शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नाथुरामहरु जन्मिन्छन् कि जन्माइन्छ ?

आइतबार, ०६ असार २०७८, १० : १५
आइतबार, ०६ असार २०७८

भारत छोडो आन्दोलनका मुख्य नायक तथा अहिंसावादी आन्दोलनका प्रणेता मोहनदास कमरचन्द गान्धीले बृटिश शासनको अन्त्यतिर एउटा भनाइ राख्दै आएका थिए, भारतको विभाजन मेरो लास माथि हुनेछ । सन् १९४७ मा भारत वृटिश उपनिवेशबाट मुक्त भयो र साथै त्यसै वर्ष भारत पनि विभाजन भयो । गान्धीको विचारले केही काम गरेन । विभाजनलगत्तै भारतमा चर्को साम्प्रदायिक दंगा भयो । गान्धी त्यसलाई सामान्य गर्नतर्फ लागे ।

यसैवीच ३० जनवरी १९४८ का दिन नाथुराम गोड्सेले महात्मागान्धीको हत्या गरे । बृटिश शासकहरुले भारतको पनि विभाजन गरे अनि नाथुरामलाई प्रयोग गरेर गान्धीको पनि हत्या गरी बदला लिए भन्ने छ । अहिंसावादी आदर्शका प्रणेता गान्धीको हिंसात्मक घटनाबाट दुःखद अन्त्य भयो ।

गान्धी– हत्याको एउटा राष्ट्रिय परिवेश थियो । विश्वको सत्ता इतिहास हेर्यौं हो भने धेरै नाथुरामहरुले जन्म लिएकोे देखिन्छ । शक्ति र सत्ताको उच्च पदमा वहालवाला व्यक्तिहरुको हत्यामा यी गोड्सेहरु प्रयोग भएको या परिस्थितिले जन्म लिएको देखिन्छ ।  सत्ता नेतृत्वको हत्यामा प्रायः उनीहरुकै अंगरक्षक वा गाडी ड्राइभर वा निकटस्थ व्यक्तिको प्रयोग भएको देखिन्छ ।

गारा फिल्ड, जोन अफ केनडी (अमेरिकी राष्ट्रपति) इन्दिरा गान्धी (भारत) राजिव गान्धी(भारतका) हिटलर(जर्मन शासक) देखि हुसेन जाहिम(सिरियाका राष्ट्रपति) सम्म आउँदा, दोस्रो विश्वयुद्ध (१९४५) को अवधिसम्म आउँदा सयौं उच्चपदस्थ व्यक्तिहरुको हत्या पदमा वहाली रहेकै अवस्थामा भएको देखिन्छ । नेपालमा पनि माथवरसिंह थापादेखि राजा वीरेन्द्र र मदन भण्डारीसम्म आउँदा दर्जनौं उच्चपदस्थ व्यक्तिहरुको रहस्यमय तरिकाबाट हत्या गरिएको  देखिन्छ  ।

अपराधशास्त्रीय र समाजशास्त्रीय दुवै दृष्टिकोणबाट हेर्दा अपराध समाजको उपज हो । अपराध र अपराधी जन्मजात हुँदैन । राज्यले नागरिकप्रति गरिने व्यवहारका कारण नाथुरामहरु जन्मन्छन् । प्रख्यात समाजशास्त्री इमाइल दुर्खिमले अपराध समाजको सहज व्यवहार हो, समाजमा हुने एक– दुई अपराधले समाजलाई अरु संगठित हुन, आफ्ना मान्यता र मूल्यप्रति सचेत हुन सघाउ पुर्याउँछ भनेका छन् । दुर्खिमले भनेजस्तो अराजक शासकहरुलाई आफ्ना मूल्य मान्यतामा फर्कन र पदीय जिम्मेवारीप्रति उत्तरदायी बनाउन विरोधात्मक व्यवहारले भूमिका खेल्दछ ।

बहुजनहितका लागि गरिने प्रतिकात्मक र प्रतिनिधिमुलक विरोध वा कार्वाहीका घटनाले राज्य व्यवस्थालाई संविधान अनुकुल हिँडाउन सहयोग गर्दछ  ।  त्यसैले नाथुराम र नरोत्तम वैद्यहरु यही समाजका उपज हुन् । उनीहरु जन्मिँदैनन्, जन्माइन्छन् ।

नरोत्तम वैद्यको अभिव्यक्ति

बाग्मती प्रदेशसभामा आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्नेक्रममा सांसद नरोत्तम वैद्यले महात्मागान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री ओलीका विरुद्ध अरु नाथुराम बन्न तयार नभए आफू नै नाथुराम गोड्से बन्न तयार हुने अभिव्यक्ति दिए । वैद्यकोे उक्त अभिव्यक्ति संवेगात्मक, प्रतिकात्मक र प्रतिनिधिमुलक समेत देखिन्छ ।

व्यक्ति वा समुहले आफ्ना असन्तुष्टिहरु लेखेर, बोलेर, संकेत, हाउभाउ, बल प्रयोग वा बल प्रयोगको धम्कीका माध्यमबाट व्यक्त गर्दछन् । घटनाको प्रकृति, परिवेश, विषयवस्तुको गांभीर्य, आघात परेको व्यक्तिको स्वभाव, मनोविज्ञानजस्ता वस्तुगत र आत्मगत परिस्थितिले विरोधको शैली निर्धारण हुन्छ ।

एउटा उच्च तहको जनप्रतिनिधि(सांसद)ले प्रधानमन्त्रीका विरुद्ध संसद भवनमा  हत्यासम्मको धम्कीपूर्ण भाषा प्रयोग भएको सायद पहिलो घटना हो । यसलाई सत्ता, नेतृत्वविरुद्धको फरक शैलीका रुपमा बुझ्न सकिन्छ ।

प्रदेश सांसद नरोत्तम वैद्यले प्रदेशसभामा आफू नाथुराम गोड्से बन्न तयार भएको प्रसंग उठाउँदा आफू सार्वजनिक सवारी साधनहरुमा सवार गर्दा यात्रुहरुले प्रधानमन्त्री र अन्य जनप्रतिनिधिहरुका विरुद्धमा खरो रुपमा विरोध गर्दा आफूलाई आत्मग्लानी हुने गरेको, सांसदको लोगो समेत झिकेर  हिँडनुुपरेको पीडा व्यक्त गरेका थिए ।

उनको अभिव्यक्ति निजात्मक अभिव्यक्ति पक्कै होइन । संसदमा व्यक्त आवेशात्मक तथा विचारोत्तजक भावनाले बहुसंख्यक नेपालीको भावनाको प्रतिनिधित्व गर्दछ । एउटा सांसदले व्यक्तिगत फाइदा वा रिसइवीका कारणले मात्र त्यो तहको (हत्यासम्मको) अभिव्यक्ति दिए होलान् भन्ने अवस्था वैद्यको सामाजिक र राजनीतिक पृष्ठभूमिबाट देखिँदैन ।

वैद्य एक्ला पात्र होइनन्

फ्रान्सका राष्ट्रपति इमाइल मार्कोसलाई फ्रान्सेली नागरिकले सार्वजनिक स्थलमा गालामा थप्पड हानेको झण्डै एक महिनाको अन्तरालमा नेपालमा पनि सांसद नरोत्तम वैद्यले संसद भवनमा आफू नाथुराम गोड्से बन्न तयार भएको अभिव्यक्ति दिए । यो एउटा संयोग मात्र थियो । उच्च तहको परिपक्व जनप्रतिनिधिले प्रधानमन्त्रीका विरुद्ध त्यो तहको आक्रोशपूर्ण अभिव्यक्ति दिए । सार्वजनिक तथा औपचारिक कार्यक्रममा उच्च संवेगात्मक अभिव्यक्ति सांसद नरोत्तम वैद्यले दिए पनि नागरिक तहबाट सार्वजनिकस्थलमा सरकारको नेतृत्वमा पुगेका प्रचण्ड र झलनाथहरु पनि नागरिकस्तरको थप्पडको भागिदार भएका थिए । यी सरकारको नेतृत्व शैलीप्रतिको विरोध वा असन्तुष्टिका प्रतिनिधिमूलक घटनाहरु थिए ।

निश्कर्ष

प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्तिलाई राजनीतिक पूर्वाग्रह वा कानुनको पाटोबाट मात्र हेर्नुहुँदैन । त्यसरी हेरियो भने उनीमाथि अन्याय हुन्छ । कानुनको शाब्दिक व्याख्यामा वैद्यको अभिव्यक्ति दोषपूर्ण देखिए पनि उनको अभिव्यक्ति दुरासयपूर्ण छैन । विरोधको शैली स्थान, माध्यम र प्रसंग फरक हुन सक्छ, हेर्ने पक्ष भनेको व्यक्तिको विचार वा सामाजिक परिवेश र परिस्थितिलाई हेरेर विश्लेषण गर्ने हो ।  नरोत्तमले  प्रदेश संसद भवनमा क्षमा याचना गरेकाले उनी उपर कानुनी कार्वाही अघि बढाउन उचित हुँदैन ।

नरोत्तमको विचार निजी होइन । उनको विचारले समाजिक मनोविज्ञानको प्रतिनिधित्व गर्दछ । मनोवैज्ञानिक विशेषज्ञ डा.गोपिलाल न्यौपानेले अहिलेको परिवेश र नरोत्तम वैद्यको अभिव्यक्तिसमेतको विश्लेषण गर्दै आफ्नो धारणा यसरी राखेको देखिन्छ– समाजमा व्याप्त निराशा, असन्तुष्टि, धनी गरीवबीचको बढ्दो खाडल र त्यसले निर्माण गरेको सामाजिक मनोविज्ञानका कारण बेलाबखत नरोत्तमम र नाथुरामहरु जन्मने गर्दछन् ।

नरोत्तमको अभिव्यक्ति व्यक्ति लक्षित होइन, पद वा ओली प्रवृत्तिका विरुद्ध लक्षित छ । सरकारका विरुद्धमा विपक्षी गठवन्धनका दल, नागरिक समाज, पेसागत समूहसमेतले विरोध गरेको परिवेशमा नरोत्तमको अभिव्यक्तिले बलेको आगोमा घ्यु थप्ने मात्रको काम गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शिवराज पण्डित
डा. शिवराज पण्डित
लेखकबाट थप