मेरो जीवन

‘कलाकारितामा लाग्दा बुबाआमालाई केही दिन सकिनँ’

विद्रोही फिल्म बनाउने भएकाले त्यसको मूल्य चुकाउनु पर्‍यो : मनोज पण्डित

person explore access_timeभदौ २६, २०७८ chat_bubble_outline0

 

फिल्म क्षेत्रमा गर्व गर्न लायक सीमित निर्देशक छन् । तीमध्येमा पर्छन् मनोज पण्डित । उनले भलै दर्जनौँ फिल्म दिएका नहोलान्, जति फिल्म दिएका छन्, राम्रो क्याटागोरीमा गनिएका छन् । ती फिल्म फरक त छन् नै, विद्रोही र चेतनाको दृष्टिले समेत सबल मानिएका छन् । उनका हरेक फिल्ममा केही न केही विशेषता रहन्छ । एक समय उनी फिल्म समीक्षा पनि लेख्थे । फिल्म लेखन, निर्देशनमा सक्रिय उनले केहीअगाडि ‘सिनेमा मन्थन’ नामक पुस्तकसमेत ल्याएका थिए ।

फिल्म क्षेत्रमा २० वर्ष बिताइसकेका पण्डितले ‘लक्ष्य’बाट निर्देशनमा डेब्यु गरेका हुन् । त्यसपछि उनका ‘वधशाला’, ‘दासढुङ्गा’, ‘खाग’, लघु फिल्म ‘छाया’ र अहिले ‘एक’ आएको छ । ‘एक’ दशैँको छेको पारेर प्रदर्शनमा आउँदैछ । फिल्मका कथामा जसरी उतारचढाव देख्न सकिन्छ मनोजको जीवनको कथा पनि ठ्याक्कै त्यस्तै छ ।  निर्देशक मनोज पण्डितको जीवनका भित्री पाटो रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

बफ मम पड्काउँछु

हामी बाहुन, क्षेत्रीको परिवारमा सानोमा मासु कम खान पाइन्थ्यो । त्यही भएर मलाई राँगोको मासु खाने शोख बन्यो । राँगोको मासुभन्दा मीठो अहिले पनि केही लाग्दैन । त्यही भएर बफ मम प्रिय छ । त्यसपछि आलुको भुजिया मनपर्छ । यी दुवैको कारणले म निकै मोटाएको छु ।

अर्काे आलुको भुजियासहितको नेपाली दालभात तरकारी मनपर्छ । करेला र कर्कलोको गाभा मनपर्दैन । बाल्यकालमा यी खाना नमिठो खाको भएर होला । मासुमा म लोभी छु । होटलमा खाना खाँदा मासु एक पिस बढी दिए हुन्थ्यो जस्तो लाग्छ ।

रेस्टुरेन्ट जान्छु । आफूले पैसा तिरेर रेस्टुरेन्ट बस्नुभन्दा पनि अरूको पैसामा रेस्टुरेन्ट जान मजा लाग्छ । रेस्टुरेन्टको मनपर्ने खानेकुरा बफ मम नै हो । पकाउन आफूलाई जान्ने ठान्छु । मासु र चिया मीठो पकाउँछु ।

अल्छी छु

म अत्यन्त अल्छी मानिस हुँ । त्यसैले धेरै मोटाएँ । कहिलेकाहीँ दुब्लाउनुपर्छ भन्ने प्लान बन्छ । त्यो प्लान एक घण्टा नि टिक्दैन । फिट्नेसमा ध्यान दिन्न ।

लुगा नकिनेको वर्षौं भयो

बढी मनपर्ने पोसाक सामान्य टिसर्ट र पाइट हो । प्रायः क्याजुअल पोसाक मनपर्छ । श्रीमतीको भनाइअनुसार म पोसाकको जति लापरबाही अन्य केहीमा गर्दिनँ रे । सुटपाइन्टमा आफूलाई कहिल्यै कम्फर्टेबल फिल गर्दिनँ । फर्मल पहिरन कहिल्यै मनपरेन ।

मेरो मनपर्ने पोसाक रङ्ग ग्रे हो । पोसाक केवल शरीर ढाक्नका लागि मात्र हो भन्ने मेरो सोच छ, त्यसैले ब्रान्डमा रुचि रहेछ । मैले पोसाक नकिनेको वर्षौं भयो । श्रीमतीले जबर्जस्ती किनेर लगाउन दिन्छिन् । पोसाकमा खर्च गर्न मनपर्दैन ।

काल्पनिक अध्ययन

अध्ययन धेरै गर्छु । मेरो अध्ययनको दुईवटा पद्धति छ । एउटा प्रश्न राखेर अध्ययन गर्ने र अर्काे कल्पनामा अध्ययन गर्छु । प्रश्नबाट अध्ययन गर्न, किताब, इन्टरनेट विभिन्न माध्यम प्रयोग गर्छु ।

अर्काे सुन्दर अध्ययन विषय आफैँले काल्पनिकता क्रिएट गरेर अरूको काल्पनिक कुराको अध्ययन गर्छु । अध्ययनको दुवै डाइमेनसनमा काम गर्छु । सबैभन्दा प्रिय समय मेरो कल्पनाशीलतामा बित्छ ।

‘महिलाले गुमाउने केही छैन’ भन्ने सिमन डेबियरको एउटा किताब अहिले पढ्दै गरेको छु । बढी राजनीतिसँग सम्बन्धित र स्टेट भ्यालुमाथि प्रश्न गर्ने किताब मनपराउँछु । त्यसैले मैले पढ्ने धेरै किताब एनआरकिस्ट मनोविज्ञानसँग सम्बन्धित हुन्छ ।

रुचि छैन त के

घुमघाममा फिटिक्कै रुचि छैन । मेरो कुनै पनि भ्रमण उद्देश्यरहित हँुदैन । मैले कामको, अध्ययनको सिलसिलामा धेरै घुमघाम गरेको छु । मेरो घुमघाम अनुसन्धानमूलक हुन्छ । अनुसन्धानका लागि भने देशको प्रायः सबै ठाउँ पुगेको छु ।

रिसर्च भन्ने मटेरियल भएन भने म कहीँ पनि जान सक्दिनँ । घुमेर मनोरञ्जन मिल्छ भन्ने मलाई लाग्दैन । मेरो बौद्धिकताले जे कुरो महत्त्वपूर्ण ठान्छु । त्यहीँ रमाउँछु । म यो देशको त्यस्तो फिल्म मेकर हो, जसले ८० प्रतिशत देशको भूगोल घुमेको छु । विदेशमा बेलायत र भारत पुगेँ ।

फुर्सदै छैन

फुसर्द भनेको मनोवैज्ञानिक प्रक्रिया हो । मसँग प्रायः प्रश्न हुन्छ । प्रायः कल्पनामा रहन्छु । म प्रश्न र कल्पनाको परिधिमा क्रियाशील भइरहने हुनाले फुर्सदै छैन । सिर्जनात्मकता यस्तो क्षेत्र हो, जहाँ म चौबीस घण्टा व्यस्त रहन्छु ।

ढुकेर गोल हान्थेँ

म शारीरिक रूपमा कमजोर र अल्छी हुनाले शरीर धराप हुने क्रियाकलाप गर्दिनँ । पहिले फुटबलमा रुचि थियो । फुटबल खेलाडी पनि भएँ । तर धेरै दौडन नसक्ने कारणले ढुकेर गोल हान्थँे ।

म आफूलाई चतुरे सोच्छु । फुटबलमा पनि आफूले चतुर्याइँ गर्न खोजेँ । तर साथ दिएनन् । त्यो कारणले पछि चेसतिर ढल्किएँ । पछिल्लो समय फुटबल हेर्छु । रोनाल्डो र मेसी तिलस्मी पात्रहरूको रूपमा देखिएका भएकाले हो ।

मसँग अहिले सामसुङ ब्रान्डको मोबाइल छ । मोबाइल आफ्नै सामथ्र्यले किन्न सकेको छैन । श्रीमतीले किनेर दिने गरेकी छन् जहिले पनि । पहिले एप्पलको दिएकी थिइन्, अहिले सामसुङको दिएकी छन् ।

मोबाइलको ब्रान्डसँग सरोकार छैन । काम गर्नुपर्यो भन्ने लाग्छ । मोबाइल मेरो जीवनको महत्त्वपूर्ण पाटो हो । यात्राका क्रममा यो जुनै समय पनि हराउन, टुट्न सक्छ । यसमा राम्रोभन्दा पनि बलियो होस् भन्ने चाहना रहन्छ ।

फोन गर्न, दिमागमा आएको कुरा टाइप गर्न, भ्वाइस रेकर्ड गर्न, सङ्गीतमा पनि रुचि भएकाले परिकल्पनामा आएका भाका, लय र थिम म्युजिक रेकर्ड गर्न प्रयोग गर्छु । सामाजिक सञ्जाल पनि चलाउनै पर्यो ।

मनोविज्ञानसँग सम्बन्धित फिल्ममा रुचि

फिल्म हेर्छु । राष्ट्रियताको विषयमा बनेका फिल्म सबै हेर्छु । कुनै समय नेपालका अधिकांश फिल्म हेर्थें । पछिल्लो समय साथीभाइले बनाएका फिल्म हेर्छु । उनीहरूले कस्तो फिल्म बनाएका छन् भन्ने जानकारी लिन ।

फिल्म हेरेपछि म उनीहरूलाई प्रतिक्रिया दिन्छु, अपेक्षा पनि गर्छु । पछिल्लो समय फिल्मको प्रतिक्रिया लेनदेन सङ्कुचित हुँदै गएका छन् । बलिउड, हलिउड लगायत सबैतिरका फिल्म हेर्छु । लार्जर देन लाइफ खालको फिल्म हेर्दिनँ म । मानिसको जीवनमा जे पनि हुनसक्छ भनेर व्यख्या गरेका फिल्म बढी हेर्छु । मैले हेर्ने अधिकांश फिल्मका विषय मानिसको मनोविज्ञानमाथि रहन्छ ।

एक दिनमा ११ म्युजिक भिडियो

मेरो पेसा, कर्म जे भने पनि फिल्म हो । २० वर्षदेखि यो क्षेत्रमा निरन्तरछु । आभाषमा फिल्म पढेपछि दीपेन्द्र गोचनको असिस्टेन्टबाट काम सुरु गरेको थिएँ । त्यसपछि यादव खरेलको असिस्टेन्ट भएरसमेत काम गरेँ ।

१८, १९ वर्षको थिएँ । जतिबेला फिल्म क्षेत्र प्रवेश गरेँ । मैले फिल्मलाई पेसा माने । पेसा भएपछि यो बजारसँग सम्बन्धित भयो । म भने विद्रोही, प्रयोगात्मक फिल्म बनाउन थालेँ । प्रयोगात्मक फिल्म बनाउने र यसैबाट बाँच्न खोज्दा जीवनमा फाइनान्सिल उतारचढाव धेरै आए । मेरो आर्थिक जीवन त्यति धेरै सबल छैन । फिल्म क्षेत्रले आर्थिक जीवन सबल बनाउन सक्थ्यो । मैले विद्रोही फिल्म बनाउने भएकाले त्यसको मूल्य चुकाउनुपर्यो । त्यो मूल्य के भने आर्थिक स्थिति अलि कमजोर भयो ।

अहिलेसम्म ७ वटा फिल्म बनाएँ । डकुमेन्ट्री, अन्य अडियो, भिडियो प्रोडक्सन गरेँ । छोटा फिल्महरू पनि गरेँ । एक समय म्युजिक भिडियोमा मैले रेकर्ड बनाएको थिएँ । एक दिनमा ११ वटा म्युजिक भिडियो खिचेर अहमतासमेत प्रदर्शन गरेका थिएँ । कर्मसियल रूपमा मैले म्युजिक भिडियो कहिल्यै गरिनँ ।

पछिल्लो समय जीवन चक्र भन्ने सिरियल गरिरहेको छु । यो पैसाका लागि होइन । स्वास्थ्य क्षेत्रमा योगदान दिन हो । मेरो पछिल्लो फिल्म ‘एक’ हो । ‘एक’ रिलिजपछि अर्काे गर्ने तयारीमा छु । त्यो अहिलेसम्मकै फरक काम हुनेछ ।

ओस्कर उठाउँछु

म कल्पनामा रमाउने मानिस हुँ । परिकल्पना एकदमै सुन्दर लाग्छ । मेरो ओस्कर जित्ने सपना छ । अर्काे सपना यस्तो फिल्म बनाउनेछ, त्यसको दर्शक परिधि नेपाल मात्र नराखोस्, संसारभरिका दर्शकले हेर्न सक्ने होस् । राजनीतिका रूपमा महत्त्वपूर्ण अभियान गर्नसमेत मन छ । जुन अभियानले हाम्रो १८६० मा मिचिएको नेपालको सीमा फिर्ता होस् ।

प्रेम फेसबुकमार्फत्

विवाह भएको दस वर्ष भयो । मैले प्रेम विवाह गरेको हो । म कलाकारितामा थिएँ, उनी लन्डनमा एमफिल गर्दै थिइन् । उनलाई म फिल्म निर्देशक भन्ने पनि थाहा थिएन । मेरो ‘दासढुङ्गा’ भन्ने फिल्म बेलायतमा हेर्न मौका पाइछन् । फिल्म हेरेपछि फेसबुकमा मेरो नाम खोजेर प्रतिक्रिया पठाइन् ।

हाम्रो होल प्रेम फेसबुकमार्फत भयो । त्यसैबाट विवाहको निर्णयमा पुग्यौँ । उनी नेपाल आइन् । त्यसपछि हामीले विवाह गर्यौँ । मानिस खुसी हुनुपर्छ भन्ने मलाई कहिलै लाग्दैन । वास्तवमा भन्ने हो भने म खुसी हुन चाहन्न । खुसीमा रमाउन थालेँ भने म दुःखी हुन्छु भन्ने लाग्छ । मेरो जीवनमा अनेक दुःख छन् । दुःखलाई बुझ्न सक्ने सामथ्र्यको विकास हुनपर्छ भन्ने लाग्छ ।

आफै सङ्गीत गर्छु

सङ्गीतमा एकदमै रुचि छ । म आफैँ पनि सङ्गीत सिर्जन गर्छु । गीतहरू लेख्छु । मेरा गीतहरू पनि आउँदैछन् । सङ्गीतलाई ध्वनिको सबैभन्दा पावरफुल उत्पादन मान्छु । सङ्गीतले फिल्मलाई धेरै सहयोग गर्छ भन्ने बुझेको छु । त्यसैले सङ्गीतमा इन्ट्रेस छ । शब्द भएको सङ्गीतभन्दा मलाई शुद्ध सङ्गीत मनपर्छ । गायन भएकोलाई गीत मात्र भन्छु । शुद्ध सङ्गीत गायनबिना हुनुपर्छ । म त्यो सङ्गीत सुन्छु ।

धेरै मिस्टेक छन्

जीवनमा धेरै मिस्टेकहरू गरेको छु । ममा अहिले जे कुरोको कमी छ, म जे कुरोले आज दुःखी छु । ती सबै मेरो निर्णयले गर्दा भएको हो । तर मैले गरेका निर्णयका कारण आज जीवनमा म हरेक समस्या भोगिरहेको छु भन्ने कुराले कहिल्यै दुःखी बनाउँदैन । किनभने मेरो जीवनका बारेमा मै जिम्मेवार छु भन्ने छ ।

मलाई के कुराको ज्ञान छ भने मेरो समस्या समाधान गर्न मैले नै पहल गर्नुपर्छ र मैले गरेँ भने सक्छु । मलाई जीवनमा आफूप्रति आत्मविकास भएको छ । म मेरो जीवनको हरेक कुराको निर्णयक हुँ । जे पर्छ मैले भोग्नुपर्छ भन्ने थाहा छ । मैले अहिले भोगेको जीवन मैले गरेको कर्मको कारणले हो । त्यसैले मलाई कुनै कुरोको पछुतो पनि छैन । कलाकारितामा नआएको भए इन्जिनियर वा मेडिकल डाक्टर स्योर ।

दुःख त्यही हो

पहिलो फिल्म ‘लक्ष्य’ बनाउन मैले जति मिहिनेत गरेँ त्यो प्रदर्शन गर्र्दा गरिनँ भन्नेमा दुःख लाग्छ । पहिलो फिल्म धेरै मानिसलाई देखाउन पाइनँ भन्ने दुःख छ । त्यो फिल्म २१, २२ वर्षका उमेरको ठिटोको सिर्जनशीलता थियो । त्यो फिल्म हावामा त्यसै गयो । कलाकारितामा लागेर मैले मेरा बुबाआमालाई केही दिन सकिनँ भन्ने दुःख छ ।

बुबाआमाको छोराप्रति एक किसिमको अपेक्षा हुन्छ । मैले फिल्म क्षेत्र रोजेका कारणले बुबाआमाका लागि केही पनि गर्न सकिनँ । मेरा कथ्यहरूले मानिसको जीवनमा एक किसिमको बाटो देखाएकामा खुसी लाग्छ । म आफैँलाई मानिस र समाजलाई बुझ्ने अवसर फिल्मले दियो ।

तोम्बा तान्छु्

मापसे कहिलेकाहीँ गर्छु । मेरो परिवारबाट भने वञ्चित छु । जुन समाजमा हुर्किइयो, त्यो समाजले मापसे सिकाउँदो रहेछ । समाजबाट सिकेको कुरो हो । धेरै समय कन्ट्रोल गर्छु । कहिलेकाहीँ नसकिँदो रहेछ । तोम्बा मीठो लाग्छ । त्यसमा रुचि छ । अन्यमा मेरो इन्ट्रेस्ट छैन ।

किड्नी खराब गर्छ कि

म अल्छी छु । म अस्वस्थ्य मानिस हुँ भनेर पनि थाहा छ । खाने कुरामा कन्ट्रोल नगर्ने भएकाले मलाई सुगर र ब्लड प्रेसर हुन्छ कि भन्ने डर छ । धेरै सोच्ने र मेरो मानसिक सोचले समाजमा पनि प्रभाव पार्ने भएकाले मानसिक स्वास्थ्यमाथि चिन्ता लाग्छ ।

राशिमा विश्वास गर्दिनँ

मेरो राशि ‘कर्कट’ हो । ग्रहदशामा विश्वास लाग्दैन । कर्ममा विश्वास लाग्छ । यो विषयमा मलाई ज्ञान छैन । ज्ञान नभएको कुरामा म विश्वास गर्दिनँ । हेराउनु, जुराउने कहिल्यै गरिनँ । परिवारले गर्दछन् । उनीहरूले चिनाको आधारमा गर्दछन् । ती कुरा अधिकांश मिलेको छैनन् ।

मृत्यु डर धेरै

मृत्युलाई सबैभन्दा सुन्दर आयम हो । मृत्यु त्यस्तो तत्त्व हो, जसले मानिसलाई सार्थकता दिन्छ । मानिस हुनुको मजा दिन्छ । मृत्यु हुँदैन थियो भने केही हुँदैन थियो । जन्मको सार्थकता मृत्युले दिएको छ । मृत्युले मानिसलाई सत्य यही हो भनेर चिनाएको छ । तिम्रो सबै कुरोको समाप्ती मृत्युले गर्छ भनेर बुझाएको छ । त्यही भएर मृत्यु जीवनको सबैभन्दा सुन्दर क्षण हो । मृत्यु स्वाभाविक हुनुपर्छ भन्ने लाग्छ । जीवनमा मृत्यु हुन्छ भन्ने भएकाले मलाई कलाकार बनाएको हो । मृत्यु छ भन्ने कुराले मलाई त्यस्तो कर्म गर्न प्रेरित गर्यो । जुन कर्मको अन्त्य भौतिक मृत्युले गर्न नसकोस् । मृत्युले अमरत्व खोज्ने एउटा चाहना भयो । त्यो कुराले कलाकारिता रोजेँ । जीवनमा एकपछि अर्काे राम्रो काम गर्ने पे्ररणा मिलिरह्यो, कोसिस गरिरहेँ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।