प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत
प्रदेश नं. ४ मा ११ वटा जिल्ला छन् । यो प्रदेशमा प्रतिनिधि सभा निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि ३६ क्षेत्र कायम गरिएको छ । लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र पर्वतमा प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचनका लागि २ क्षेत्र रहेको छ भने गोरखा, तनहुँ, स्याङ्जा, वागलुङ र नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्लामा प्रतिनिधि सभाका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ निर्वाचन क्षेत्र रहेका छन् । यस्तै कास्कीमा प्रतिनिधि सभा निर्वाचनका लागि ३ र प्रदेशसभा निर्वाचनका लागि ६ क्षेत्र रहेका छन् ।
निर्वाचन कार्यक्रम अनुसार पहिलो चरणमा हुने हुने निर्वाचन अन्तर्गत आउँदो मङ्सिर १० गते प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा चुनाव हुँदैछ । दोस्रो चरण मङ्सिर २१ गते नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा र पर्वतमा निर्वाचन हुँदैछ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ४ का ११ जिल्लाका स्थानीय तहका प्रमुख पदमा राजनीतिक दलहरूले पाएको मतका आधारमा ती स्थानमा उनीहरूको अवस्था कस्तो छ भनेर हामीले बुझ्ने प्रयास गरेका छौँ । यस आधारमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय जनमोर्चा चौथो र नयाँ शक्ति नेपाल पाँचाँै ठूलो दल बनेका छन् । अगामी निर्वाचनमा वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच चुनावी प्रतिस्पर्धा हुने भएपछि यस पटकको चुनाव रोचक हुने देखिएको छ । आफ्नो पक्ष बलियो बनाउन र राजनीतिक लाभ हासिल गर्न तीव्र रूपमा राजनीतिक ध्रुवीकरण पनि भइरहेको छ ।
प्रदेश नं. ४ का ११ जिल्लामा राजनीतिक दलको अवस्था यस्तो छ
गत स्थानीय तहको निर्वाचनमा विभिन्न जिल्लाका स्थानीय तह नगरपालिका, गाउँपालिका प्रमुख पदमा प्राप्त मतका आधारमा ती जिल्लामा दलहरूले कति मत प्राप्त गरे र बाम गठबन्धनको मत र नेपाली काङ्ग्रेसको मतको अवस्था कस्तो छ भन्ने बारे यहाँ चर्चा गरिएको छ ।
१. गोरखा
आगामी निर्वाचनमा गोरखामा रोचक चुनावी भिडन्त हुने देखिएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् । श्रेष्ठ एमाले–माओवादी गठबन्धनबाट र भट्टराई नयाँ शक्ति–काङ्ग्रेस गठबन्धनबाट चुनावी मैदानमा उत्रिने लगभग निश्चित भएको छ ।
स्थानीय तहको निर्वाचनमा गोरखामा नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो दल बनेको थियो । माओवादी केन्द्रले दोस्रो स्थान हासिल गरेको थियो भने नेकपा एमाले तेस्रो स्थानमा थियो । काङ्ग्रेसले ३८ हजार ५ सय ५६ मत पाएको थियो भने माओवादी केन्द्रले ३५ हजार २७ मत पाएको थियो । यस्तै नेकपा एमाललेले १७ हजार ८ सय ४६, नयाँ शक्ति नेपालले १४ हजार २ सय ६३, राप्रपाले ६ सय र सङ्घीय समाजवादी फोरमले ५१ मत ल्याएको थियो ।
गोरखाका दुई क्षेत्रमध्ये क्षेत्र नं. १ काङ्ग्रेसले लिने र क्षेत्र नं. २ नयाँ शक्तिलाई दिने सहमति भएको छ । जिल्लामा माओवादी र एमालेलेको मत एकै ठाउँमा मिसाउँदा ५२ हजार ८ सय ७३ हुन्छ भने नेपाली काङ्ग्रेस र नयाँ शक्तिको मत मिसाउँदा ५२ हजार ८ सय १९ हुन्छ । यस आधारमा नयाँ शक्ति र काङ्ग्रेस ५४ मतले पछाडि छ । तर यो स्थानीय नेताका लागि प्राप्त मत हो । प्रतिनिधि सभा निर्वाचनमा उठ्ने उम्मेदवारको व्यक्तित्वका कारण पनि यो मत तलमाथि हुन सक्छ ।
गोरखामा नयाँ शक्ति र नेपाली काङ्ग्रेसले चुनावी तालमेल गरेर अघि बढे भने माओवादी र एमाले गठबन्धनबीच चुनौतीपूर्ण प्रतिस्पर्धा हुनेछ । गोरखामा आगामी निर्वाचनका लागि १ लाख ८९ हजार, ४ सय ३८ मतदाता रहेका छन् ।
२) लमजुङ
लमजुङमा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । काङ्ग्रेसले ३२ हजार ३३७, एमालेले २४ हजार ७०६, माओवादीले ९ हजार ९२७, राप्रपाले ५ सय २८, नयाँ शक्तिले ४ सय ६१ मत ल्याएको थियो । यस आधारमा यहाँ वाम दलको ३४ हजार ६ सय ३३ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको भन्दा २ हजार २ सय ९६ मत बढी हो । लमजुङमा नयाँ शक्तिको ४ सय ६१, फोरम लोकतान्त्रिकको १७ सङ्घीय समाजवादी फोरमको ४३ र राप्रपाको ५ सय २८ मत छ । यदि यी दलहरूको मत काङ्ग्रेसमा मिसाइयो भने ३३ हजार ४ सय ३२ मत हुन्छ । यो मत वाम दलको कूल मतभन्दा १२ सय १ मत कम हो । यस आधारमा हेर्दा लमजुङमा वाम दल र नेपाली काङ्ग्रेसबीच चुनौतीपूर्ण भिडन्त हुने देखिन्छ । यहाँ आउँदो चुनावका लागि १ लाख १५ हजार ४ सय ५६ मतदाता रहेका छन् ।
३) तनहुँ
स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली काङ्ग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेका थिए । यहाँ काङ्ग्रेसले ५८ हजार १ सय ९१ मत, एमालेले ५० हजार ४ सय ९३ मत र माओवादी केन्द्रले ७ हजार ३ सय ६० मत पाएका थिए । अन्य दलहरूले भने ५ सय माथिको मत पाउन सकेका थिएनन् । यस आधारमा हेर्दा यहाँ वाम दल र नेपाली काङ्ग्रेसको चुनावी प्रतिस्पर्धा चुनौतीपूर्ण हुने छ । दुई वाम दलले पाएको मत मिसाउँदा ५७ हजार ८ सय ५३ हुन्छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ३ सय ३८ मत कम हो । यदि यहाँ नेपाली काङ्ग्रेसले राप्रपा, नयाँ शक्ति जस्ता साना दलसँग सहकार्य गर्यो र जनताले खोजेको व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सार्यो भने वाम दललाई पराजित गर्न उसलाई कुनै कठिन नपर्ने देखिन्छ । तनहुँमा आगामी निर्वाचनका लागि २ लाख ११ हजार २ सय ५६ मतदाता रहेका छन् ।
४) कास्की
कास्कीमा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो, नेपाली काङ्ग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको थियो । एमालेले ७८ हजार ७ सय ३० मत, नेपाली काङ्ग्रेसले ६२ हजार ६ सय ४७ र माओवादी केन्द्रले १२ हजार ७ सय ३० मत पाएको थियो । यस्तै राप्रपाले २ हजार ८ सय ४६, सङ्घीय समाजवादी फोरमले ३ हजार १ सय ७४ राष्ट्रिय जनमोर्चाले २ सय ४७ र नयाँ शक्तिले ३ सय ९ मत ल्याएको थियो । यसआधारमा यहाँ वाम गठबन्धनको ९१ हजार ७ सय १२ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा २९ हजार ६५ मत बढी हो । आगामी निर्वाचनका लागि कास्कीमा २ लाख ५५ हजार ४ सय ८१ मतदाता रहेका छन् ।
५) मनाङ
मनाङमा सबैभन्दा थोरै मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा यहाँ नेपाली काङ्ग्रेसले १२ सय १८, नेकपा एमालेले १३ सय ३९, माओवादी केन्द्रले ५ सय १६ मत पाएका थिए । यहाँ बाम गठबन्धनको १८ सय ५५ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ सय ३७ मत बढी हो । यहाँ आगामी निर्वाचनका लागि ५ हजार ८ सय ८० मतदाता रहेका छन् ।
६) मुस्ताङ
मुस्ताङमा नेपाली काङ्ग्रेसले २ हजार ६ सय ५ मत ल्याएको थियो भने नेकपा एमालेले १ हजार ७ सय ६१ र माओवादी केन्द्रले २ सय ६२ मत ल्याएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको २ हजार २३ मत छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ५ सय २८ मत कम हो । यहाँ आगामी निर्वाचनमा काङ्ग्रेस र बाम गठबन्धनको कडा टक्कर हुने देखिएको छ । मुस्ताङमा अगामी निर्वाचनका लागि ५ हजार ८ सय ८० मतदाता रहेका छन् ।
७) पर्वत
गत स्थानीय तहको निर्वाचनमा पर्वतमा नेपाली काङ्ग्रेसले २९ हजार १२ मत, नेकपा एमालेले २९ हजार ३ सय ९० र माओवादी केन्द्रले ५ हजार ८ सय ९४ मत पाएका थिए । अन्य दलले भने ५ सय मत कटाएका छैनन् । यस अधारमा पर्वतमा वाम दलको कूल मत ३५ हजार २ सय ८४ छ जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ हजार २ सय ७२ मत बढी हो । आगामी निर्वाचनका लागि पर्वतमा १ लाख ७ हजार २ सय ९८ मतदाता रहेका छन् ।
८) स्याङ्जा
स्याङ्जामा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ५६ हजार ७ सय ३३, नेकपा एमालेले ६१ हजार ११, माओवादी केन्द्रले ५ हजार ५ सय ७३, राप्रपाले १ हजार ३ सय १६, राष्ट्रिय जनमोर्चाले २ सय ४१ र नयाँ शक्तिले २ सय ८० मत पाएका थिए । यस आधारमा स्याङ्जामा बाम दलको ६६ हजार ५ सय ८४ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ९ हजार ५१ मत बढी हो । आगामी निर्वाचनका लागि स्याङ्जामा २ लाख १० हजार ५८ मतदाता रहेका छन् ।
९) म्याग्दी
म्याग्दीमा नेपाली काङ्ग्रेसले १६ हजार १ सय ३९, नेकपा एमालेले २० हजार २ सय ५२, माओवादी केन्द्रले ६ हजार ७४, राप्रपाले ४ हजार १ सय ३४ मत पाएका थिए । यहाँ नेकपा एमालेले नेपाली काङ्ग्रेसले भन्दा ४ हजार हाराहारी बढी मत ल्याएर पहिलो दल बनेको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको २६ हजार ३ सय २६ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १० हजार १ सय ८७ मत बढी हो । आगामी निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५ सय ३८ मतदाता रहेका छन् ।
१०) बाग्लुङ
गत स्थानीय तहको निर्वाचनमा बाग्लुङमा नेपाली काङ्ग्रेस पहिलो दल बनेको थियो । नेपाली काङ्ग्रेसले ४० हजार ८ सय ७३ मत ल्याएको थियो भने नेकपा एमालेले २७ हजार २ सय ७२ र माओवादी केन्द्रले ११ हजार ७ सय ४७ मत ल्याएको थियो । यस्तै तेस्रो दल बनेको राष्ट्रिय जनमोर्चाले १६ हजार ५ सय १४ मत ल्याएको थियो । यस आधारमा यहाँ माओवादी केन्द्र र नेकपा एमालेको मत एकै ठाउँमा मिसाउँदा ३९ हजार १९ हुन्छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १८ सय ५४ मत कम हो । यहाँ राष्ट्रिय जनमोर्चाको पनि राम्रो मत रहेको छ । गठबन्धन बनाउनेतिर लागेमा जनमोर्चा जता ढल्किन्छ, त्यतै जित सुनिश्चित हुने आँकलन गर्न सकिन्छ । आगामी निर्वाचनका लागि यहाँ १ लाख ६७ हजार २ सय ८२ मतदाता रहेका छन् ।
११) नवलपरासी (बर्दघाट–सुस्तापूर्व)
नवलपरासीमा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ६२ हजार ६ सय ३८, नेकपा एमालेले ५८ हजार १ सय ४६, माओवादी केन्द्रले ८ हजार ७ सय ८९ राप्रपाले १ हजार २ सय ९४ मत पाएको थियो । यस आधारमा यहाँ वाम दलको ६६ हजार ९ सय ३५ मत रहेको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ४ हजार २ सय ९७ मत बढी हो । आगामी निर्वाचनका लागि यहाँ २ लाख २१ हजार ७ सय १५ मतदाता रहेका छन् ।
समग्र ४ नम्बर प्रदेशमा यस्तो छ दलहरूको अवस्था
प्रदेश नम्बर ४ का ११ जिल्लामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल लगायतका दलहरू क्रियाशील छन् । गत स्थानीय तहको निर्वाचनमा प्रदेश नं. ४ का ११ जिल्लाका स्थानीय तहका प्रमुख पदका लागि कुल सदर ९ लाख, २३ हजार ८ सय मत खसेको थियो ।
प्रदेश नं. ४ मा राजनीतिक दलहरूले पाएको कुल मत विवरण यस्तो छ
१) नेपाली काङ्ग्रेस : ४ लाख ९ सय ४९ अर्थात् ४३ दशमलव ४३ प्रतिशत
२) नेकपा एमाले : ३ लाख ७१ हजार १ सय ९८ अर्थात् ४० दशमलव २१ प्रतिशत
३) माओवादी केन्द्र : १ लाख ३ हजार ८ सय ९९ अर्थात् ११ दशमलव २५ प्रतिशत
४) राष्ट्रिय जनमोर्चा : १७ हजार ४ सय १३ अर्थात् १ दशमलव ८८ प्रतिशत
५) नयाँ शक्ति नेपाल : १६ हजार ९ सय ७० अर्थात् १ दशमलव ८३ प्रतिशत
६) राप्रपा : ११ हजार ८ सय ७८ अर्थात् १ दशमलव २८ प्रतिशत
७) सङ्घीय समाजवादी फोरम : ३ हजार ८ सय ४४ अर्थात् ० दशमलव ४१ प्रतिशत
प्रदेश नं. ४ मा वाम दलको कुल ४ लाख ७५ हजार ९७ मत छ, जुन नेपाली काङ्ग्रेसले पाएको भन्दा ७४ हजार १ सय ४८ मतले बढी हो । यो प्रदेशका गोरखा तनहुँ, मुस्ताङ र बाग्लुङमा नेपाली काङ्ग्रेसको सशक्त उपस्थिति छ । यी जिल्लामा नेपाली काङ्ग्रेसले साना दलसँग तालमेल गर्यो भने जित आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ । गोरखामा नयाँ शक्ति र काङ्ग्रेसबीच तालमेल भयो भने दुवैले एक एक सिट नबाँड्लान भन्न सकिन्न । यस्तै तनहुँमा पनि काङ्ग्रेसको राम्रो उपस्थिति देखिन्छ । बाग्लुङमा जनमोर्चाले कुन दलसँग तालमेल गर्छ, ती दलको पक्षमा मतसङ्ख्या बलियो हुनेछ । यस्तै मुस्ताङमा पनि नेपाली काङ्ग्रेसको राम्रो पकड देखिएको छ । यी जिल्लाबाहेक अन्य ७ जिल्लाहरूमा वाम गठबन्धन बलियो देखिएका छन् । गोरखामा नयाँ शक्ति र वागलुङमा राष्ट्रिय जनमोर्चाको राम्रो उपस्थिति रहे पनि यो प्रदेशका अन्य जिल्लामा ५ सय भन्दा तल मत पाएका छन् । हामीले स्थानीय तहका प्रमुखले पाएको मतको आधारमा दलको जिल्लागत र प्रदेशगत अवस्थालाई उल्लेख गरेका हौँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको व्यक्तित्व र दलले निर्माण गर्ने गठबन्धनका आधारमा अहिले पाएको मतमा तलमाथि हुन सक्नेछ ।
यो पनि पढ्नुहोस्