शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ भेरोसेल खोप लिएका ज्येष्ठ नागरिक– ‘सरकार दोस्रो डोजमा धोका नहोस्’ (भिडियो)

बुधबार, २६ जेठ २०७८, १५ : ३६
बुधबार, २६ जेठ २०७८

मङ्गलबार दिउँसो ललितपुरको लुखुँसीस्थित प्रभात माध्यमिक विद्यालयमा पूर्णकुमार श्रेष्ठ नागरिकताको प्रमाणपत्र बोकेर पुगेका थिए । सरकारले ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ  नागरिकलाई खोप लगाउने भनेपछि आफ्नै घरछेउमा कोरोनाविरुद्धको खोप लगाउन पाएकोमा उनी खुसी देखिन्थे ।

तर दोस्रो डोज खोप समयमै लगाउन नपाइने हो कि भन्ने चिन्ता उनको थियो । अहिले चीनले दिएको १० लाख भेरोसेल खोपमध्ये ५ लाख पहिलो डोजका रूपमा र अर्को ५ लाख दोस्रो डोजको रूपमा लगाउनुपर्ने उनको भनाइ थियो । अहिले १० लाख खोप नै पहिलो डोजका रूपमा लगाए दोस्रो डोजका लागि कसले खोप देला भनेर आश गर्नुपर्ने र खोप लगाउन नपाउने अवस्था आउने बताए । 

खोप लगाउनेहरूलाई कोरोना सङ्क्रमणले धेरै असर नगर्ने सुनेको बताउँदै ज्येष्ठ नागरिकहरू हातमा आफ्नो उमेर खुल्ने नागरिकताको प्रमाणपत्र बोकेर खोप केन्द्रमा आइपुगेका थिए ।

ललितपुर लुँखुसीकै निर्मला जोशी प्रधानले यसअघि पनि नै खोप लगाउन चाहेकी थिइन् तर मानिसहरूको भीड धेरै भएका कारण लगाउन पाएकी थिइनन् ।

उनले यतिबेलासम्म सरकारले सबैलाई खोपको व्यवस्था गराइसक्नुपर्ने उल्लेख गरिन् । उनले भनिन्– ‘यस्तो महामारी आएको बेला यतिबेलासम्म सरकारले सबैलाई खोप लगाइसक्नुपर्ने हो । पहिले नै खोप लगाएको भए अहिलेको जस्तो अवस्था हुने थिएन् । शिक्षा र स्वास्थ्य क्षेत्र एकदमै महत्त्वपूर्ण क्षेत्र हो, त्यसमै लापरबाही गरेजस्तो लाग्छ ।’

उनले पहिलो डोज भ्याक्सिन लगाएपछि दोस्रो डोज आवश्यक पर्ने भन्दै कोभिसिल्ड भ्याक्सिनको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएको जस्तो अवस्था नबनाउन सरकारलाई आग्रह गरिन् ।

अर्का स्थानीय शिवशङ्कर श्रेष्ठले पनि अलि ढिलै भए पनि कोरोनाविरुद्धको खोप लगाउन पाएकोमा खुसी व्यक्त गरे । उनले कोभिसिल्ड खोप लिएका आफ्ना साथीहरूले अहिलेसम्म दोस्रो डोज खोप लिन नपाएको बताउँदै त्यस्तो अवस्था सिर्जना नगराउन अनुरोध गरे । उनले समयमै दोस्रो खोप पाउनेमा आशावादी नभएको बताए ।

यस्तै न्हुच्छेबहादुर महर्जनले खोप लगाउन पाएपछि राम्रो होला भन्ने अपेक्षा गरेको बताए । समयमा दोस्रो डोज खोप पनि लगाउन पाए कोरोनाबाट सुरक्षित रहन सकिन्थ्यो कि भन्ने आशा रहेको उनको भनाइ थियो ।

पहिलो खोप लिएसँगै दोस्रो खोप पाइने हो कि भन्ने अधिकांशमा चिन्ता थियो ।

चीनले १० लाख डोज कोभिडविरुद्धको खोप सहयोग गरेपछि सरकारले मङ्गलबारदेखि खोप अभियान सुरु गरेको हो । यो खोप काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्षसम्मका र राजधानी बाहिर ६० देखि ६२ वर्ष उमेर समूहलाई लगाउन थालिएको हो ।

अत्यावश्यक सेवामा काम गर्ने चिकित्सक, नर्स, मेडिकल विद्यार्थी, सुरक्षाकर्मी लगायत यसअघि खोप लिन छुटेकाले पनि यो खोप लिन पाउने बताइएको छ । सरकारले चीनले दिएको भेरोसेल खोप कोभिसिल्ड खोप लिएका बाहेक बाँकी अन्य ज्येष्ठ नागरिकमा दिन थालेको हो ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप