शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकको दोस्रो दिन बूढानीलकण्ठमा के-के भयो ?

देउवा–महत भनाभन, सामूहिक राजीनामाको चेतावनी
शुक्रबार, २९ साउन २०७८, २३ : ०७
शुक्रबार, २९ साउन २०७८

 नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशन सार्ने सम्बन्धमा मतभेद देखिएको छ । बूढानीलकण्ठमा जारी  विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको हो ।

संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन् । तर, इत्तर पक्षले भने भदौ २३ बाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैँअघि नै सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका ल्याउन भनेको छ ।

आगामी भदौ १६–१९ का लागि निर्धारित महाधिवेशन प्रभावित भएपछि काँग्रेसमा नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको छ ।

विहीबार देखि सुरु भएको केन्द्रीय कमिटीमा बैठकमा आउने रायलाई समेटेर नयाँ कार्यतालिका ल्याउने महामन्त्री पूर्णबहादुर खड्काको भनाइ छ । उनका अनुसार शनिबारको बैठकमा नयाँ कार्यतालिका ल्याउने तयारी छ ।

भदौमा वडा अधिवेशन गरेर मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका आउने सम्भावना रहेको नेताहरुको भनाइ छ ।

सहमतिले मात्र संकट टर्छ : सिटौला

बैठकमा नेता कृष्णप्रसाद सिटौलाले सहमति बेगर महाधिवेशनका सन्दर्भमा कुनै पनि विकल्पमा जान नहुने बताए । उनले भने, ‘जे गर्ने हो, सहमतिमै गरौं ।  सहमति नगरेर आ–आफ्नो धारण बोकेर हामी बाहिर जाँदा हाम्रो पार्टी संकटमा पर्छ । धारणा एक अर्कासँग मिल्छ मिल्दैन, आफ्नो ठाउँमा छ । तर, पार्टीका लागि, पार्टीको भविष्यका लागि, पार्टीको वैधानिकता बचाउनका लागि धारणा एक अर्कासँग मिलाऊँ ।’

सिटौलाले आफू सबै विकल्पका लागि तयार भएको पनि बताए ।  ‘म सबै विकल्पमा सहमत हुन तयार छु । भदौ २३ गतेअघि वडा अधिवेशन गरेर दसैँअघि महाधिवेशन सक्ने हो सहमतिमा गरौं । होइन भने भदौ २३ गतेपछि वडा अधिवेशन गरेर मंसिरमा महाधिवेशन गर्ने भए पनि गरौं । म मान्छु,’ सिटौला भन्छन्, ‘तपाईंहरुले पनि मान्नुपर्यो । अथवा छठपछि वडा अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन सक्ने कुरा पनि म मान्छु ।’

 सिटौलाले अहिले आन्तरिक सहमति गरेर डेढ वर्षपछि महाधिवेशन गर्ने कुरामा पनि आफू सहमत रहेको बताए । ‘यसमा पनि सहमति जुट्छ भने म सहमत छु । सहमति नजुटाइ केही नगरौं । भोलि सहमतिमै नयाँ कार्यतालिका पेस होस्,’ सिटौलाको भनाइ थियो ।

यस्तै नेता प्रकाशमान सिंहले  निर्धारित मितिमा महाधिवेशन नभए पनि चाडो महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउनुपर्ने बताए । ‘महाधिवेशन हुने हो कि होइन भन्ने नेता कार्यकर्तामा चासो छ । यसलाई प्रस्ट पार्नुपर्छ । निर्धारित मितिमा महाधिवेशन नभए पनि जतिसक्दो चाडो महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउनुर्छ,’ उनी भन्छन् ।

अब क्रियाशील सदस्यता टुँग्याएर मात्र कार्यतालिका ल्याउनुपर्ने सिंहको भनाइ छ । ‘विवादका विषय थाती राखेर ल्याइने कार्यतालिका कार्यान्वयन हुन सक्दैन भन्ने देखिसकेको छ,’ उनी भन्छन् ।

बैठकमा नेता शेखर कोइरालाले नियमित महाधिवेशन बाहेकको विकल्प आफूलाई मान्य नहुने धारणा राखेका छन् । ‘अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरूबाट विषेश महाधिवेशन सार्ने अथवा यही कार्यसमितिलाई डेढ÷दुई वर्ष समय थप्ने कुरा सुनिँदैछ,’ उनले  भने, ‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विषेश महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन ।’

क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुन नसक्ने भन्दै क्रियाशीलको विवाद कायम राखेरै नयाँ कार्यतालिका नल्याउन कोइरालाको सुझाव छ । छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ÷दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्ने उनको भनाइ छ ।

नेपाली काँग्रेसको अधिवेशन नेतृत्व चयनको विषय मात्र नभएको भन्दै यो मुलुकको भविष्य कता कसरी जान्छ भनी निर्धारण गर्ने कोइरालाको तर्क छ । ‘यसमा देशवासीको चासो र चिन्ता त छ नै, अन्तराष्ट्रिय समुदायको पनि हामीप्रति दृष्टि छ । तसर्थ काँग्रेसको १४औ महाधिवेशनको संघारमा हामीले एकतावद्ध भएर हामीप्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ,’ उनी भन्छन् ।

यस्तै शुक्रबार बोल्ने अन्य केन्द्रीय सदस्यहरुले पनि महाधिवेशनको सुनिश्चिता, पार्टीको वैधानिकताका विषयमा धारणा राखेका थिए ।

निर्वाचन निर्देशिकामाथि टिप्पणी

नेता मीन विश्वकर्माले बैठकमा प्रस्तावित निर्वाचन निर्देशिका समावेशी नभएको टिप्पणी गरेका थिए । उनले भने, ‘प्रस्तावित निर्वाचन निर्देशिकाले १३ औं महाधिवेशन भएको समावेशिता पनि घटाएको छ, यसलाई थप छलफलको विषय बनाउनुपर्छ ।’

परिवर्तनमुखी बनाउनुको सट्टा परिवर्तनलाई खुम्च्याउने निर्वाचन निर्देशिकाले राम्रो सन्देश नजाने उनले बताए । ‘समावेशिताका कुरामा संविधानमा जे लेखिएको छ, त्यसको रिफ्लेक्सन हामीले महाधिवेशन र विवादबाट स्पस्ट पार्दै जानुपर्छ । कार्यान्वयन गर्दै जानुपर्छ ,’ विश्वकर्माले भने ।

​यस्तै नेता शेखर कोइरालाले नवीकरण छुटेकाको हकमा १३औँ महाधिवेशनको कार्ड लिएर आएमा महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने व्यवस्था निर्देशिकामा राख्नुपर्ने बताए । कतिपय स्थानमा पार्टीका आधिकारिक उमेदवारको नवीकरण छुटेको उनको भनाइ थियो ।

रामजनमको प्रश्न : हामी कहिले काँग्रेस हुन्छौं ?

काँग्रेस केन्द्रीय सदस्य रामजनम चौधरीले आफूहरु कहिले काँग्रेस भन्छौं भन्दै बैठकमा प्रश्न उठाएका थिए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट काँग्रेसमा आएका उनले भने, ‘फोरम, राप्रपा र अन्य पार्टी पार्टीको नामले हामीलाई कहिलेसम्म थुपारि राख्नुहुन्छ । हामीलाई कहिले काँग्रेस बनाउनुहुन्छ । हामीलाई केही नेपाली काँग्रेस भनेर नेता कार्यकर्ताले चिन्ने हुन् भन्ने आम प्रश्न छ ।’

सधैं फोरम–फोरम भनेर आफूहरुको परिचय बनाउने गरिएको भन्दै चौधरीले गुनासो गरे । आफूहरु पुरानै काँग्रेस भए पनि कहिलेसम्म काँग्रेस हौं भनेर प्रतिवाद गरिराख्नुपर्ने हो भन्ने उनको प्रश्न थियो ।

‘हामी पूर्ण काँग्रेस कहिले हुने हो ? फोरम भनेर परिचय बनाउने कुराको अन्त्य हुनुपर्छ । फोरमबाट हामी नेपाली काँग्रेसमा समायोजन भएको चार वर्ष भयो । म केन्द्रीय समितिमा आएको पनि दुई वर्ष हुँदैछ,’ चौधरी भन्छन् ।

केन्द्रीय समितिपछि पहिलो पटक काँग्रेस बैठकमा बोल्न पाएको भन्दै उनले सभापतिलाई धन्यवाद दिए । यस्तै, उनले राप्रपाबाट काँग्रेसमा आएका सुनील थापाका समूह आफूहरु भन्दा पनि अप्ठ्यारो भएको बताए । ‘हामीलाई काँग्रेस चिनेकाले त्यति गाह्रो छैन । तर, सुनील थापाहरु त राप्रपाबाट आउनुभएको हो । यो व्यवहारले कति गाह्रो भयो होला काँग्रेसको कल्चर थाहा नपाएका उहाँहरुलाई,’ उनले भने ।

यद्यपि सुनील थापालाई यसबारे धेरै चिन्ता नगर्न उनको आग्रह थियो । ‘काँग्रेस यस्तै यस्तै पार्टी हो । काँग्रेसमा यस्ता कुराहरु सुनिराख्नुपर्छ । तर, केन्द्रीय कार्यसमितिले उहाँहरुको मुद्दाको सम्बोधन गरिदिनुपर्छ,’ चौधरीले भने ।

देउवा–महत भनाभन

रामशरण महतले क्रियाशील सदस्यताका विषयमा विवादित जिल्लाका सन्दर्भमा कुरा उठाए । जसमा देउवाको गृह जिल्ला डडेल्धुराको विषयमा उनले बढी जोड दिएका थिए । त्यसपछि सभापति देउवाले महतको गृह जिल्ला नुवाकोटमा केही समस्या छैन र ? भन्दै प्रश्न उठाए ।

‘तपाईको जिल्लामा भएको के हो ? तपाईंको जिल्लाको विवाद त थाहा छ तपाईंलाई ?,’ देउवाको प्रश्न थियो, ‘आफ्नो जिल्लाको समस्या नदेख्ने ?’

सामूहिक राजीनामाको चेतावनी

बैठकमा काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । केन्द्रीय सदस्य सरह आफूलाई व्यवहार नगरिएको भन्दै आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको चेतावनी दिएको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू व्यवस्था छैन । आफूहरुका माग पुरा नभए सामूहिक राजीनामाको चेतावनी दिएको आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले बताए ।

​पौडेलले भने, ‘नेपाली काँग्रेसका केन्द्र, जिल्ला, क्षेत्रका लागि स्वतः प्रतिनिधि हुन पाउने व्यवस्था लागु गर्नुपर्यो भनेर हामीले कुरा गरेका थियौं । त्यो लागु भएन भने हामी सामुहिक दिन्छौं भनेका हौं । तपाईलाई मन लागेका मान्छे राख्नुस् भनेका हौं ।’

बैठकमा देउवाले उनीहरुलाई अन्याय हुन नदिन भन्दै राजीनामा दिन आवश्यक नरहेको बताएका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आमन्त्रित केन्द्रीय सदस्यलाई स्वतः क्षेत्र, जिल्ला र केन्द्रीय महाधिवेशनको प्रतिनिधि बनाउन नहुने बताए ।

यो कुरा पार्टीको विधानसम्मत पनि नभएको पौडेलको भनाइ थियो । आमन्त्रित केन्द्रीय सदस्यमा नवप्रवेशी र देउवा पक्षीय नेता मात्र छन् । उनीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुनु देउवाका लागि २२ जना मतदाता थपिनु हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप