शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्रको लफडा : अर्थ मन्त्रालयलाई आफ्नै सहसचिवमाथि अविश्वास !

कोको तानिए अर्थ मन्त्रालयको स्पष्टीकरणमा ?
शुक्रबार, १५ साउन २०७८, १७ : ४४
शुक्रबार, १५ साउन २०७८

अर्थ मन्त्रालयले बुधबार नेपाल धितोपत्र बोर्डका नाममा  बेनामे स्पष्टीकरण सोध्यो । स्पष्टीरकणमा कुनै व्यक्ति वा पदलाई इंगित नगरी बोर्डकै नाम लेखिएका कारण यो पत्र कसमाथि लक्षित हो भन्ने स्पष्ट छैन ।

अर्थ मन्त्रालयको पत्रले सम्पूर्ण बोर्डका सञ्चालक सदस्यदेखि  पुरै कम्पनीमाथि नै मन्त्रालयको अविश्वास झल्कन्छ । पत्रमा  अमूक मिडियामा समाचार आएको विषय उल्लेख गरिए पनि कुनचाहिँ विषयमा कसलाई स्पष्टीकरण सोधिएको हो, खुलाइएको छैन ।

नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा अध्यक्ष भीष्मराज ढुंगाना छन् । धितोपत्र बोर्डको ६ सदस्यीय सञ्चालक समितिमा स्वयं अर्थ मन्त्रालयका सहसचिव पनि सञ्चालक छन् । यसर्थ, मन्त्रालयको स्ष्टीकरण स्वयं आफ्नै सहसचिवमाथि पनि सोधिएको स्पष्ट छ ।

अहिले अर्थमन्त्रालयबाट सहसचिवका रुपमा रामेश्वर दंगालले  धितोपत्र बोर्डको सदस्यका रुपमा प्रतिनिधित्व गरेका छन् । बोर्डका नाममा लेखिएको पत्रले दंगाललाई पनि जवाफदेही बनाएको छ ।

बोर्डको सञ्चालक सदस्यमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव निर्मला अधिकारी भट्टराई पनि सदस्य छिन् । उनले पनि बोर्डको सदस्यका हैसियतले स्पष्टीकरणको जवाफ दिनुपर्ने भएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणकर भट्ट, चार्टड एकाउन्टेन्ट संस्थाका उपाध्यक्ष युद्धराज ओली पनि धितोपत्र बोर्डका सदस्य रहेकाले उनीहरुले पनि जवाफ दिनुपर्ने भएको छ ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि धितोपत्र बोर्डका सदस्य हुन् । त्यस्तै विज्ञका रुपमा अशोक कुमार पौडेलमाथि पनि अर्थ मन्त्रालयले प्रश्न उठाएको छ ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पारिवारिक सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर निष्काशन हुनुअगावै हात पारेको खुलासा एक सञ्चार माध्यमले गरेपछि अर्थ मन्त्रालयले बोर्ड र नेप्से दुबैलाई संस्थागतरुपमा स्पष्टीकरण सोधेको छ ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अधिकृत श्यामप्रसाद आचार्यको हस्ताक्षर रहेको स्पष्टकरण पत्र बोर्डलाई १३ गते र नेप्सेलाई १४ गते पठाइएको थियो । अर्थ मन्त्रालयले यो पत्र सञ्चार माध्यमलाई पनि उपलब्ध गराएको थियो ।

 

भएको  के हो ?

नेपाल धितोपत्र बोर्ड धितोपत्र बजारको नियामक निकाय हो । नियमन गर्नुपर्ने निकायले नै सेयर बजारमा चलखेल गर्न खोजेको आरोप छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाले धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९ सय ९२ कित्ता शेयर छोरीको नाममा राखेको प्रमाणसहित एक सञ्चार माध्यमले समाचार प्रकाशित गरेको थियो । यसमा नेपाल स्टक एक्सचेन्जका सीइओ पनि मुछिएका छन् । सीइओ चन्द्रसिंह साउदले परिवारकै सदस्यको नाममा सेयर किनेको भनिएको छ ।

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत निष्कासन गर्न लामो समयदेखि प्रक्रियामा छ । तर, सेयर निष्काशन नहुँदै नियामकहरुले आफ्नो स्वार्थअनुरुप सेयर  खरिद गरेका छन् । शेयर निष्कासनका लागि गत ४ चैतमा कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गर्न सम्झौता गरिसकेको छ ।

अर्थ मन्त्रालयले अहिले विषयको गम्भीरता र सत्यता परीक्षण गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप