घाँस काट्दै गर्दा जब हेलिकप्टरबाट बम खसालियो...

माओवादी जनयुद्धका बेला राज्य र तत्कालीन विद्रोही पक्षबाट १७ हजार मानिसको मृत्यु भयो । कैयौँ व्यक्ति घाइते, अङ्गभङ्ग भए । कतिपय घाइतेले अझै पनि बमका छर्रा बोकेर नारकीय जीवन बिताउँदै आएका छन् । त्यसमध्येकी एक हुन्– सुना सुनार ।
दैलेखको नौमुले गाउँपालिका–३ जैशीडाँडाकी सुना २०५९ साउनमा २१ गते आफ्ना श्रीमानसँग घाँस काट्न मकै बारीमा गइन् । माओवादीको हेडक्वार्टर भएकाले नौमुलेमा उनीहरूको उपस्थिति पनि बाक्लै थियो । माओवादीको कार्यक्रम जैशीडाँडामा थियो । त्यो खबर पाउन साथ सेनाको हेलिकप्टर त्यहीँको आकाशमा घुमिरह्यो । तत्काल उक्त हेलिकप्टरले अन्धाधुन्ध बम खसाल्यो । मकै बारीमा घाँस काटिरहेको अवस्थामा बम लागेर सुना गम्भीर घाइते भइन् ।
त्यहाँ रहेका माओवादीले प्राथमिक उपचार गरे । तर, पनि सन्चो भएन । गाउँबाटै ऋण खोजेर थप उपचारका लागि सुनाका श्रीमान् र आफन्तले दैलेख सदरमुकाम हुँदै उनलाई नेपालगञ्ज पु–याए । तर, उनको उपचार हुन सकेन । उनी ७ महिने गर्भवती थिइन् ।
सामान्य औषधि उपचारपछि सुना घाइते शरीर लिएर गाउँ फर्किन् । गाउँमै उनले छोरी जन्माइन् । अहिले छोरी लालसा सुनार १८ वर्षकी भइन् । सुना भने घाइते शरीरले बालबच्चाको हेरचाह गरिरहेकी छन् ।
पीडाका पोका मनभित्र लुकाएर सुना दुःखी जिउन विवश छिन् । अझै उनको शरीरमा रहेको बमको छर्रा निकालिएको छैन । घरको आर्थिक अवस्था कमजोर भएकाले पीडा खेप्नुबाहेक अर्को विकल्प नरहेको सुनाको दुखेसो छ ।
उनी भन्छिन्, ‘हामी गरिबलाई कसले हेर्छ र ? उपचार गर्न जाऊँ भने घरमा खाने खर्च छैन । त्यसैले पीडालाई मैले अठार वर्षदेखि पालेर बसेकी छु । गरिबका पीडा कसले सुनिदिन्छ र ?’
गरिबका लागि भनेर त्यतिबेला राज्यसँग लडेको माओवादीले पनि आफूहरूलाई सहयोग नगरेको उनको गुनासो छ ।
गर्भवती अवस्थामा बमको छर्रा लागेर सुना घाइते हुँदा उनको छोरी लालसरामा पनि असर प–यो । सुनाका अनुसार लालसा लामो समय उभिन सक्दिनन् ।
लालसरालाई श्वासप्रश्वासमा समस्या छ । बुबा बुढो र आमा घाइते भएका कारण आफूले जेनतेन भाइबहिनीको स्याहार गर्दै आएको लालसा बताउँछिन् ।
अहिलेसम्म आफूले कतैबाट राहत तथा सहयोगसमेत नपाएको सुना बताउँछिन् । ‘कतिलाई त शान्ति समितिले पनि राहत दियो भन्छन् तर हामीलाई त कसैले पनि वास्ता गरेन,’ उनले भनिन्, ‘घाइते शरीरको पीडा सहेर बालबच्चाका लागि बाध्य भएर काम गर्नुपरेको छ ।’
काम नगरी खान नपुग्ने भएकाले पेट भर्नकै लागि आफू सकी नसकी काम गर्नुपरेको सुना बताउँछिन् । ‘शरीरले काम गर्न दिँदैन, तर काम नगरी सुखै छैन,’ उनले भनिन्, ‘राति छोराछोरी सुतेपछि एक्लै रुन्छु, उनीहरूको अगाडि पीडा देखाउन पनि सक्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?