शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषध बोक्न एम्बुलेन्स प्रयोग, अनुगमन फितलो

मङ्गलबार, १२ साउन २०७८, १० : १६
मङ्गलबार, १२ साउन २०७८

बिरामी बोक्नका लागि प्रयोग हुने एम्बुलेन्स पछिल्ला समय अपराध कर्मका लागि दुरुपयोग गर्ने क्रम बढेको छ । विभिन्न संघ संस्थाले सञ्चालनमा ल्याएका यस्ता एम्बुलेन्स अवैध सामान ओसारपसारदेखि लागु औषधजस्ता प्रतिबन्धित बस्तु बोक्नका लागि दुरुपयोग गर्ने क्रम बढेको हो ।

प्रदेश १ प्रहरीको तथ्याङ्क अनुसार विगत तीन वर्षमा नौवटा एम्बुलेन्स त्यस्ता आपराधिक क्रियाकलापमा प्रयोग भएको पाइएको छ । तीमध्ये केही एम्बुलेन्स भारतीय बजारमा गएर अवैध सामानसमेत नेपाल भित्र्याउन प्रयोग भएको देखिन्छ ।

प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता नविनराज राईले मानवीय सेवाका लागि प्रयोग गरिने ९ वटा एम्बुलेन्स आपराधिक क्रियाकलापमा प्रयोग गरी तिनीको दुरुपयोग भएको पाइएको बताए ।

मानवीय सेवाका लागि भनेर सरकारले भन्सार छुट गरेका एम्बुलेन्सको दुरुपयोगबारे अनुगमन गर्ने संयन्त्र बलियो नभएका कारण पनि समस्या देखिएको बताए । ‘बिरामीको ओसारपसारमा प्रयोग हुने भएकै कारण एम्बुलेन्समाथि सरोकारवाला निकायको निगरानी कम छ,’ प्रहरी प्रवक्ता राई भन्छन्, ‘तर अपराधकर्ममा लागेकाहरुले पछिल्ला समय यस्ता सवारी साधन दुरुपयोग गरी आपराधिक क्रियाकलापमा प्रयोग गर्ने क्रम बढ्न थालेको छ ।’

यसले थप सुरक्षा चुनौतीसमेत बढाइदिएको उनले बताए । एम्बुलेन्समा प्रहरी चेकजाँच पनि कम हुने भएकाले अपराधीहरुले सुरक्षित बाहनका रुपमा एम्बुलेन्सलाई प्रयोग गरी प्रतिबन्धित लागुऔषध लगायत गैरकानूनी काममा प्रयोग गर्न थालेको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक राईका अनुसार गत जेठ १६ गते सुनसरीको कोशी गाउँपालिकामा को१च ६८८० नम्बरको एम्बुलेन्स गाँजा ओसार्न प्रयोग भएको अवस्थामा नियन्त्रणमा लिइएको थियो । सो एम्बुलेन्सबाट १७७ केजी गाँजाका ४ वटा पोका प्रहरीले बरामद गर्नुका साथै एम्बुलेन्स चालक सुसन राई र गाँजा रिसिभ गर्न आएका गणेश यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीको तथ्याङ्क अनुसार विशेषगरी सुनसरी, मोरङ र झापा जिल्लामा सञ्चालित केही एम्बुलेन्स गाँजा लगायत लागु औषधको ओसारपसारमा प्रयोग हुने गरेका छन् ।

एक वर्ष अघिसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्सको अनुगमन गर्दै आएका थिए । अहिले भने एम्बुलेन्सको अनुगमन र नियमन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । प्रदेश १ मा ४५७ वटा एम्बुलेन्स सञ्चालित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप