शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १२ को परीक्षा संचालन गर्ने वातावरण निर्माण गर्न ध्यानाकर्षण

शुक्रबार, ०४ भदौ २०७८, १७ : २५
शुक्रबार, ०४ भदौ २०७८

प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई/दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । 

 सांसद जयपुरी घर्तीमगरले विनाविकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भिर गल्ती गरेको बताइन् । 
समितिका सभापतिसमेत रहेकी उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको ? भनि सरकारलाई प्रश्न समेत गरिन् । 

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए । उनले विद्यार्थीहरुलाई आतंकित पार्नेगरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन (सिसीएमसी)ले भूमिका खेलेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा संचालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराए । उनले परीक्षा संचालनका लागि विद्यार्थीहरुलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराए । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सिसिएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नु परेको स्पष्टिकरण समितिमा दिए । उनले आफूहरु चरणवद्ध रुपमा भएपनि कक्षा १२ को परीक्षा संचालन गर्न तयार रहेपनि कोरोनाका कारण त्यसबाट पछि हट्ने परिस्थिति आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप