बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’ बनेर युवतीसँग लिभिङ टुगेदर !

कर्णेलसँग एक लाख माग्दा पक्राउ
बिहीबार, २८ साउन २०७८, १६ : ४४
बिहीबार, २८ साउन २०७८

सरकारी कर्मचारीको पोशाक लगाएर हिँड्ने केशवराज भट्ट आफूलाई उपराष्ट्रपति कार्यालयमा ‘शाखा अधिकृत छु’ भनेर चिनाउँथे । डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका २६ वर्षीय भट्टले नेपाली सेनाका एकजना कर्णेलसँग ‘सरकारी अधिकृत’कै हैसियतमा चिनापर्ची गरेका थिए ।

भट्टले कर्णेलसँग फोटोसमेत खिचाए । उपराष्ट्रपति कार्यालयबाट तीन वर्षे अध्ययन बिदा लिएर ‘क्यालिफोर्निया जाँदैछु’ भनेका थिए ।

छोटो चिनजानमा ती कथित‘अधिकृत’ले नेपाली सेनाका कर्णेललाई प्रस्ताव राखे– ‘चितवनमा काका दुर्घटनामा पर्नुभयो, एयर एम्बुलेन्सबाट दिल्ली लानुपर्ने भयो । उपचारका गर्न १५ लाख लाग्ने रहेछ मसँग १४ लाख छ, मलाई एक लाख तुरुन्तै पाऊँ न सर । बाँकी कुरा पछि गरौँला ।’

कर्णेललाई शङ्का लाग्यो । उनले उपराष्ट्रपति नन्दबहादुर पुनका एडीसीलाई फोन गरेर सोधे, ‘केशवराज भट्ट त्यहाँ कार्यरत सरकारी अधिकृत हुन् ?’

जवाफ आयो– ‘यहाँ सो नाम गरेका कर्मचारी छैनन् ।’

फोटो हेर्दा पनि पुष्टि भएन । र, तत्कालै यो सूचना महानगरीय अपराध महाशाखामा पुग्यो । महाशाखाले एक महिना अनुसन्धान गरेर अहिले केशवराज भट्ट उर्फ कुशललाई पक्राउ गरेको छ ।

डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका भट्टले आफूलाई उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’ र परराष्ट्र मन्त्रालयको ‘सहसचिव हुँ’ भनेर ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।

सरकारी कर्मचारीको आवरणमा हिँड्ने भट्टले सामाजिक सञ्जाल (फेसबुक) लाई माध्यम बनाएर ठग्ने गरेको प्रहरीको भनाइ छ । ठगिसकेपछि सम्पर्कविहीन हुनका लागि उनी भन्थे– ‘क्यालिफोर्नियामा स्कलरसिप पाएको छु, अब छिट्टै जान्छु ।’

‘शाखा अधिकृत’ बनेर लिभिङ टुगेदर !

एक वर्षअघि फेसबुकबाट चिनजान भएकी एक युवतीलाई भट्टले ‘उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ’ भनेर आकर्षित गराए । युवतीको स्कुटरमा बेला–बेला उनी उपराष्ट्रपति कार्यालय अगाडि छाड्न र लिन बोलाउँथे ।

विवाह गर्ने सर्तमा शाखा अधिकृतको तयारी गरिरहेकी ती युवती भट्टसँग लिभिङ टुगेदरमा बसिन् । युवतीसँग भट्टले भनेका थिए, ‘असोजमा विवाह गरेर अमेरिका जानुपर्छ, मैले सीए पढ्न क्यालिफोर्नियामा स्कलरसिप पाएको छु ।’

भट्टलाई प्रहरीले पक्राउ गरेपछि सुरुमा त उनले पत्याइनन् । तर, यथार्थ त्यही नै थियो ।

प्रहरी जवान पनि ठगिइन्

भट्टले  आफ्ना बुवा सिङ्गापुर प्रहरीमा एसपी पदमा कार्यरत रहेको गफ दिने गरेका थिए । सेतो सर्ट र नीलो सुट लगाएर हिँड्ने उनी बिना हिचकिचाहट भन्थे–  ‘म अधिकृत हुँ ।’

यही आवरणमा उनले सशस्त्र प्रहरी बलमा कार्यरत जवानलाई पनि ठगेको थाहा भएको छ । फेसबुकबाट सम्पर्क भएकी जवानसँग उनले ३० हजार नगद लिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । ती जवानलाई उनले ‘बिहे गर्छु’ भनेर आश्वासनसमेत दिएका थिए ।

 

महिलाहरूसँग उनी ‘अविवाहित हुँ’ भन्थे । तर, उनी विवाहित रहेको खुलेको छ । अपराध महाशाखाका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डोटीमा उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।

यसअघि पनि भट्ट महिलालाई सामाजिक सञ्जालमार्फत ‘बुलिङ’ गरेर ठगेको आरोपमा २०७५ चैत २६ मा पक्राउ परेका थिए । साइबर अपराध र ठगी मुद्दामा त्यसबेला उनी १ वर्ष जेल र ३० हजार जरिवाना भुक्तान गरेर छुटेको उनको अपराध रेकर्डमा देखिएको छ । ०७५ मा उनले परराष्ट्र मन्त्रालयको ‘सहसचिव हुँ’ भनेर ठग्ने गरेका थिए, जेलबाट छुटेपछि उनी कथित शाखा अधिकृत बने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप