शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

योगेश र गोकर्णलाई मन्त्री बन्न महासेठको अवरोध ?

कोही महतोसँग मिल्ने, कोही देउवासँग, समस्या यहीँ छ : योगेश
बिहीबार, २७ जेठ २०७८, २१ : २२
बिहीबार, २७ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेलुकासम्म माधव नेपाल पक्षका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टलाई महत्वपूर्ण मन्त्रालय दिएर आफूतिर तान्ने प्रयत्नमा थिए । सोहीअनुसार प्रधानमन्त्री ओलीले भट्टराई र विष्टसँग कुराकानीसमेत गरेका थिए ।

योगेश मन्त्रिपरिषदमा आए गृहमन्त्रालय नै दिने ओलीको भित्री तयारी थियो । यसरी भट्टराईलाई ल्याउँदा माधव–झलनाथ समूह कमजोर बन्ने र अरु नेताहरु पनि आफ्नो पक्षमा आउन सहयोग पुग्ने ओलीको विश्वास थियो । तर, विहीबार मन्त्रीहरुको नाम घोषणा हुँदा माधव पक्षका गणेश पहाडीको नाममात्रै आयो, योगेश र गोकर्णचाहिँ छुटे ।

पछिल्लो समय भट्टराई र विष्ट पनि ओलीप्रति केही लचक जस्तै देखिएकाले ओली दुवै नेता आफूतिर आउनेमा ढुक्कजस्तै थिए । तर, ओलीसँगको कुराकानीमा भट्टराई र विष्ट महत्त्वपूर्ण मन्त्रालय पाए पनि नजाने भन्दै पछि हटेका थिए । ओली पक्षका नेताहरुको विश्लेषणअनुसार यसको कारक हुन्– उपप्रधानमन्त्री रघुवीर महासेठ ।

भट्टराई र विष्ट दुबै नेकपा एमालेको सचिव भइसकेका पदाधिकारी हुन् । पार्टीको पोर्टफोलियोमा उपप्रधामन्त्री महासेठ एमालेमा योगेश र गोकर्णभन्दा जुनियर नेता हुन् । आफूभन्दा जुनियर महासेठलाई उपप्रधानमन्त्री बनाएकाले पार्टीका सचिवद्वय भट्टराई र विष्टले मन्त्री बन्न अप्ठ्यारो महसुस गरेको ओली पक्षका नेताहरुको बुझाइ छ ।

एमाले नेताहरु भट्टराई र विष्ट नवौं महाधिवेशनमार्फत निर्वाचित पार्टी सचिव हुन् भने महासेठ मनोनित केन्द्रीय सदस्य मात्रै हुन् । प्रधानमन्त्री ओलीले महासेठलाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री बनाइसकेपछि सचिवद्वय भट्टराई र विष्टलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए ।

समस्याको मूल जड यहाँ छ : योगेश

रघुवीरका कारण भट्टराई गृहमन्त्री बन्न तयार नभएको ओली पक्षका नेताहरुले बताए पनि एमाले नेता भट्टराईले भने बुधबार बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘माधव–झलनाथसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी गर्ने केपी ओलीको नीतिप्रति आलोचना गरेका थिए । साथै उनले शेरबहादुर देउवासँग सहकार्य गरेकोमा माधव र झलनाथको पनि आलोचना गरेका थिए ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने’ भट्टराईले भनेका छन्, ‘कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन  र केका लागि गर्दैछ यो सब ?

योगेशले भनेका छन्, ‘एमाले एकताको समस्याको मूल जड यहीँ छ । यस विषयमा कमरेडहरुबीच गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ ।’

मन्त्री बन्ने रहर छैन, गलत हल्ला चलाइयो : गोकर्ण

यसैबीच, एमाले नेता गोकर्ण विष्टले आफू मन्त्रीका लागि लालायित नभएको बताएका छन् । मन्त्री बन्न लागेको भनेर चलाइएको हल्लामा कुनै सत्यता नरहेको विष्टले रातोपाटीलाई बताए ।

आफू एमाले पार्टी जोगाउनमै केन्द्रित भएका बेला मन्त्री बन्न्न लागेको भनेर चलाइएको प्रचारवाजीमा कुनै सत्यता नरहेको  विष्टले बताए ।

‘म तीनपटक केन्द्रीय कमिटीमा आएँ । २१ बर्ष अघिदेखि सांसद छु । धेरैचोटि मन्त्री पनि भइसकेको छु’ विष्टले भने, ‘मन्त्रीका लागि मैले कुुनै रहर गर्नुपर्ने अवस्था छैन र यस्तो प्रचारमा कुनै सत्यता छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप