‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले पार्टीमा 'एक व्यक्ति, एक पद' व्यवस्था लागू गर्न नहुने बताएका छन् ।
- उनले उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी र निर्वाचित प्रतिनिधिहरूको राजनीतिक भविष्य सीमित हुने र यसले नेतृत्व विकासमा बाधा पुग्ने तर्क गरे ।
- पार्टीभित्र विचार, बहस र राजनीतिक विमर्शमार्फत नेतृत्व विकास हुने र त्यही प्रक्रियाबाट तयार भएका व्यक्तिहरू जनप्रतिनिधिका रूपमा चुनावी मैदानमा जाने उनको भनाइ छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं रास्वपा बागमती प्रदेश सभापतिका उम्मेदवार डा.अच्युतम लामिछानेले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ व्यवस्था लागू गर्न नहुने बताएका छन् । शनिबार पार्टीको बागमती प्रदेशको अधिवेशनको क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी र निर्वाचित प्रतिनिधिहरूको राजनीतिक भविष्य नै सीमित हुने बताए ।
‘एक व्यक्ति, एक पद’ नीतिले पार्टीका सक्रिय नेता– कार्यकर्तालाई निष्क्रिय बनाउने उनको भनाइ छ । उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी तथा निर्वाचित प्रतिनिधिहरूको राजनीतिक अवसर सीमित हुन सक्ने उनको तर्क छ । उनले पार्टीलाई विद्यालय तथा विश्वविद्यालयसँग तुलना गर्दै जनप्रतिनिधित्वको यात्रा पार्टी सङ्गठनबाटै तय हुने पनि बताए ।
पार्टीभित्र विचार, बहस र राजनीतिक विमर्शमार्फत नेतृत्व विकास हुने र त्यही प्रक्रियाबाट तयार भएका व्यक्तिहरू जनप्रतिनिधिका रूपमा चुनावी मैदानमा जाने उनको भनाइ छ ।
उनले आफू पाँच वर्षका लागि सांसद मात्रै बन्न नआएको बताए । पार्टीका पदहरूलाई राजनीतिक यात्राका ‘स्टेप’ वा ‘भर्याङ’ का रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले पार्टीका महामन्त्री सांसद र मुख्य सचेतकसमेत रहेको उल्लेख गरे ।
रास्वपामा सांसदहरूलाई प्रदेश सभापति हुन रोक्न खोजेपछि नेता लामिछानेले असन्तुष्टि जनाएका हुन् । एक व्यक्ति, एक पदको अवधारणा लागू गर्ने विषयमा विवाद हुँदा यसअघि रास्वपा बागमती प्रदेश अधिवेशन रोकिएको थियो । उक्त रोकिएको अधिवेशन शनिबार काठमाडौँमा जारी छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि हाल मतदान कार्य भइरहेको छ । पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यको निर्वाचन गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुने जनाइएको छ । बागमती प्रदेश सभापतिका लागि डा.लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री प्रतिस्पर्धामा छन् । लामिछाने हाल प्रदेश सभापति समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण