित्र कोही संक्रमितलाई उपचारका लागि अस्पतालसम्म पु¥याउन छुट्टै एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ । नगरपालिकाका १० वटै वडामा रहेका कोरोना संक्रमितहरुका लागि यो सेवा उपलब्ध गराइएको छ । कन्ट्याक्ट ट्रेसिङलाई पनि प्राथमिकता दिइएको, एन्टिजेन परीक्षण सुरु गरिसकेको र एन्टिजेनबाट शंका लागेमा पीसीआर टेष्टको समेत व्यवस्था नगरपालिकाले गरेको श्रेष्ठले बताए ।

नगरपालिकाले सबै वडामा एक–एक स्वास्थ्यकर्मीसमेत खटाएको छ । होम आइसोलेशनमा रहेका नगरवासीहरुको सुरक्षाको प्रत्याभूति गर्नका लागि र कोरोना भाइरसको नयाँ भेरिएन्टबारे जोकोहीलाई बुझ्नु परेमा नगरपालिकाले चौबीसै घण्टा चारजना डाक्टरबाट परामर्श दिने काम गरिरहेको छ । ‘आजको दिनसम्म ३०० जनाभन्दा बढी नगरवासीले यो सेवा लिइसकेको श्रेष्ठले जानकारी दिए । 

होम आइसोलेसनमा भएका नगरवासीहरुको मानसिक अवस्थालाई ध्यानमा राख्दै एक जना मनोचिकित्सकको पनि चाँडै व्यवस्था गर्ने योजनामा नगरपालिकाको छ । त्यसैगरी, नगरपालिकाले निम्न आर्थिक अवस्था भएका नगरवासीहरूलाई रोजगारी दिने र नगरपालिका भित्र कसैले पनि भोकै रहनु नपरोस् भनेर खाद्यान्नको समेत व्यवस्थापन गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप