धापमारे ठाइँलोको निर्वासन
आधाउधी तिल–चामले कपाल, कक्षा तीनभन्दा माथिल्लो कक्षामा उक्लन नसक्दा सानो उमेरमै पढाइ छोडी भागेको उसको शैक्षिक इतिहास हो । जीवनको लामै समय दरभङ्गा (भारतको बिहार राज्यस्थित एक सहर)मा ज्याला मजदुरी गरी ३४ सालपछि फर्किएको हुँदा उसले बोल्ने वाक्यहरूमा कही न कही भोजपुरी ट्युन झल्किन्थ्यो । प्रवासी हुन गएदेखि ३२ वर्षसम्म एकचोटि पनि नेपाल नआएको हुँदा नेपाली भाषा बोल्न अकमकिने गथ्र्यो । अगर, क्यानम, मतलब, दुबारा, मालुम जस्ता हिन्दी र भोजपुरी शब्द उसले बोलिने हरेक वाक्यमा मिसिएर उच्चारित हुने गर्दथ्यो ।
नियतवश नभई समय समयमा आफ से आफ आफैँ उसका आँखा झिम्क्याउने आदत बसेको थियो । जति कोसिस गरे पनि त्यो बानी उसले छुटाउनै सकेको थिएन । सोही आनीबानी देख्दा गाउँका ठिटाठिटीहरूले उनलाई ‘चिमचिमे काका’ भन्दथे भने दाजुभाइले ‘लठेप्रो’ उपनाम राखिदिएका थिए । भतिजा–भतिजी अनि नातिनातीनाले ‘लाटो’ भनेर उपनाम दिएका थिए भने भाउजूरबुहारीहरूले चाहिँ ‘गोज्याङ्ग्रो’ उपनाम राखिदिएका थिए । देवघाटको भीम विक जस्तै गरी सानासँग होस् कि ठूलासँग, जोसँग पनि बोल्दा पनि ‘धाप मारेर’ बोल्ने बानी हुँदा बूढापाका गाउँलेहरूले उनलाई ‘धापमारे गोतामे ठाइँलो’ भनेर चिन्थे । तर नाम, दाम र इज्जत बढी नै भएका कारण उनीबाहेक घरका अरू सबै जनाको थर ‘गौतम’ थियो । केवल उनको मात्र गोतामे । उसलाई त्यसले त्यस्तो कुनै पर्वाह लाग्दैन थियो । जसले जुन नामले पुकारे पनि ती सबै नाम आफ्नै होला भन्ठानेर सबैलाई उत्तिकै आदर सम्मान र आज्ञाकारी बन्दथे ।
बोल्दाखेरी नाके–नाके स्वर भए पनि सबैलाई हजुर, तपाईं जस्ता आदर भावले बोल्ने र बडो मज्जाले अट्टहास स्वभावले हासेर बोल्ने अत्यन्तै रसिक स्वभावको वाककला । उसका दाजुभाइहरू सबै गाउँमै बसेर पनि सबैजना पढेलेखेका । कोही मास्टर, कोही खर्दार, कोही पशु स्वास्थ्य कार्यकर्ता, कोही गाउँमै पसल चलाएर बसेका ब्यापारी । सबैको बन्दोबस्त उचित भइसकेको थियो । ठाइँलो छोरो भएकाले आफूभन्दा ठूला दाइहरूको त नातिनातिनासमेत भइसकेका थिए भने उसले चाहिँ परदेशी जीवन अनि केवल कामकै मात्र ध्याउन्नले गर्दा होला सायद उसले आफ्नो बारेमा सोच्ने फुर्सदसमेत नपाएर होला जीवनको ४३औँ वसन्त पार गरिसक्दा बिहेसमेत गरेको थिएन ।
बिहेवारी नगरेको र जुन भाइको घरमा खान दिन्छन्, उसले उनैका घरमा दिनभरी खेतीपातीको कामदेखि वस्तुभाउ चराउने, हलो जोत्ने, घाँस दाउरा, स्याउला ल्याउनेदेखि भतिजा–भतिजीको कपडा धोइदिने कामसमेत गरिदिनु पथ्र्याे । भाउजू र बुहारी एवं भातिजाभातिजीको त के कुरा गर्नु, आफ्नै दाजुभाइले समेत उसलाई ‘आफ्नो दाजु भाइ हो’ भनेर सोहीअनुसारको व्यवहार कहिल्यै गर्दैन थिए । केवल सित्तैँमा काम खानलाई सबै जनाले मुखन्जेल चेपारे पार्थे भने उसको अनुपस्थितिमा चाहिँ गिज्ज्याउँथे । देउरानी जेठानीमा उसबाट काम खानलाई हानाथाप नै पथ्र्याे । सबैले लदाउन मात्र जानेका थिए । तर पनि धापमारे ठाइँलोलाई कुनै वास्तै लाग्दैन थियो । जसले जे भने पनि हाँसेर फुर्ती साथ खुसीले मानिदिन्थ्यो । उसको यही कमजोरीको फाइदा जो कोहीले उठाउँथे ।
ऊ खुला किताबझैँ थियो । कसैको कुभलो चिताउनै सक्दैन थियो । सबैलाई उत्तिकै खुसी बनाउन पाए हुन्थ्यो भन्ने सोचाइ राख्थ्यो । यति हुँदाहुँदै पनि बुहारी–भाउजूहरू चाहिँ काम परेको बेला खोज्दा भेटेनन् भने ‘ए फलानी, हाम्रो गोज्याङ्ग्रोलाई त्यता कतै देख्यौ ?’ भनेर छिमेकीलाई सोधेको उसका आफ्नै कानले कयौँ पटक सुन्दा भने ऊ ग्वालीमाथि लगाएको आफ्नो बिस्तारामा पल्टेर मन दुखाएर धेरै बेर रुन्थे । गोठालो जाँदा एउटा दुई ब्याटरी जाने रेडियो बजाउँदै सुनेर बस्थ्यो । रेडियोमा बोलेको सुन्दा सुन्दा उसमा नेपाली भाषाको ज्ञान बिस्तार हुँदै थियो । बस्तुभाउ चराउन जाँदा गोठाला सहपाठीहरूसँग उनको धेरै राम्रो सम्बन्ध थियो । ठिटाहरू गोठाला जाँदा बाघचालमा घण्टौँ घोप्टिँदा उनैले सबैको बस्तुभाउको रेखदेख गरिदिन्थे किनकि उनी सबैले भनेका र अह्राएका कुरा सजिलै मानिदिन्थे ।
गाउँकै पुछारपट्टि सुनसान ठाउँमा एक अधबैँसे अविवाहित महिला एक्लै घरमा बस्थिन् । उनी बोल्न सक्दैन थिइन् । उनी घरमा एक्लै बस्ने हुँदा राति दुई जना गाउँकै जँड्याहाहरू गएर ललाइफकाइ गरे । यध्यपि उनी त्यहाँबाट चिच्याएर उम्कन खोज्दा ती बलिष्ठ जँड्याहाहरूले उनलाई जबरजस्ती करणी गरेर गए । बिहान गाउँलेहरूले थाह पाए र उनको लागि न्याय माग्दै आन्दोलन गर्दै महिला समूहले आन्दोलन फुके । सहरबाट बढ्का–बढ्का महिला अधिकारकर्मीहरू आए । युट्युबे, टिकटके र फेसबुकेहरूको भीड लाग्न थाल्यो र आफै न्यायाधीश बन्दै फैसलाको निर्णय मिडियामार्फत सम्प्रेषण गर्न थाले । बोल्न नसक्ने हुँदा उनलाई जबरजस्ती गर्ने अपराधीहरूको थिए, उनले बताउन चाहेर पनि सकिनन् ।
तर सबैभन्दा सोझो, बोल्न राम्रोसँग नजान्ने र सजिलै दोष लगाउन सकिने, जसलाई पनि आँखा झिम्क्याउने बानी, सबैलाई मायाले स्पर्श गर्दै धाप मार्ने, सकारात्मक स्वभावका कारणको शङ्काले गर्दा भनौँ गाउँले र युटुबेको भीडले दोषी करार गरेर उनै धापमारे ठाइँलोलाई प्रहरी बोलाएर बुझाइदिए । आफू निर्दाेष हुँ भनेर उनी बोल्न त खोज्दै थिए तर भीडमा उनको बोली सुन्ने र बोलिदिने कोही भएनन् । भीडभाडकै उजुरीअनुसार प्रहरीले मुचुल्का खडा ग¥यो, बयान सोहीअनुसार नै लियो । अदालतमा सोहीअनुसारकै मिसिल प्रस्तुत गरियो । सोही कागजअनुसार अदालती फैसला भई उसलाई कारागार चलान गरियो ।
कारागारको सजाय भुक्तान गरिरहेको दुई वर्षपछि एक दिन ती दुई जँड्याहाले जाँड खाएको दिन भट्टीमा आपसमा झगडा पर्दा एकले अर्काेको पोल खोलेको कुरा भट्टीकी सहुनीले मोबाइलमा रेकर्ड गरेर प्रमाण सुरक्षित गरी गाउँलेरूलाई दिएकी हुनाले गाउँलेहरूले प्रहरीलाई खबर गरेर ती नरपिचासहरूलाई तुरन्तै गिरफ्तार गरी प्रक्रिया पु¥याएर अदालतबाट पुनः निर्णय गराई धापमारे ठाइँलोलाई छुटाए भने अपराधीलाई उनको ठाउँमा जेलमा कोचिदिए ।
यो देश मात्र उसको रहेछ, बाँकी केही पनि रहेनछ उसको यहाँ । बिना कसुर धापमारेले इज्जत गुमाए, सजाय पाए, दुई वर्षसम्म खोरमा जाकियो । तर जब उनी छुटेर गाउँमा आए तब बिना कसुर सजाय दिलाइएकोमा न त कुनै गाउँले लज्जित भए, न त आत्मा आलोचना र क्षमा याचना नै गरे ।
यही कुराले मन कुँड्याउँदै आफैँलाई धिक्कार्दै गह्रौँ, थकित, शरीर र टिलपिलाउँदै आँखाका ढकनीका साथ मनभरी पीडा लिई आइन्दा कहिल्यै नेपाल नफर्किने प्रण गरेर धापमारे ठाइँलो दरभङ्गा जाने बस चढे । हो यी र यस्तै बेतिथिले गर्दा मनप्रसाद गौतम उर्फ धापमारे गोतामे ठाइँलो देश नै छोडी सधैँका लागि प्रवासिँदै छन् आज ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
-
महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा
-
राष्ट्रपतिका आर्थिक विज्ञको अभिव्यक्तिले शीतल निवासमा हलचल