शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाबाट ल्याएको भनिएको बाख्रा स्थानीय जातको भएको खुलासासँगै सम्झौता खारेज

मङ्गलबार, ०१ असार २०७८, १० : १९
मङ्गलबार, ०१ असार २०७८

अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्राका पाठापाठी स्थानीय जातको भएको पुष्टि भएपछि मोरङको बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि सङ्खुवासभाबीच भएको बोयर बाख्रा खरिद सम्झौता खारेज भएको छ।

बेलबारी नगरपालिकाको हिजो बसेको बसेको ६९ औँ नगर कार्यपालिकाको बैठकले सो प्रालिसँग नगरपालिकाले बोयर बाख्रा खरिद सम्बन्धमा गत जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

ग्रो अर्गानिक कृषि प्रालिले ठेक्काबापत जम्मा गरेको जमानत रकम जफत गरी प्रालिलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए ।

नगर कार्यपालिका सदस्य बिन्दु कला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

ग्रो अर्गानिक कृषि प्रालि संखुवासभालाई ठेक्काबापत हालसम्म कुनै प्रकारका रकम भुक्तानी नगरेको नगरपालिकाले जनाएको छ ।

बेलबारी नगरपालिकाले अस्ट्रेलिया ल्याइएका बोयर जातको बाख्रा भन्दै कोरोनाको महामारीबीच नगरपालिकाले कृषक समूह तथा व्यवसायिक फर्महरूलाई गएको जेठ १५ मा बाख्राका पाठापाठी वितरण बितरण गरेको थियो ।

सो समयमा नगरपालिकाले ५२ वटा बोयर जातको बोका तथा ३८ वटा पाठी वितरण गरिएको थियो ।

नगरपालिकाले अस्ट्रेलियाबाट बोका ल्याएर वितरण गरेको दाबी गरेको केही दिन पछि ती बाख्रा स्थानीय बजारबाटै भित्र्याइएको खुलेको थियो ।

पशु सेवा विभाग अन्तर्गतको आयात नियमन शाखाले निषेधाज्ञाको समयमा  अस्ट्रेलियाबाट बोका पाठी नभित्रिएको जानकारी दिएसँगै वास्तविकता बाहिरिएको थियो । नगरपालिकाले एक करोड २४ लाख रुपैयाँमा खरिद गरिएको भनिएको बाख्राहरू नवलपरासीको केशर एग्रो फर्मलगायतबाट किनिएको पुष्टि भएको थियो।  अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्राका पाठा–पाठी लोकल भएको पुष्टि भएपछि सो घटनामा नगरपालिका समेत विवादमा मुछिएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप