शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ र उपेन्द्रको वार्ता निष्कर्षहीन, फुटको संघारमा पुग्यो जसपा

सोमबार, ०३ जेठ २०७८, १५ : ०४
सोमबार, ०३ जेठ २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देखिएको आन्तरिक विवादको समाधानका लागि आइतबार शीर्ष तहमा वार्ता भयो । तर, वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन ।

शनिबार उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी सदस्यको बैठक बोलाएका थिए । त्यो बैठकको महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए । 

त्यसपछि अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आइतबार वार्ता भयो । सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधानअनुसार अगाडि बढ्ने निर्णय भएको भोलिपल्टै यादवले ठाकुरसँग वार्ता गरेका हुन् ।

दुई अध्यक्षबीच छोटो समय भएको वार्ताले ठोस निकास ननिकाले पनि आपसमा बढेको दुरी घटाउने र सहमतिमै समाधान खोज्नेबारे कुराकानी भएको जसपा नेताहरु बताउँछन् ।

आरोप–प्रत्यारोप जारी

अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतलाई जोडेर विभिन्न टीकाटिप्पणी गरिरहेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीसँग जोडेर टिप्पणीहरु गरिरहेका छन् ।

जसपाका सांसदहरु एमाले नेता महेश बस्नेतका साथमा भक्तपुरको डोलेश्वर रिसोर्टमा देखिएपछि उपेन्द्र यादव पक्षका लागि ठूलो मसला बनेको छ । अर्कोतिर संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेको विषय ठाकुर पक्षका नेताहरुका लागि मसला बनेको छ ।

प्रधानमन्त्री ओलीले लिएको विश्वासको मतमा जसपाको तटस्थता र विपक्षमा मतदान, भक्तपुर रिसोर्टमा सांसदको भेला, राजेन्द्र महतो संसदीय दलको नेतामा चयन, लुम्बिनी प्रदेशमा चारजना सांसदलाई कारवाही लगायतका विषयमा जसपामा विवाद चर्किएको हो ।

पार्टीमा देखिएको विवादलाई छलफल र संवादको माध्यमले समाधान गर्नुपर्ने धारणा दुवै पक्षका नेताहरुको छ । तर, अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले महन्थ ठाकुरहरु बैठक नै बस्न नमानेको आरोप लगाउँदै आएका छन् । महन्थ ठाकुरले बैठक बस्न नमानेका कारण बहुमत सदस्यीयको निर्णयबाट बाध्य भएर काम गरिरहेको उपेन्द्र यादव पक्षको दाबी छ ।

राजेन्द्र महतो प्रकरण

जसपाका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेता भएको खबर बाहिर आएपछि पार्टीमा ठूलो विवाद उत्पन्न भएको छ । महन्थ ठाकुरले महतोलाई संसदीय दलको नेता चयन गरेर पार्टीको विधान विपरीत कार्य गरेको टिप्पणी उपेन्द्र यादवले गरिसकेका छन् ।

उता कार्यकारिणी सदस्य शरतसिंह भण्डारी भन्छन्, ‘राजेन्द्र महतो संसदीय दलको नेतामा चयन भएको कुरा मेरो जानकारीमा छैन । तर यति कुरा जानकारी छ कि पार्टी एकीकरणको समयमा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको थियो ।’

नेताहरुका अनुसार भक्तपुरको रिसोर्टमा यस विषयमा अनौपचारिक छलफल भएको थियो । यदि एकीकरणको समयमा महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको हो भने उनलाई दिँदा कुनै आपत्ति नहुने कुरा भएको र त्यहीअनुसार सायद संसदीय दलको नेतामा चयन गरेको हुनुपर्ने भण्डारीको तर्क छ ।

भण्डारी भन्छन्, ‘महतोजीलाई संसदीय दलको नेता चयन गरेर मात्र हुँदैन, संसद सचिवालयमा पत्र दर्ता गराएपछि त्यहाँबाट आउने अधिकारिकतामा मात्र दलको नेतामा मान्यता पाउनुहुनेछ ।’

उपेन्द्र यादव पक्षका नेता गंगा श्रेष्ठले भने आफूले थाहा पाएसम्म महतोलाई संसदीय दलको नेता बनाउने सहमति नभएको बताए । एकीकरणको समयमा पदका लागि जे–जे निर्णय भयो, ती सबै कार्यान्वयनमा आइसकेको बताउँदै उनले महतोलाई पार्टीको विधान विपरीत संसदीय दलको नेता बनाइएको बताए ।

‘पहिलो कुरा, संसदीय दल समायोजन भएको छैन, त्यसको विधान पारित भएको छैन, अनि उहाँ कसरी बन्नुभयो, संसदीय दलको नेता ?’ श्रेष्ठ भन्छन्, आफैंले आफैंलाई नेता घोषणा गरेर हुँदैन, त्यसका लागि प्रकृयामा जानुपर्छ । विधिपूर्वक हुनुपर्छ ।’

जे भएको छ, पार्टीकै निर्णयअनुसार भएको छ : भण्डारी

महन्थ ठाकुर पक्षका कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारी भन्छन्, ‘अहिलेसम्म पार्टीमा जे जति भएका छन्, ती सबै पार्टीको निर्णयअनुसार भएको छ, यसमा कसैले कसैमाथि चित्त दुखाउन हुँदैन । उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले जे–जे गरिरहेका छन्, त्यो सबै पार्टीको निर्णयअनुसार नै भइरहेको छ ।’

पाँचजना पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो । तर, संसदलाई स्वविवेक प्रयोग गर्न भनिएको थियो । सांसदहरुले स्वविवेक प्रयोग गर्दा नेताहरुले किन चित्त दुखाएका हुन्, आफूले थाहा नपाएको भण्डारीले बताए ।

यादवका पक्षका सांसदहरुले विपक्षमा मतदान गर्नु र महन्थ ठाकुर पक्षका सांसदहरु तटस्थ बस्नु पार्टीको निर्णयअनुसार नै भएको भण्डारीले दाबी गरे । उनले भने, ‘सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गर्ने अनि तटस्थ किन बसे, विपक्षमा मतदान किन गरे, फलानो नेताले फलानोलाई भेट्न किन गएजस्ता विवाद गर्नुको तुक छैन ।’

नेताहरुले गरेको निर्णयकै आधारमा पार्टीका सांसदहरु भक्तपुरको डोलेश्वर रिसोर्टमा गएको दाबी गर्दै भण्डारीले कोरोनाका कारण उकुस–मुकुस भइरहेका सांसदहरु फ्रेस हुनका लागि रिसोर्ट गएर कुनै गल्ती नगरेको बताए । उनले जसपाको विवादमा महेश वस्नेतलाई ल्याउन नहुने बताए ।

भण्डारीले अगाडि भने, ‘उपेन्द्र यादवजी प्रचण्डलगायत विभिन्न नेतालाई भेटेको फोटोहरु बाहिर आएका छन् त्यसलाई के भन्ने ? उपेन्द्र यादव प्रचण्डबाट परिचालित हो भन्ने हो त ? त्यस्तो होइन, एउटा नेताले अर्को नेतासँग भेट्नु स्वाभाविक हो । भेट हुन्छ, त्यसलाई अन्यथा लिनुहुँदैन ।’

उनले थपे, ‘महेश बस्नेतको घरछेउमा गएका थियौं, उहाँ भेट्न आउनुभयो । यसलाई अतिरञ्जित बनाउनुहुँदैन ।’

अहिलेसम्म उपेन्द्र यादव र महन्थ ठाकुर पार्टीको निर्णय विपरीत नगएको बताउँदै उनले केही कमी कमजोर भएका छन्, त्यसलाई मिलेर सच्याउन सकिने बताए । नेता भण्डारीले पार्टीमा जेजस्ता समस्या छन्, ती सबै वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने बताउँदै बडो कष्ट र मेहनतले यो पार्टी एकीकरण भएको हुनाले यसलाई त्यतिकै विभाजनमा जान दिन नहुने बताए । जे–जस्ता कमी कमजोरी भएका छन्, ती सबैलाई बिर्सेर सहमतिका लागि बार्तामा गर्नुपर्ने उनले बताए ।

बैठक नबस्नु नै समस्याको कारक : गंगा श्रेष्ठ

उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ पार्टीको विवाद बैठक बसेर समाधान गर्नुपर्ने बताउँछन् । उनले रातोपाटीसँग भने, ‘यसलाई जति दिनसम्म छाडिराख्यो, त्यति नै विवाद बढ्दै जाने भएकाले तत्कालै कार्यकारिणी समितिको बैठक बसेर समाधान गर्नुपर्छ ।’

कार्यकारिणी समितिको बैठकमा सर्वसम्मति भएन भने बहुमतका आधारमा निर्णय गर्दै अगाडि बढ्नुपर्ने र त्यसलाई सबैले स्वीकार गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

‘पछिल्लो समय दुवै पक्षबाट आ–आफ्नो पक्षमा बहुमत रहेको भन्दै विज्ञप्तिबाजी भयो, विभिन्न गतिविधिहरु त्यो हुनु नपर्ने कुरा थियो’ श्रेष्ठ भन्छन्, ‘यदि बहुमतकै आधारमा निर्णय गर्दै अगाडि बढ्ने हो भने कार्यकारिणी समितिको बैठक बसौं र त्यहाँ जसको बहुमत हुन्छ, त्यसले आफनो काम कारवाही हुन्छ, कोठामा बसेर निर्णय गरेर हुँदैन ।’

कार्यकारिणी समितिको बैठक बसाउन जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले महन्थ ठाकुरलाई पटक–पटक आग्रह गरेको तर, उहाँ बैठक बस्न नमानेको श्रेष्ठ बताउँछन् ।

लुम्बिनी प्रदेशमा भएको घटनाको विषमया पनि बैठकबाटै त्यसलाई टुग्याऔं भन्दा पनि ठाकुर नमानेको यादव पक्षको भनाइ छ । पछि काँग्रेस र माओवादीसँग मिलेर ओलीको विकल्पमा सरकार निर्माणको विषयमा पनि बैठक गरेर छलफल गरौं भन्दा पनि उनले नमानेको बताउँदै गंगा श्रेष्ठले बैठक बस्न नमानेकै कारण समस्या आएको बताए ।

प्रतिनिधिसभामा विश्वासको मतदान गर्ने दिन बसेको पदाधिकारी बैठकले विश्वासको पक्षमा मतदान नगर्ने, यदि मतदान गर्ने अवस्था नै आयो भने विपक्षमा मतदान गर्ने तर सांसदलाई ह्वीप नलगाउने निर्णय गरेको श्रेष्ठ बताउँछन् । तर, अध्यक्ष ठाकुरले तटस्थ बसेर जे–जे हरकत गरे, त्यो कसैबाट नलुकेको उनले बताए ।

पुस ५ गते प्रधानमन्त्री ओलीे चालेको प्रतिगामी कदमको विरुद्धमा अध्यक्ष ठाकुरले स्वयं सडक आन्दोलन गरेका थिए, विज्ञप्ति जारी गरेर नै ओलीको विरुद्ध गरेका थिए । तर, एक महिना नबित्दै ओलीले के जादु गरे, जसले ठाकुरलाई ओलीसँग नजिक बनायो ? यो कुरा आफूले बुझ्न नसकेको श्रेष्ठ बताउँछन् ।

ओलीले गलत गरेका हुन् र त्यसलाई स्वीकार गर्न सकिँदैन भन्ने पक्षमा आफूहरु रहेको तर त्यसबारे पार्टीमा छलफल हुनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप